९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

के नागरिक समाज दाङले,संस्कृत विश्वविद्यालयलाई दलतन्त्रबाट मुक्त गर्न सक्ला ?


१३ जेष्ठ २०८२, सोमबार  


पाँच महिनादेखि घर आँगनको विश्वविद्यालय अमूक समूहको तालामा कैद छ। मुलुकको दोश्रो ठूलो विश्वविद्यालय र दाङको गौरवको संस्थाको यो हालतले सबैको मन पोलिरहेको थियोे र छ पनि । केही स्वार्थ समूह बाहेक आम दंगाली विश्वविद्यालयको उननयनको विषयमा चिन्तित छन् ।

यही चिन्ताको बीचमा नागरिक समाज दाङले पहलको थालनी गरेको छ। लामो समयदेखि विश्वविद्यालय यसरी नजरबन्दमा राखिएपछि नागरिक समाज दाङले जेठ ११ मा एउटा पहल गरेको हो। नागरिक समाजको यो कदमले अहिल्यै समस्या हल भैहाल्छ भन्न त नसकिएला । तर, यसले केही दबाब सिर्जना पक्कै गरेको छ ।यद्यपि यत्तिको कोशीसले मात्रै पर्याप्त नहुन सक्छ । किनकि विश्वविद्यालयभित्र ऐजेरू झै झाँगिएको दलतन्त्र त्यति सजिलोसँग गल्नेवाला र उप्किनेवनला छैन। दलतन्त्रको यो जरो लामो समयदेखि निकै गहिरो गरि गडेको छ।

दलतन्त्रको यो जरो उखेल्न बृहत नागरिक दबाब चाहिन्छ भन्छन् ,नागरिक अगुवा सुशील गौतम। उनी सामाजिक सञ्जालमा लेख्दै भन्छन्,’हिजोको दिन (जेठ ११, २०८२) नेपाल संस्कृत विश्वविद्यालयमा समस्या विशेषगरी त्यहाँ हुने निरन्तर तालाबन्दी बारे पदाधिकारी , विद्यार्थी र राजनीतिक दल बीचमा नागरिक समाज दाङले गरेको बहसको सहजीकरणमा बित्यो।
घर फर्किएर आफैलाई प्रश्न गरे ।त्यो कति फलदायी भयोरु प्रश्नको सहज उत्तर मैले नै आफैलाई दिन सकेन।तथापि एउटा प्रयास एउटा नागरिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरियो।


लोकतन्त्रमा दल अनिवार्य हुन। तर, नेपालमा लोकतन्त्र कमजोर दलतन्त्र बलियो छ। दलतन्त्रले सबै स्थानीय स्तरका संस्थादेखि संवैधानिक अंगसम्म कब्जा गर्ने मुल उदेश्य राख्छ। नेपाल संस्कृत विश्वविद्यालयदेखि सबै विश्वविद्यालयहरु यही कारण ध्वस्त हुदैछन् । तर, रोम जल्दा निरोले गितार बजाउनमा मस्त भए झै दलतन्त्रको गितार बजिरहेको छ।’

हो, विश्वविद्यालयको कन्तविजोग भइरहँदा दलतन्त्र गितार बजाइरहेको छ। लोकतन्त्रमा दलका विकल्प छैन।तर,लोकतन्त्रमा दलतन्त्र कदापि स्वीकार्य हुन्न ।यही दलतन्त्रको विषालु पञ्जामा छ,संस्कृत विश्वविद्यालय ।जबसम्म यही नियति चलिरहन्छ।तबसम्म विश्वविद्यालय घिटिघिटिमै बाँचिरहनेछ। यही चरम संकटमा फसेको विश्वविद्यालयलाई नागरिक समाजको यो कदमले मात्रै विश्वविद्यालयभित्र जेलिएको समस्या हल हुने त होईन र हुदैन पनि ।तर, दबाब अवस्य दिन्छ र दिनेछ ।यसको दायरा बृहत् बनाउन जरुरी छ। ठूलो दबाब विना यो जरो त्यतिकै ओखलिनेवाला छैन ।

हिजो राजतन्त्रलाई चिहानमा पुराउने ल्याकत थियोे नागरिक समाजसंग।यो इतिहासको तथ्य हो।नागरिक समाजकै विश्वास र भरोसामा जनता सडकमा झरेका थिए।तर, गणतन्त्र स्थापनापछि राज्यका हरेक अंग र निकायमा दलतन्त्रले जरो गाडेपछि बेथिति र विकृति मौलाएको मात्रै छैन।जनतामा निराशा र आक्रोश उस्तै छ। यस्तै बेथितिको शिकार बनेको छ,संस्कृत विद्यालय । त्यो बेथितिको अन्त्यका लागि नागरिक समाज दाङले बहसको थालनी गरेको छ। जुन निकै सकारात्मक कदम हो।यसलाई उदेश्यसम्म पुराउन र नागरिकलाई उठाउन बृहत् सञ्जाल विस्तार गर्न आवस्यक छ। जसको दबाबमा विश्वविद्यालय कब्जा गरेका दलहरूले हात झिक्न बाध्य होउन्।

विभिन्न माग राखी पाँच महिनादेखि माओवादी निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयको मुख्य प्रशासनिक अड्डामा तालाबन्दी गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारी बताउँछन् ।वार्ता र सम्वादबाट समस्या हल गर्न भन्दा ताला लगाएर काम ठप्प पारिएको उनले बताए ।

कुल सचिव अधिकारीले विश्वविद्यालय प्रशासन सबैखाले समस्याको हल गर्न तत्पर रहेको बताए । शंकाको भरमा लगाइएको आरोप पुष्टि गर्न पनि चुनौति दिए।जनशक्ति छनौट प्रक्रिया विधिसम्मत हुने भन्दै समस्यालाई विधिसम्मतले समाधान गर्न विश्वविद्यालय तयार रहेको पनि बताए ।

संस्कृत वाङमयको धरोहर हो, नेपाल संस्कृत विश्वविद्यालय । जुन विश्वविद्यालय गएको पाँच महिनादेखि एउटा स्वार्थ समूहको तालामा कैद छ। अपितु विश्वविद्यालय तालाबन्दीको विषय नौलो भने होईन। यश अघिका दिनमा पनि यस्तै तालामै कैद भएको अनुभव छ, विश्वविद्यालयसंग। विश्वविद्यालयलाई तालामा कैद गर्ने अरू कोही होईनन्। आफूलाई लोकतन्त्र र गणतन्त्रको महिसा ठान्ने दल र तिनका भात्रृ संगठनका कार्यकर्ता हुन्।

यतिबेला ताला लगाउने माओवादीको भातृसंगठन अखिल क्रान्तिकारी हो। उनीहरूका हकमा माग जायज होलान्। तर, समस्याको हल ताला लगाएर हुदैन र हुने कुरा पनि होइन। मागेको माग सबै पूरा दुनियाँमा कतै पूरा हुन्न पनि।तर, देशको तेस्रो विद्यार्थी शक्तिको रूपमा स्थापित अखिल क्रान्तिकारीको यस्तो प्रवृत्तिले विश्वविद्यालयलाई बर्बादीतिर धकेल्न बाहेक केही उपलब्धि हुनेछैन र हुन्न पनि। लोकततन्त्रमा आफ्ना माग राख्न पाइन्छ । विधिसम्मत तरिकाले राखिएका माग स्वभाविक पनि हुन्छन् । तर, विश्वविद्यालयको श्रृवृद्धिका लागि हुनु पर्छ। कुनै अमूक समूहलाई मोटाउने गरि होईन।पछिल्लो समय कसैलाई जागिर खुवाउन र ठेक्का पाउनका लागि विद्यार्थी संगठन र तिनका नेताले गरिरहेको यस्ता हर्कतको प्रतिवाद नागरिक तहबाट हुन ढिला भैसक्यो ।

विश्वविद्यालय सबैको साझा सम्पत्ति हो। विश्वविद्यालय भित्रको अवसर सबैले पाउनुपर्छ ।तर, त्यसको पनि आफ्नै विधि ,पद्धति र प्रक्रिया छन् र हुन्छन् । दुर्भाग्य ,योग्यता र क्षमता होइन दबाब र रवाफमा विश्वविद्यालय कब्जा गर्ने गलत अपराधजन्य हर्कत हुदै आएका छन् । यस्तो हर्कत गर्ने एमाले, कांग्रेस र माओ वादी नै हुन्।यी तीन दलको स्वार्थकाे अचानोमा परेको छ,विश्वविद्यालय ।

पछिल्लो समय माओवादीले भाग नपाएपछि विद्यार्थी संगठन मार्फत ताला लगाएको छ। सत्तारूढले भाग नदिएको झोकमा विश्वविद्यालयमाथिकाे यो अत्याचार अक्षम छ। विश्वविद्यालयको अस्तित्व नामेट पारेर तालाका भरमा आफ्नो स्वार्थ पूरा गर्ने कुचेष्टा कुनै पनि हालतमा स्वीकार्य हुनुहुँदैन । यश विषयमा माओवादी बढी जिम्मेवार बनोस्।विश्वविद्यालयप्रति माओवादीको हेराइ बेठीक छ भन्ने आरोप पखाल्न पनि उसले बढी त्याग गर्नुपर्छ।

सत्तारूढ दल एमाले कांग्रेसले पनि भाग छुट्याउन कन्जुस्याइँ नगरून्।भाग पाएको दिनमै माओवादीले भातृसंगठनलाई ताला उघार्न आदेश गर्नेछ ।यस्तो प्रवृत्तिको अन्त्य अब गर्नुपर्छ। विश्वविद्यालयलाई स्वायत्त रूपमा चल्न दिनुपर्छ। विधिद्वारा चल्नुपर्छ र चल्न दिनुपर्छ। आफ्ना आसेपासेको हितका लागि होईन। सिंगो विश्वविद्यालयको हितमा हुनुपर्छ ।

यस्तो प्रवृत्ति अहिलेदेखिको भने होईन।विशेषगरी
२०६२/६३ यता विश्वविद्यालयको श्रृवृद्धि होईन। यसलाई सिध्याउनकै लागि कुप्रयास भइरहेका छन् । यसले गलत सन्देश मात्रै गएको छैन ।वैदिक वाङमयको धरोहरलाई खरानी बनाउन यो वा त्यो को नाममा विश्वविद्यालयलाई बन्धक बनाउने घृणित काम भइरहेको छ । यो सवर्था भ्रत्सर्नायोग्य छ। खारेजयोग्य छ।

५ महिनादेखि विश्वविद्यालयलाई बन्धक बनाउनु यो एक प्रकारको अपराध पनि हो।आफ्ना भए सबै ठिक ,अर्कोको भए सबै बेठीक भन्ने गलत राजनीतिक स्कुलिङले भविष्यलाई अन्धकारतिर धकेल्न बाहेक केही हुनेवाला छैन।


विधिले बलियो हुन्छ ,लोकतन्त्र । विधिको माध्यमबाट विश्वविद्यालयको उननयनका लागि काम गर्ने हो। त्यसका लागि विधिसम्मत तरिकाले प्रक्रिया अघि बढाउन विश्वविद्यालय प्रशासनलाई सघाउनु बुद्धिमानी हुनेछ । बलजफ्ती र धम्कीको भरमा ताला लगाएर विश्वविद्यालय थप संकटमा पर्नेछ भने ५ महिनादेखि ताला लगाएर राजनीति गर्नेहरूको भविष्य पनि त्यति सुखद नहोला कि ,चेतना भया ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  १० : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित