१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्राकृतिक विपत्तिमा दरिएका, वडाध्यक्ष ‘हिराबहादुर थापा’


१९ आश्विन २०८१, शनिबार  



जनप्रतिनिधि जनताको आपतविपतका सारथि हुन्। त्यस्तै सारथिको रुपमा आफूलाई खरोरुपमा उतारेर यस पटकको बाढी पहिरोको संकटमा निकै दरिए, थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिराबहादुर थापा ।

अविरल वर्षात अघि जल तथा मौसम विज्ञान विभागले सचेत रहन आग्रह गर्दै आएको थियो । विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षातको जोखिम धेरै भएको भन्दै सरकारदेखि आम सर्वसाधारणलाई भन्दै आएको थियो । यस्तै जोखिमयुक्त जिल्ला हो, धादिङ पनि । यस जिल्लामा पर्ने थाक्रे गाउँपालिका र यसका वडाहरु पनि सम्भावित जोखिमबाट अछुतो रहने कुरै थिएन।

यही खतराको सूचनालाई नजिकैबाट नियालिरहेका थिए, थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिराबहादुर थापा । दशैसम्मुखमा भीषण झरी प¥यो, यही असोज ११ र १२ गतेको झरीले धादिङ पनि निकै प्रभावित भयो । धादिङको थाक्रे गाउँपालिकामा पनि अविरल वर्षातको कारण बाढी र पहिरोले विपत्ति निम्त्यायो। सडक अवरुद्ध भए। अतिवृष्टिले यस गाउँपालिकाको वडा नम्बर ६ का टोल तथा बस्तीहरु पनि प्रभावित भए।

सम्भावित जोखिमलाई नजिकैबाट नियाल्दै आएका थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिराबहादुर थापाले सामाजिक सञ्जालमार्फत उनी वडाबासीलाई सतर्क रहन आह्वान मात्रै गरेनन्। आफै स्काभेटेर लिएर सडकमै पुगे। पहिरो पन्छाउन र आपतविपतमा परेकाहरुलाई गन्तव्यमा पुराउने समेत आफै गरे ।

दुई दिनको अविरल झरीले मानवीय तथा भौतिक पूवाधारमा ठूलो क्षति पुग्यो । यति धेरै विनाशकारी झरीको बाबजुद पनि वडाध्यक्ष थापा आफै जोखिमयुक्त ठाउँमा पुगेर सचेत गराउने मात्रै होइन, अवरुद्ध सडकलाई खुलाउने प्रयास गरेका थिए ।

जनता विपत्तिमा परेका बेला आफै मध्यरातमा पनि सडकमा पुगेका थिए, थाक्रे गाउँपालिका वडाध्क्ष हिराबहादुर थापा । पछिल्लो विपत्तिमा पनि उनी पुनः हिरा भएर आफ्नो दायित्व पूरा गरेको स्थानीय जानकारहरु बताउँछन् । अविरल वर्षातबाट प्रभावित भएकाहरुलाई उद्दार तथा राहतमा पनि उनी निकै सक्रिय रहे । वडापालिकाको श्रोत र साधनको अधिकतम उपयोग गरेर भएपनि वडाबासीलाई विपत्तिमा सघाए ।

मर्दा र पर्दाको सारथिका रुपमा रहेका वडाध्यक्षहरु मध्येका उनी एक काबिल वडाध्यक्षको रुपमा आफूलाई फेरि पुनः परिभाषित गरे। यस विषयमा वडाध्यक्ष थापा भन्छन्, “जनताको दुःखमा जति धेरै साथ दिन सकियो, उति धेरै आनन्द आउँछ, किनकी हामी जनताकै लागि भनेर राजनीति गरिरहेका छौ । उनीहरुकै विश्वासको मतले जनप्रतिनिधिको जिम्मेवारीमा छौ ।”


हो,पक्कै पनि वडाध्यक्ष थापाले भने जस्तै जनप्रतिनिधि जनताकै हुन्। उनीहरु जनताको हरदम दुखमा नजिकै रहनुपर्छ, जनताको सबै भन्दा नजिकैको सरकारका प्रतिनिधि पनि हुन् उनीहरु । जनप्रतिनिधिहरुको यस्ता सत्कर्मले जनतामा विश्वास र भरोसा भर्न मात्रै होइन, राज्यप्रतिको अपनत्वको पनि सृदृढ गर्ने संघीय विज्ञ डा. खिमलाल देवकोटा बताउँछन्।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित