२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

गुरु अभिनन्दनमा “गुरु मन्थन”


६ श्रावण २०८१, आइतबार  


वाल्मिकी विद्या आश्रम काठमाडौमा, गएको शनिबार प्राज्ञहरुले चिन्तन मनन गरे। जहाँ नेपाली तथा संस्कृत वाङ्मयका विषयमा उनीहरुको चिन्तन रह्यो । अवसर थियो, गुरु अभिनन्दन औपचारिक कार्यक्रमको । प्राज्ञिकहरुको जमघटमा संस्कृत तथा नेपाली भाषाको उत्थान र उनयनका विषयहरु खोतल्ने प्रयास गरियो । कार्यक्रम गुरु अभिनन्दन भएपनि “गुरु मन्थन”थियो, त्यहाँ । जहाँ उनीहरुले सरकारले विद्यालयबाट साधारण संस्कृत पठनपाठन बन्द गराएको दुःख व्यक्त गरे । यति मात्रै होइन, देशभर सञ्चालनमा रहेका संस्कृत माध्यमिक विद्यालयहरु बन्द गरेर ठूलो गल्ती गरेको उनीहरुको निश्कर्ष थियो ।संस्कृत विद्या कुनै एक जातिविशेष वा ब्राह्मणको मात्रै भाषा नभएको भन्दै गलत अफवाह र भ्रम फैलाएको बताए ।

संस्कृतको पठनपाठनलाई रोकेर मुलुकलाई बर्बादीतर्फ धकेल्ने काम दल र तिनका नेताले गरेको प्राध्यापक चेतोनाथ शमाले दाबी गरे। उनले भने, “आयुर्वेद, योग, जीवन दर्शन सम्वद्ध समाज उपयोगी विषयका विभागहरू सञ्चालन तथा अध्ययन अध्यापनका लागि संस्कृत विश्वविद्यालय र संस्कृत गुरुहरु लाग्ुनुपर्छ । खोज तथा अनुसन्धान गरेर समाज र देश हितका पक्षमा प्राज्ञहरु उभिने बेला भएको छ । ”नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको न्याय विभागले गुरु पूर्णिमाका सन्दर्भ पारेर गुरु अभिनन्दन समारोह गरेको थियो ।

यस कार्यक्रममा विद्धत वर्गले नेपाली तथा संस्कृत वाङ्मयको विषयमा मन्थन गरेका हुन्। कार्यक्रममा संस्कृत तथा नेपाली वाङ्मयका महामनीषि गुरुजनहरू प्रा.डा .वासुदेव त्रिपाठी, प्राध्यापक चेतोनाथ शर्मा, प्रा.डा. दीर्घराज घिमिरे , प्राध्यापक विद्यानाथ उपाध्याय र प्राध्यापक शिवहरि मरहठ्ठालाई वाल्मीकि विद्यापीठमा गुरु अभिनन्दन गरिएको थियो । न्याय विभागाध्यक्ष प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ को सभाध्यक्षता एवम् नेपाली भाषावाङ्मयका महामनीषि एवम् महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको प्रमुखातिथ्यतामा यस्तो बौद्धिक मन्थन र चिन्तनको कार्यक्रम भएको थियो ।

कार्यक्रममा अध्यापन, प्रवचन, लेखन, सम्पादन आदिका माध्यमले अतुलनीय योगदान पु¥याएको भन्दै प्राध्यापक चेतोनाथ शर्माको चर्चा गरिएको थियो । विद्यापीठकी सहायक प्राचार्य डा. रमा भट्टराईले प्राध्यापक शर्माको योगदानको चर्चा गरेकी थिईन्।२०२६ देखि प्राध्यापन सेवामा संलग्न शर्माले वि.सं २०५० चैत्र २२ मा नेपाल संस्कृत विश्वविद्यालयबाट अवकाश प्राप्त गरेका थिए । त्यसैगरी अर्का अभिनन्दित व्यक्तित्व पौरस्त्यदर्शनका प्रतिमूर्ति पौरस्त्यवाङ्मयविद् प्रा. डा. दीर्घराज घिमिरेको योगदानको पनि चर्चा गरिएको थियो । उप प्राध्यापक केशवशरण अर्यालले प्राध्यापक डाक्टर घिमिरेले भाषा र साहित्यमा पुराएको योगदानको चर्चा गरेका थिए । प्राध्यपाक डाक्टर दीर्घराज घिमिरेका ’श्रीमद्भगवद्गीता’ , ’ब्रह्मसूत्र , ’दर्शनावली’ जस्ता थुप्रै अद्वैतवेदान्तपरक व्याख्या ग्रन्थहरू प्रकाशित छन् । उनी वि.सं. २०५४ सालदेखि निरन्तररूपमा उपनिषद् , ब्रह्मसूत्र , गीताजस्ता वेदान्तका प्रस्थानत्रयी ग्रन्थमा आधारित शाङ्कराद्वैत दर्शनपरक प्रवचन शङ्कराचार्यमठ, पशुपतिमा गर्दै आएका छन् । प्राध्यपाक डाक्टर घिमिरे न्याय , वेदान्त , मीमांसा, धर्मशास्त्र आदि विषयका ज्ञाता हुन।


त्यसै गरी अर्का विद्धत हुन्, प्राध्यापक शिवहरी मरहट्ठा । रानीपोखरी छात्रावासमा बसी संस्कृत अध्ययन प्रारम्भ गरेका उनी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति भएका थिए। संस्कृत विश्वविद्यालयको नव्यन्याय विषयमा प्राध्यापक बनेका उनी प्राचीन न्याय विषयका आचार्य र कुशल प्रशासकका रूपमा समेत चिनिन्छन् ।साहित्य साधनामा तल्लीन मरहठ्ठाको ’मतिविनोद’ काव्य प्रसिद्ध छ , यो काव्य कविशिरोमणि लेखनाथ पौड्यालको ’बुद्धिविनोद’ काव्यको उत्तरस्वरूप छ ।उनलाई पनि कार्यक्रममा गुरु अभिनन्द गरिएको थियो ।


त्यसैगरी अर्का गुरु अभिनन्दित व्यक्तित्व तथा विद्धान हुन्,प्राध्यापक विद्यानाथ उपाध्याय। नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्षसमेत रहेका उनी तन्त्रविद्याका विशिष्ट साधक र न्यायविद्याका विद्वान हुन्। उनका ’कामकलाविलास’, ’तन्त्रविद्यालोक’,’अक्षमालातन्त्र’, ’श्रीमत्पशुपतितन्त्र’, ’श्रीमद्भगवद्गीता–भावचान्द्रिका’, ’तन्त्रमा विद्या र ब्रह्मचिन्तन’ जस्ता तन्त्रविद्यापरक एवं दार्शनिक थुप्रै ग्रन्थ रत्नहरू प्रकाशित भइसकेका छन् ।यसरी बाल्मिकी आश्रमले चारै जना विद्धानहरुको योगदानको चर्चा गर्दै नेपाली तथा संस्कृत वाड्मयको विषयमा चर्चा र चिन्तन गरेको हो

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ०३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित