९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

आवास तथा जग्गा कारोबारमा उत्साहजनक वृद्धि,तीन वर्ष यताकै उच्च कारोबार !


४ जेष्ठ २०८२, शनिबार  


आवास तथा जग्गा कारोबारमा उत्साहजनक वृद्धि भएको छ। गएको तीन वर्षदेखि निरन्तर सुस्ताएको घरजग्गा कारोबार पुनः सकरात्मक दिशा तर्फ उन्मुख भइ उत्साहजनक देखिएको हो।

पछिल्लो समय घट्दो ब्याजदर, पूर्वाधार विस्तार र नीतिगत लचकता लगायतको समिश्रणले घरजग्गा बजारमा सकारात्मक संकेत देखाएको छ । गएको बैशाख महिनामा २०७८ यताकै उच्च कारोबार भएको छ ।

कोरोनापछिको आर्थिक अनिश्चितता अब केही हदसम्म सामान्य बन्दै गएको छ । आर्थिक गतिविधिमा पुनःगति लिन थालेको छ, लगानीकर्ताहरूमा पनि विश्वास बढ्न थालेको देखिन्छ ।

पछिल्लो केही महिनामा बजारमा सकारात्मक संकेत देखिन थालेको छ । ब्याजदर घट्नु, सहज कर्जा सुविधा र केही नीतिगत लचकताले घरजग्गा बजारलाई विस्तारै लयमा फर्किने संकेत देखाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशन गरेको चालू आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । गएको बैशाखमा देशभर ५२ हजार ४२३ वटा घरजग्गा कारोबार भएका छन् । यो चालु आर्थिक वर्षकै उच्च हो । पछिल्लो तीन वर्ष यताकै धेरै कारोबार गएको बैशाखमा भएको देखिन्छ ।

अघिल्लो वैशाखको तुलनामा समग्र कारोबार ५.३० प्रतिशत बढी हो । गएको चैतको तुलनामा पनि ५.२० प्रतिशत बढी हो । समग्र कारोबारको वृद्धिदर पनि ५ प्रतिशत हाराहारीमा देखिएको छ । पछिल्ला मासिक कारोबारको आँकडाले पनि विस्तारै चलायमान हुने संकेत गरेको छ ।

तीन वर्षको लगातार सुस्त अवस्थापछि बैशाख महिनामा देखिएको सुधारले घरजग्गा बजार फेरि सक्रिय बन्ने आशा देखाएको छ । पछिल्लो समय कारोबार र राजस्व दुवैमा देखिएको वृद्धि, नीतिगत समर्थन र आर्थिक लचकताले आगामी दिनमा अझ सुधार आउने विश्वास दिलाएको व्यवसायीहरु बताउँछन् ।

विभागका अनुसार गएको चैत महिनामा पनि देशभर ४९ हजार ८३२ वटा घरजग्गा किनबेच भएको छ । यस्तै, फागुनमा ४६ हजार ६१ वटा, माघमा ४६ हजार ६९ वटा, पुसमा ४८ हजार १५६, मंसिरमा ४३ हजार ३७९, कात्तिकमा ३३ हजार ५१४, असोजमा ३० हजार ५२७, भदौमा ३२ हजार ७९८ र साउनमा ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएका थिए ।

चालु आर्थिक वर्षको १० महिनामा देशभर कुल ४ लाख २६ हजार ५९४ वटा घरजग्गा किनबेच भएको छ । यद्यपि, गत आवको सोही अवधिमा पनि ४ लाख २९ हजार बढी घरजग्गा किनबेच भएको देखिन्छ ।

कारोबारसँगै राजश्व पनि वृद्धि भएको छ । अघिल्लो वर्षको बैशाखमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजश्व उठेको थियो । तर, यो गएको बैशाखसम्म भने ११।३४ प्रतिशत वृद्धि भई ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार रुपैयाँ राजश्व उठेको छ । चालु आर्थिक वर्षको १० महिनाा भने ३७ अर्ब ७६ करोड ६७ लाख १७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो गएको आर्थिक वर्षको तुलनामा भने १४।२४ प्रतिशत बढी हो । गएको साउनदेखि बैशाखसम्म ३३ अर्ब ५ करोड ७४ लाख ८५ हजार रुपैयाँ राजश्व उठेको थियो ।

हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम प्रशस्त रहेको छ । ब्याजदर एकल अंकमा झरेको छ, जसले आवास कर्जालाई सहज बनाएको छ । केही बैंकहरूले घरजग्गा कर्जाका लागि सस्तो ब्याजदरका विशेष स्किमसमेत ल्याएका छन् । यी लगायत धेरै विषयहरुले पनि घरजग्गा कारोबार बढाउन थप टेवा पुगेको छ ।

यता, सडक, विद्युत्, खानेपानीलगायत आधारभूत पूर्वाधार विस्तार भएकाले विभिन्न क्षेत्रको जग्गा आकर्षक बनेको छ । नयाँ सहरी क्षेत्रहरूमा समेत माग वृद्धिका संकेत देखिन थालेका छन् ।

अर्को तर्फ, सरकारले बजेट तथा नीति कार्यक्रममार्फत रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन थुप्रै नीतिगत लचकता अपनाएको छ । मालपोत प्रणालीको डिजिटलीकरण, नक्सा प्रमाणीकरणको सजिलो प्रक्रिया र लगानीमैत्री कानुनी सुधारका प्रयासले पनि समग्र कारोबारलाई सकरात्मक दिशामा अगाडि बढाउने व्यवसायीहरुको अपेक्षा छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, शनिबार  ६ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित