पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभुत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो हुने बताएका छन्।
आईतबार प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले मौद्रिक नीतिलाई कसिलो गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।
उनले मूल्य स्थिरता र वाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरण थप कसिलो बनाउने आवश्यक नरहेको बताए । मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य विषय भएको उल्लेख गर्दै उनले देशभित्रको आर्थिक अवस्था र वाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने बताए ।
बर्तमान अवस्थामा राष्ट्र बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउने आधार देखिँदैन । राष्ट्र बैंकभित्र उच्चस्तरीय प्राविधिक विश्लेषण र विस्तृत छलफलपछि मात्र मौद्रिक नीति निर्माण हुने उनको भनाई छ ।
उनले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका नीतिहरू सहजताको नाममा हटाउन नहुने पनि बताए । हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, मासिक करिव साढे दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको र लगानीयोग्य स्रोत प्रशस्त भएकै कारण उत्पादनमुखी नीतिहरू खारेज गरिएमा भविष्यमा ती नीति पुनः कार्यान्वयन गर्न कठिन हुने उनको कथन छ ।
उनले , ‘लिवराईज गर्नेकुरा हरेक वर्ष आइरहेको हुन्छन्, देशको सुधारको लागि, आन्तरिक उत्पादनको लागि ल्याइएको कतिपय नीतिहरुलाई विभिन्न कारण दिएर हटाउनु हुँदैन । सहजताको नाममा ती नितीहरुलाई हटाउन हुँदैन । अहिले पैसा जति पनि छ, लिक्विलिटी जति पनि छ, महिनाको अडाई खर्ब रुपैयाँ रेमिट्यान्स आइरहेको अवस्था छ भनेर हामीले ती पोलिसीहरु हटायौँ भने भोलि नीतिहरुलाई बाउन्स व्याक गर्न धेरै गाह्रो हुन्छ ।’








