बालेन्द्र साह एउटा व्यक्ति मात्रै होइनन् , नयाँ पुस्ताका लागि व्यक्तित्व पनि हुन् भने मुलुकका लागि भावी प्रधानमन्त्रीको रुपमा हेरिएका आशाको दीयो समेत हुन् । तर, पटक पटक सामाजिक सन्जालमा उनले व्यक्त गर्ने विचारले सन्जालसंगै राजनीतिक वृत्तमा महाभूकम्प ल्याइदिन्छ ।
मेयर हुनु अघि र्यापर र इन्जिनियरको परिचय मात्रै भएका बालेनको लोकपृयताले स्वर्गका देवता भगवान इन्द्रलाई समेत जलन हुन सक्छ भने ३५ वर्ष देखि देशलाई हरिकंगाल बनाएर बदनाम भएका दल र तिनका नेतामा औडाह हुनु स्वभाविककै हो ।
यीनै दलहरुकै कारण स्वतन्त्र व्यक्तिको रुपमा बालेन्द्र साहलाई मुुलुककै सबै भन्दा ठूलो महानगरको नगर प्रमुखमा काठमाडौका मतदाताले अत्यधिक मतले जिताइदिए । सर्वाधिक लोकपृयताको विद्यावारिधि प्राप्त गरेका बालेन लाखौ युवापुस्ताको अभिभावक बनेका छन् । फोहोरी र घिनलाग्दो राजनीतिक कुकर्मबाट आजित युवा पुस्तासहित आम जनताले उनीमाथि विश्वास र भरोसा राखेका छन् ।
तर, मुलुकको भावी नेतृत्वको रुपमा हेरिएका बालेनको पछिल्लो स्टाटसले भने उनीमाथि गम्भीर प्रश्न उठाइदिएको छ । उनीमा मानसिक समस्या हो या आक्रोशको अभिव्यक्ति हो भन्ने कुरा उनको स्टाटसमा उठेका प्रश्न हुन् । उनले सार्वजनिक गरेर मेटाएका स्टाटसलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्दा दुईवटा सन्देश दिएको स्पष्ट देखिन्छ । पहिलो सन्देश हुन सक्छ, जेनजी विद्रोहपछि पनि मुलुकमा उनै भ्रष्टहरुको चलखेल भैराख्नुको अभिव्यक्ति र त्यसैको आक्रोशस्वरुप उनले यस्तो अशिष्ट र अशोभनीय स्टाटास सार्वजनिक गरे । अनि दोश्रो हो, उनको व्यक्तिगत आदतको प्रहसन मात्रै । यद्यपि वास्तविकता के हो त्यो भने उनैलाई थाहा होला कि अदृय भगवानलाई ।
तर,सत्य कुरा के हो भने, मेयर बालेनको यो स्टाटस असभ्य र अशिष्ट भएपनि चौतर्फी घेराबन्दीको महाविस्फोट भने पक्का हो । यद्यपि सार्वजनिक पदमा बसेको व्यक्तिले यस्ता अभिव्यक्ति दिनुलाई कदापि शोभनीय मान्न सकिन्न । तर, यसको कारण भनेको नै सत्ताको म्यूजिकल चियरमा बसेर देशलाई खरानी बनाएका एमाले, कांग्रेस र माओवादीहरुको घेराबन्दीमा परेका बालेन पछिल्लो समय जेनजी सरकारले पनि अपेक्षा गरे अनुसारको ठीक ठीक ढंगले काम गर्न नसकेपछि उनीमा चरम निराशा र आक्रोश व्यक्त भएको उनको स्टाटसको गहिराइ हुन सक्छ ।
यद्यपि उनले गए राति सामाजिक सन्जालमा जे जे कुरा लेखे ती शब्द सभ्य र शिष्ट छैनन् । तर, नेपाललाई स्वार्थको रणमैदान बनाउने विदेशी शुभचिन्तक र घरेलु राजनीतिका दलीय प्रवृत्तिले लुटिएको देशको अभिव्यक्तिपूणं क्रन्दनको एउटा उदाहरण पक्कै हो । लोकन्त्र गणतन्त्र स्थापना भैसक्दा पनि देशको अवस्था नबदलिनु उनै असक्षमहरुले पटक पटक सत्तामा मोजमस्ती गर्नु र मुलुक कंगाल हुँदै जानुले मुलुकमा आशा भन्दा ज्यादा निराशा छ ।
माफियातन्त्रले मुलुक खर्लप्पै निलेको बेलामा उदाएका मेयर बालेन एक आशा लाग्दो नेता हुन् । गएको तीन वर्षमा सडक, शिक्षा, स्वास्थ्य र सार्वजनिक सम्पत्ति फिर्ता ल्याउनेदेखि थुप्रै काम गरेर लोकपृयता कमाएका पात्र हुन् उनी । उनको काम समाजवादी चरित्रको छ । विपन्न पालिकालाई निशुल्क एम्बुलेन्स हरेक वर्ष हस्तान्तरण गर्नेदेखि विपन्न, गरिब र असाहयहरुको शिक्षा र स्वास्थ्यको क्षेत्रमा उनले गरेका कामले उनी जति चर्चित छन्। त्यत्ति बेला बेलामा सामाजिक सन्जालमा पस्किने विवादास्पद स्टाटसले पनि चर्चा झनै कमाउने गरेका छन् ।
कुनै पनि दलको सदस्य नभएका मेयर बालेन यति धेरै शक्तिशाली मेयरको रुपमा स्थापित भएका छन् की उनका अघि आँखा जुधाएर प्रतिवाद गर्न होस् या विभिन्न माध्यमबाट प्रतिवाद गर्न सक्ने मै हुँ भन्ने दलका नेताको पनि आँट छैन । बालेनसंग संगठन त छैन । एमाले कांग्रेस र माओवादी जस्ता दलहरुको जस्तो लाखौ संगठित र वफादार कार्यकर्ता पनि छैनन्। तर, उनीमा रहस्यमयी शक्ति छ । यसो हुनुमा विशेष गरी बालेनमा उच्च नैतिकता, इमान र प्रतिवद्धता छ । सामाजिक सन्जालमा फलोर्स भएकै कारणले मात्रै उनी यति शक्तिशाली भएका होइनन् । बालेनलाई शक्तिशाली बनाउने अर्काे श्रेय यो देशका मुख्य दल र तिनका मुख्य नेता नै हुन् ।
यदी यी दल र यीनका नेतामा देश र जनताप्रति अलिकति पनि माया र दायित्वबोध हुन्थ्यो भने एउटा मामुली मेयरले देशको राजनीतिलाई हल्लाउने कल्पना पनि गर्न सकिन्नथ्यो । यीनै दलहरुकै अक्षमता, अकर्मण्यता र अधैर्यताको उपज हुन्, मेयर बालेन । विशेष गरी एमाले, कांग्रेस र माओवादीको नेतृत्वकै कारण उदाएका मेयर बालेन यतिबेला उनीहरुकै राजनीतिका लागि यमराज बनेका छन् । बालेनको स्टाटसले यीनीहरुका दरबारमा महाभूकम्प जान्छ भने भोलिका दिनमा दल खोलेर बालेन अघि बढे भने यीनीहरु पृथ्वी लोकमै नहुन पनि सक्छन् । त्यो कुरा पछिल्लो समय बालेन, रवि र कुलमानबीचको एकता र अग्रसरताको दृष्तान्ततले छनक दिदैन र ?








