सरकारले श्रम संसार शुभारम्भ गरेको छ। बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले ‘श्रम संसार’ पोर्टल सुरू गरेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको यस पोर्टलको प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेका हुन्।
अब सरकारदेखि निजी संघसंस्थाले कर्मचारी खोज्न एवं कसैलाई रोजगारी चाहिए यही आधिकारिक पोर्टलको सहारा लिन सकिने भएको छ । ‘श्रम संसार’ ले रोजगारीको लागि सेतुको काम गर्ने सरकारले बताएको छ।
प्रधानमन्त्री ओलीले भनेका छन्, श्रम संसारले रोजगारीमा आबद्धता हुन सहजीकरण गर्नेछ । रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ । रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ ।’
श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हट्ने पनि प्रधानमन्त्री ओलीको विश्वास छ । निकट भविष्यमा नागरिक एपमा समावेश गर्दै सबै जनतासँगको पहुँच वृद्धिका लागि प्रधानमन्त्रीले निर्देशन दिएका समेत दिएका छन्।

उनले थप भने, ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, तब समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ’,सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरिसकेको सम्बन्धमा रणनीतिक कार्ययोजना तयार गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
सरकारले शुभारम्भ गरेको ‘श्रम संसार’ के हो ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको यो आधिकारिक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सरकारी सूचना प्रणाली हो ।यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आवद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ ।
यस पोर्टल संघ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगारसमेतले आफ्नो सीपको विज्ञापन गर्न सक्ने यस पोर्टलको विशेषता हो ।
पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन प्रक्रियाको व्यवस्था गरिएको छ । श्रम बजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुनेछ । मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आईओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एपको सुरुवात गर्ने जनाएको छ ।
यो पोर्टलमा रोजगारी र उद्यमशीलताका विषय पनि समेटिने सरकारी अधिकारीहरुको भनाइ छ। मन्त्रालयका अनुसार रोजगारी खोज्ने व्यक्तिले यसै पोर्टलबाट आवेदन दिन मिल्नेछ । पोर्टल प्रयोग गरेबापत कसैले पनि पैसा तिर्नु पर्ने छैन ।पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आवद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाका बारे पनि मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण समेत गरिएको थियो ।छोटो समया उल्लेखनीय सफलता हासिल गरेको भन्दै कोशी प्रदेशका १३७ वटै स्थानीय तह यस प्रणालीमा आवद्ध भएका थिए । देशभरका ७५३ वटै स्थानीय तहलाई श्रम संसार पोर्टलमा समेट्न प्राविधिक समितिले काम गरेको थियो ।
मन्त्रालय र स्वीसकन्ट्याक्टबीच गएको मार्च १० मा सम्पन्न पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा ‘श्रम संसार’ प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्ने साझेदारीमा हस्ताक्षर भएको थियो ।
श्रममन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताएका छन् ।उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाँउमा बसेर रोजगारी गर्न सक्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘श्रमसंसार’ पोर्टलको स्क्रिनसट राख्दै लेखेका छन्, ‘सार्वजनिक सवारीसाधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी श्रमसंसार पोर्टलको आरम्भ गरेको छ । रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने छ । एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई यसले समाधान गर्नेछ ।’
संघ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत सञ्चालन हुनेछ । देश भर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सजिलै आवेदन दिन सकिने, सीपमूलक तालिमको जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने, स्वरोजगारले समेत आफ्नो सीपको विज्ञापन गर्न सक्ने तथा निःशल्क दर्ता तथा सञ्चालन प्रक्रिया हो । यसैमा श्रम बजार सम्बन्धि नीति, नियम तथा जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ ।
वैशाख महिना भित्रै आइएओएस र एन्ड्रोइड दुवैमा उपलब्ध हुनेगरि मोबाइल एपको सुरुवात गरिनेछ । पोर्टल सञ्चालन, अन्तर तह समन्वय तथा निजि क्षेत्रको आवद्धता सुनिश्चित गर्नका लागि आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने जनाइएको छ । नेपाल सरकार अन्तर्गत सञ्चालनमा रहेका नागरिक एप लगायतका सम्पूर्ण डिजिटल प्रणालीसँग सामान्जस्यता कायम गर्ने मन्त्रालयको योजना रहेको छ ।
पोर्टलको प्रचार प्रसार, विस्तार, मन्त्रालयको आन्तरिक क्षमता अभिवृद्धि तथा दिगो सञ्चालनका लागि दातृ निकाय समेतको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने, पोर्टलको नियमित अपडेट जस्ता प्रविधिमामा आधारित अटोमेसन, करियर काउन्सिलिङ, स्किल एसिसमेन्ट, प्रिडेक्टिभ एनलाइसिस जस्ता एडभान्स फिचर विकास गर्ने योजना मन्त्रालयको रहेको बताइएको छ ।