१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

पृय ‘सुप्रिमो प्रचण्ड’! ‘अब त विश्राम लिनूस्’


७ चैत्र २०८२, शनिबार  


कामरेड सुप्रिमो प्रचण्ड ! क्रान्तिकारी अभिवादन । गणतन्त्रका पिता, संघीयता र समावेशी लोकतन्त्रका रचनाकार । वंशवादी सामन्ती सत्ताको जरो किलो उखालेर स्वतन्त्र,स्वाधीन र सार्वभौम जनताका मुक्तिदाता र राष्ट्रका अभिभावक ।

कामरेड प्रचण्ड तपाईं यस्तो अद्भुत नेता हो, जसको नेतृत्वमा मुलुकको नयाँ इतिहास बन्यो।।जनता प्रजा र रैतीबाट नागरिक भए। लाखौं भुँइ मान्छेको नेता तथा अभिभावक तपाईं । देश निर्माण र परिवर्तनमा अतुलनीय योगदान छ र रहनेछ । जुन योगदान न बर्तमान पुस्ताले भुलेको छ र भुल्नेवाला छ, न भविष्यको पुस्ताले नै विर्सिनेछ।

किनकि तपाईं एक युगान्तकारी नेता हो। जसको बुद्धि र विवेककाे आलाेकमा मुलुकले युगान्तकारी परिवर्तन गर्न सम्भव भयो अनि संस्थागत पनि भयो,गणतन्त्र । यीनै ऐतिहासिक तथ्यका आधारमा राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी भन्छन्, ‘नेपालको राजनीतिक इतिहासमा तीन पात्रहरू राजनेता बने। ती हुन्, विपी,पुष्पलाल र प्रचण्ड।’

हो, डाक्टर केसीले भने जस्तै तपाईं यी तीन राजनेता मध्य एक हो। हजारौं जनतालाई जनयुद्धको भीषण युद्धमा गोलबन्द गर्दै अढाइ सय वर्ष सामन्ती सत्ताको अन्त्य गर्ने जुन युगान्तकारी इतिहासको निर्माण गर्नु भयो। यो इतिहास चानचुने थिएन, होइन र हुन सक्तैन पनि । यो उपलब्धि तपाईंको अदम्य, साहस र हिम्मत अनि जनताको अभूतपूर्व तपाईंप्रति गरेको विश्वासको कुञ्ज हो।

तपाईंले देखेको जिउँदो सपना अनुसार २०७२ मा नयाँ संविधान जारी भइ त्यही अनुसार मुलुकमा तीनवटा निर्वाचन भैसके। देशलाई यो परिवर्तनको घडीमा ल्याइपुराउन तपाईंको अथक मेहनत र संघर्ष अतुलनीय र अविस्मरणीय पक्कै छ र भविष्यमा पनि हुनेछ ।

तपाईंको देशप्रतिको यो असाधारण योगदान आम मान्छेको कल्पना भन्दा बाहिरको विषय र सन्दर्भ थियोे र हो पनि । किन कि इतिहासमा मानिसहरू धेरै जन्मिन्छन् र धर्ती छोड्छन्। यतिकै मानिसहरूको जीवन चोला र चक्रको अन्त्य हुन्छ । तर,यही समाजमा त्यस्ता विरलै मानिस जन्मिन्छन्। जसले नयाँ इतिहासको पाना कोर्छन्। हो, तपाईं प्रचण्ड नै नयाँ इतिहास कोर्ने नायक हो ।तपाईंले निर्माण गरेको इतिहासले जनता प्रजा र रैतीबाट नागरिक भएका छन् । उत्पीडित ,अपहेलित र बहिष्कृतहरू राज्य सत्ताको मुल प्रवाहमा आइपुगेका छन् । संसददेखि सत्तामा र पालिकादेखि न्यायालमा महिला दलित ,जनजाति ,मुस्लिम ,अल्पसंख्यक र पीछडिएको वर्ग पुगेको छ। निजामतीदेखि नीति निर्माण तहमा देखिएको यो अभूतपूर्व प्रतिनिधित्व तपाईंको नेतृत्वमा चलेको जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाबाट हासिल उपलब्धिका परिणाम हुन्।

यी उपलब्धिहरू अब कुनै पनि पश्चगामी र परिवर्तन विरोधीहरूले चाहेर पनि देश पछाडि फर्किनेवाला छैन भन्नेमा लाखौं जनता ढुक्क छन् । सम्भवतः तपाईं पनि यो सत्य कुरामा निश्चिन्त पक्कै हुनुहुन्छ । जुन कुराको पुनः सिद्ध २१ फागुनको निर्वाचनले तेस्रोपटक गरिसकेको छ । तपाईंले भन्दै आएका र तपाईंको राजनीतिक छहारीमा कतै न कतै हुर्किएका गणतन्त्रका फूलहरूले अवस्य पनि देशमा सुशासनको सुगन्ध फैलाउने छन् । जनताले पनि तपाईंले गणतन्त्रका फूल भनेकाहरूलाई नै औधि विश्वास गरे। नैतिक रूपमा यो पनि तपाईंको दिग्विजय हो।

नेताले चुनावी परिणाम हेर्छ,राजनेताले देशको दुरगामी प्रभाव र सम्भावित परिणाम हेर्छ। हो, देशले आज जे युगान्तकारी परिणाम प्राप्त गरेको छ।यो तपाईंले बोकेको मुद्दाको संस्थागत नतिजा हो । यसले संविधानमा लिपिवद्ध मात्रै होइन, थप सुदृढीकरणसंगै संस्थागत भएको सबैले अनुभव गरेका छन् । तपाईंले नेतृत्व गरेको दलले चुनावी परिणाममा सर्मनाक हार बेहोरेको होला।तर, मुद्दाले ऐतिहासिक विजय हासिल गरेको सत्य हो।

तपाईंले ४० वर्ष अघिदेखि नेतृत्व गर्दै उठाएको परिवर्तनको थप मुद्दा संस्थागत भैसकेपछि २१ फागुनको निर्वाचनमा तपाईंलाई छोडेर जनताले तपाईंको एजेन्डालाई मात्रै अनुमोदन गरेका हुन् । तपाईंको जीवनकालमा जेजति युगान्तकारी परिवर्तन भए । ती सबैको श्रेय तपाईं र तपाईंको नेतृत्वमा भएको संघर्षमा बलिदान ,त्याग,कुर्बानीसंगै नैतिक तथा भौतिक साथ दिनेहरू सधैं अमर रहनेछन् ।

तपाईंले मृत्यु या मुक्ति भनेर कसम खाएर थालेको राजनीतिक संघर्षले शीर्षस्थ उचाइ निर्माण गरेको छ। यो ऐतिहासिक उपलब्धिलाई फक्रन, फुलाउन र फलाउने जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बेला भैसक्यो । सुप्रिमो पृय कामरेड प्रचण्ड ! तपाईं र देशका लागि पार्टी नेतृत्व र सत्ताको मोह अब गौण बन्दै गएका छन् । तपाईंको अतुलनीय योगदानले इतिहास रचेको छ। यो ऐतिहासिक उपलब्धिको प्रवर्धन र संरक्षण गर्ने शर्तमा पार्टी नेतृत्व हस्तान्तरण गर्न पनि ढिला गर्नु हुदैन ।


पृय प्रचण्ड ! समय गतिशील छ। समयको पावन्यतालाई जिम्मेवार नेताले मानन् नगर्ने कुरा पनि भएन। जुन कुरा गएको भदौको जेनजी विद्रोह र त्यसैको जगमा सम्पन्न २१ को फागुन जनादेशले तपाईंको स सम्मान विदाइ खोजेको छ। जुन कुरा तपाईं जतिको नेताले अवस्य पनि अनुभव र अनुभुति गर्नु भएको होला नै । नेतृत्व पुस्तान्तरण र हस्तान्तरण अहिलेको जरुर प्रश्न हो। कांग्रेसमा गगनहरूले नेतृत्व लिइसकेका छन् भने एमालेमा योगेश भट्टराईहरू संघर्ष गरिरहेका छन् । धेरै बामपंथी जोडेर तपाईंले निर्माण गरेको नेकपा पनि अब युवा पुस्ताको नेतृत्वमा जानुपर्छ ।

बदलिएको परिवेश र परिस्थितिले पनि नयाँ नेतृत्वको खोजी गरिरहेको छ । विज्ञान र प्रविधिको यो दुनियाँमा चुनावी समीक्षामा भोट कसले र कता हाल्यो भनेर हिसाब खोज्ने बेला हुदै होइन। तपाईं नेताहरूको पनि नेता हो। समावेशी गणतन्त्रको पिता भएपछि मतको हिसाब खोज्नु सर्वथा गलत हो। यसले तपाईंको विगतका राष्ट्र निर्माणका योगदानलाई मूल्यहिन बनाउन सक्छ । चुनावी नतिजाले पनि तपाईंको पार्टीको भागमा थोरै मत देखाएको छ।

जुन सत्य हो। शान्ति प्रक्रियाको शुभारम्भ बेला २०६४ मा ३१ लाख मत भएको दलले आज ८ लाख मतमै चित्त बुझाउनु परेको छ। यसो हुनुमा नेतृत्वको नैतिकतामाथि प्रश्न उठ्छ। यो स्वभाविक पनि हो। तपाईं कम्युनिस्ट पार्टीको खारिएको ,तिखारिएको र स्पातिलो बनेको नेता पनि हो। यी नैतिक प्रश्नहरूको जवाफ दिदै आगामी असारमा हुने नेकपाको महाधिवेशनबाट विदाइ हुनु निकै सुखद् हुनेछ । पार्टीको सर्वोच्च नेता बनेर तपाईं र माधव नेपाल अभिभावकीय भूमिकामा रहनु पार्टी, ,देश र जनताको पक्षमा हुनु हो ।

यसैमा पनि तपाईंको नेतृत्वमा स्थापित संघीय गणतन्त्रको सुदृढीकरण र सबलीकरणको लागि पनि हो। हुन त म जस्तो फुच्चे पत्रकारले तपाईं जतिको नेतृत्वलाई सल्लाह र सुझाव दिनु अस्वभाविक जस्तो पनि लाग्ला ।तर, यो सुझाव आम जनताको प्रतिनिधित्व गर्ने विचार पनि हो। यति कुराको हेक्का राख्नुहोस्, हिजो आधुनिक मलेसियाको निर्माता महाथीर।मोहम्मदले जिन्दगीको उत्तार्धमा सर्मनाक हार बेहोर्न पर्यो । पद लोलुपता हुँदा निर्वाचनमा महाथीरको जमानत जफत भएको थियोे ।

र, अन्तमा, पृय सप्रिमो प्रचण्ड ! हामी कामना गर्दछौं ,तपाईंले पनि इतिहासको योगदानलाई पदसंग साटेर महाथीर जस्तै पराजयको पदक लिनुहुनेछैन र संघीय गणतन्त्रको पिताको उपाधि लिलाम गर्नुहुनुछैन।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १० : ०९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित