३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

नेपाल, “वैदिक ज्ञान र विज्ञानको गन्तव्य”


२३ चैत्र २०८१, आइतबार  


ॐकार परिवारमा रहेका सम्पूर्ण चराचर जगतको उत्पत्ति,सञ्चालन र अन्त्य छ भनी सबैको अस्तित्व स्वीकार गर्नुलाई वैदिक सनातन भनिन्छ। यसले कुनै एक व्यक्ति, वाद वा सिद्धान्तलाई अस्वीकार गर्दछ।

‘स्वधर्म’अर्थात् व्यक्तिगत धर्मलाई जोड दिने गर्छ, हरेक मानिसको अस्तित्वलाई स्वीकार गर्दछ। मनुस्मृतिमा पनि स्वधर्म अर्थात सनातन धर्मलाई नै ‘धर्म एव हतो हन्ति, धर्मो रक्षति रक्षितः’ अर्थात, स्वधर्मको नाश गरेमा यसले आफैलाई विनाश गर्दछ भनिएको छ। त्यसैले पनि आफ्नो रक्षाको लागि स्वधर्मको रक्षा गर्नुपर्छ भनिएको हो ।

त्यसैगरी धर्मलाई व्यक्तिगत स्वतन्त्रताको रुपमा व्याख्या गर्दै याज्ञवल्क्य संहितामा भनिएको छ–ुश्रुतिस् स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः, सम्यक्सङ्कल्पजः कामो धर्ममुलदिमं स्मृतम्।’ अर्थात् धर्म त्यो हो, जुन कुरा आफूलाई प्रिय लाग्ने र आफूले गर्न संकल्प गरिएका असल कुरा जुन नितान्त व्यक्तिगत हुन् भनी उल्लेख छ।

यसैगरी गीताका अनुसार धर्म साधन तथा साध्य दुवै हो। कर्मयोगका माध्यमबाट इन्द्रीयलाई वसमा पार्दै जीवनलाई जागृत एवम् चलायमान गर्नु र वैराग्य एवम् मोहबाट उन्मुत्ति पार्नुनै धर्मको परम उद्देश्य हो भनी उल्लेख गरिएको पाइन्छ।गीताकै तेस्रो अध्याय श्लोक ३५ मा उल्लेख गरिए अनुसार–श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितान्। स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।। अर्थात्, अरुको धर्म जतिसुकै राम्रो भएता पनि आफ्नै स्वधर्मको पालना गर्नु पर्दछ र परधर्म सदैव भयावह हुन्छ भनी उल्लेख गरिएको पाइन्छ।

कुनैपनि सनातनीले बलि प्रथालाई अस्विकार गर्दछ। अर्काको हत्या गरेर इश्वर खुशी हुने कुरा आफैमा दिगभ्रमित छ। हाम्रा कुनैपनि शास्त्रले यस्ता कुप्रथाको परिकल्पना गरेका छैनन्। यी दुष्कर्महरु हाम्रो सनातन धर्मको खिलाफ छन्। सायद यही हिन्दुवादी संकीर्ण धर्मको अफिमरुपी विष रोक्न नै बुद्धले सनातन धर्मलाई शान्तिमार्गी मार्गबाट नै मानव कल्याण संभव छ भनी सनातन धर्मलार्ई नयाँ आयाम दिन बौद्ध धर्मको प्रतिपादन गरेको हुनुपर्दछ, जुन हाम्रो सनातन धर्मकै आधुनिक एवं वैज्ञानिक प्रयोग थियो भन्न सकिन्छ।


हिन्दू धर्म लादिएको हो भन्ने धेरै ऐतिहासिक र प्राचीन तथ्यहरु छन् । बुद्धको समकालीन युगमा हिन्दू धर्म लादिएको भन्नेहरुको मत धेरै छ। बुद्धकालीन समयमा बौद्ध गुम्बाहरुको विनाश गरेर हिन्दू मन्दिरहरु बनाइएका छन्। दक्षिण भारतबाट आएका शंकराचार्यले हिन्दूकरण गरेको भन्ने एकथरीको मत छ। उनीहरुले वैदिक सनातन धर्मको केही कुरालाई तत्कालीन शक्तिस्वार्थको प्राप्तिका लागि उपयोग गरे । जस्तै हिन्दू सम्राटको रुपमा राजालाई रािखयो । केही स्वार्थी व्यक्तिहरुले धर्मको ललिपप देखाई सनातन धर्मको गलत अर्थ लगाएर सनातन धर्मलाई आभेलेमा पारे ।

दिनेलाई देवता भनिन्छ, जस्तै अग्नि ,वायु, आकाश,धर्ती , सूर्य ,ग्रह र तारा मण्डल आदिलाई सनातनीले देवता मान्छन्। यीनीहरूले दिने मात्रै गर्दछन् । यीनै दिने देवताहरूको पनि देवतालाई महादेव भनिएको हो।
यीनै महादेवले सृष्टिको निर्माण र संहार गरे।सृष्टिको सञ्चालन विष्णुले गरे,सृष्टिलाई सञ्चालन गर्न ज्ञानको आविस्कार ब्रम्हाले गरे।यही ब्रम्ह ज्ञान र परमतत्वको उत्खनन, व्याख्या र विश्लेषण जसले गर्यो, त्यही हो, वैदिक ज्ञान र विज्ञान।

जहाँ आध्यात्मिक चैतन्यबाट संसारलाई बुझ्ने र व्याख्या गर्ने गरिन्छ। यहाँ न कोही रैती हुन्छन् ,न त दास या मालिक ।यहाँ हुन्छन् त केवल मानव मात्रै ।जहाँ मानव तथा प्राणीको कल्याणलाई मात्रै धर्म ठानिन्छ । त्यही हो, सनातन वैदिक ( प्राकृतिक ) धर्म । यही वैदेिक समाज र दर्शनको एक खण्ड हो,वैदिक साम्यवाद ।जसलाई १९ औं शताब्दीमा द्वन्द्वात्मक भौतिकवादका चिन्तक कार्ल माक्रर्सले आदिम साम्यवाद भनेर नयाँ परिभाषा गरे।


यसर्थ विज्ञानले सुख र समृद्धि दिएपनि खुशी र शान्ति दिन सकेन। अब त्यसका लागि समाज वैदिक ज्ञान र विज्ञानको खोजीमा छ। यसको खोजीको गन्तव्य हो,नेपाल ।

वैदिक सनातन सभ्यता आदि अनादिकालमा विकास भएको पाइन्छ। संसारमा सभ्यताको विकासको पहिलो आयाम थियो र हो सनातनी सभ्यता । हिमवत खण्डमा पर्ने आदिम सभ्यताको विकास भएको तपोभूमि हो गणतान्त्रिक नेपाल । वेद भनेको ज्ञान हो । यही ज्ञानबाट जीवन र जगतको व्याख्या र विश्लेषण गरिएको छ। संसारको पहिलो ज्ञानभूमिबाट चेतनाको प्रादूर्भाव भएको थियो । सनातनको अर्थ हुन्छ शाश्वत या सदाकालका लागि रहने अर्थात् जसको न आदि छ, न अन्त । यही न आदि न अन्त भएको पवित्र भूमि हो, हिमवत खण्ड । पौराणिक ग्रन्थका अनुसार हिमवत खण्ड भन्नेबित्तिकै प्राचीन ऋषिमुनिहरूको पवित्र तपोभूमिको रुपमा बुझ्ने गरिन्छ । हिमवत्खण्ड भनेको हिमालय पर्वतद्वारा समाविष्ट भूगोलको एउटा खण्ड पनि हो ।

हिमवत्खण्डबारे विभिन्न विद्वान् तथा लेखकले विभिन्न दृष्टिकोणसहित वर्णन गरेका छन् । वेदव्यासद्वारा रचित १८ पुराणमध्ये प्रमुख स्कन्द पुराणअन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा उल्लेख छ ।

२०१३ सालमा योगी नरहरिनाथले स्कन्ध पुराणको संस्कृत भाषामा वर्णन गरिएको हिमवत्खण्डलाई संकलन र सम्पादन गरेका थिए । जसमा उनको भनाइ अनुसार हिमालयपालित सिन्धु प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड क्षेत्र हो ।हिमवत्खण्डबारे संस्कृतका महाकवि कालिदासद्वारा रचित ‘कुमारसम्भव’मा भनिएको छ, ‘सवा लाख पर्वतमाला समावेश रहेको हिमालय पर्वतको भूखण्ड, जसले पूर्व र पश्चिम दिशाका समुद्रलाई स्पर्श गर्छ ।

’यसरी हेर्दा हिमवत्खण्ड भन्नाले हिमाली भू–भाग मात्र नभई समुद्री सतहबाट करिब ६६०० मिटर उचाइमा अवस्थित कैलाश पर्वत, ४५०० मिटर उचाइमा रहेको मानसरोवर ताल आसपास करिब २५०० किलोमिटर पूर्व र पश्चिमसम्म विस्तृत भएका विशाल हिमाली शृंखला र ती हिमालयका फेदीबाट नदी खोला, झरना, तालतलैया तथा तिनको जलाधार क्षेत्र अर्थात् अनेकौँ भौगोलिक बनावटसहितको समष्टिगत रुप भन्ने बुझिन्छ ।

पश्चिममा कैलाश मानसरोवरबाट प्रश्रवित सिन्धु नदी, पूर्वमा तिब्बतबाट प्रवाहित भई भारतको अरुणाचल प्रदेशबाट बंगलादेश हुँदै हिन्द महासागरमा मिसिने ब्रह्मपुत्र नदी ( दिहाङ्ग तिब्ब्ती भाषामा), उत्तरमा कैलाश पर्वतसँगै हिमालय पर्वत शृंखला र दक्षिणमा गंगा नदी तट र यस बीचमा अवस्थित सम्पूर्ण जल, जङ्गल, जमिनसहितको क्षेत्रलाई समष्टिमा हिमवत्खण्ड भनिन्छ ।

सिन्धु नदीको कुरा गर्दा, यसको किनारमा करिब पाँच हजार वर्षपहिले नै सिन्धुघाँटी सभ्यता अर्थात् पहिलो व्यवस्थित र उन्नत मानव सभ्यताको विकास भएको मानिन्छ । खोज, पुरातात्त्विक अन्वेषण तथा अनेकौँ वैज्ञानिक परीक्षणद्वारा पुष्टि भए अनुसार तत्कालीन समयमा भारतीय उपमहाद्विपको विशाल भू–भागमा फैलिएको यस सभ्यतालाई मोहनजोदाडो र हडप्पा सभ्यताको नामले चिनिन्छ । मानसरोवरबाट भई भारतको जम्मु कास्मिर हुँदै पाकिस्तानको सिन्ध प्रान्तमा बगेर अरब सागरमा खस्ने यो नदीलाई पाकिस्तानको राष्ट्रिय नदी पनि मानिन्छ ।

हिमालयको फैलावटले पूर्व र पश्चिम दुवै दिशाका समुद्र अरब सागर र हिन्द महासागरसम्म स्पर्श गर्छन् । त्यसभन्दा पश्चिम इराक–इरानतर्फ करिब १६ सय किलोमिटर फैलिएको जाग्रोस हिम शृंखला सुरु हुन्छ ।

हिमवतण्डमा नेपाल भूमिको अत्यन्तै महत्त्वपूर्ण स्थान छ, यस भौगोलिक अवस्थितिलाई हेर्दा हाम्रो देश नेपाल लगभग समग्र हिमवत्खण्डको मध्य भागमा पर्छ । हिमवत्खण्डको सम्पूर्ण ओज थेग्न सक्ने र सिङ्गो विशेषता सादृश्य हुने सानो तर सुन्दर हिमाली देशका हामी नेपाली यसै भूखण्ड निवासी हौँ । हिमवत्खण्डका सम्पूर्ण अवयव यहाँ प्राप्त छन् । यस देशले सम्पूर्ण हिमवत्खण्डको पूर्ण प्रतिनिधित्व गर्ने क्षमता राख्दछ। हिमवत्खण्ड बुझ्न पहिले नेपाललाई बुझ्नुपर्छ ।

यस भूमिको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, आध्यात्मिक र प्राचीन महत्त्व जान्नुपर्छ । यस धरामा उत्पत्ति भएका वैदिक सनातन धर्म, संस्कार, परम्परा, मूल्य–मान्यतासँग एकाकार हुनुपर्छ । त्यसका लागि यहाँ आएर यस भूमिसँग साक्षात्कार हुन जरुरी छ ।

नेपाल एक तपोभूमि हो, जहाँ प्राचीन ऋषिमुनिले हिमवत्खण्ड स्थित यसै पवित्र नेपाल भूमिमा रहेर तपस्या गरे । जुन कुरा हाम्रा विभिन्न तीर्थस्थल तथा ऐतिहासिक ग्रन्थमा सप्रमाण उल्लेख छन् । यसै पनि नेपाल विश्वभर देवभूमि, पुण्यभूमि र तपोभूमिका नामले प्रख्यात छ । यस पूण्यभूमिमा भगवान् शंकरले आफ्नी अर्धाङ्गिनी पार्वतीसँगै रहेर योग तथा तपस्या गरेको हिमालय पर्वत अवस्थित छ, जहाँबाट योगको उदय भएको मानिन्छ । अनेकौँ देवी–देवताको निवास रहेको पवित्र तीर्थस्थल, नदी किनारमा अवस्थित आश्रम यसै पवित्र भूमिमा छ । वेदव्यास रचित चार वेद, गीता, महाभारत आदि (जसमा मानव समाज र सिङ्गो ब्रह्माण्डका बारेमा विज्ञानसम्मत तवरले व्याख्या गरिएको छ,जुन पूर्वीय वाङ्मयका अमूल्य निधि हुन् । तत्त्व ज्ञानी विदेहराजा जनकले राज गरेको मिथिला नगरी र मिथिला सभ्यता, सीताजस्ती पवित्र नारी अनि विश्व शान्तिका प्रणेता भगवान गौतम बुद्धको जन्मभूमि, अष्टवक्र, याज्ञवल्क्य, गार्गीजस्ता प्रकाण्ड विद्वान्–विदुषीका आध्यात्मिक चिन्तनद्वारा निर्देशित समाजका हामी पूर्वीय दर्शनका मूल्य–मान्यता र यसका आदर्शलाई शिरोपर गर्दछौँ र गर्नुपर्दछ ।

हिमवत्खण्डमा पाँच हजार वर्षअ पहिले नै पूर्वीय दर्शन, वैदिक सनातन धर्म र संस्कृतिको प्रादुर्भाव भएको थियो । त्यसैको ज्ञानज्योतिद्वारा आलोकित, आभूषित भएको समाज हो, हाम्रो । महाज्ञानी ऋषिमुनिले स्थापित गरिदिएका यीनै सामाजिक मूल्य–मान्यता, सिद्धान्त, परम्परा, संस्कार र दर्शनद्वारा निर्देशित हुने अहोभाग्य हामीले पाएका छौ ।

यद्यपि हाम्रा प्राचीन धर्म–संस्कृतिमा कतिपय कुराहरु आधुनिक समाजसंग मेल नखाने खालका रुढीवादी परम्परा नभएका भने होइनन् । मनुस्मृतिमा शुद्रलाई ब्रह्माका पाउबाट जन्मेको भनिएको छ । गरुड पुराणमा उल्लेख भएको स्वर्ग र नर्क, पितृमोक्षको सन्दर्भ, अरु अनेकौँ ग्रन्थमा उल्लेख भएका स्त्रीद्वेषी आख्यानलाई आजको समय र चेतनाको दृष्टिकोणबाट हेर्दा कदापि सहमत हुन सकिँदैन । वर्तमान परिप्रेक्ष्यमा यस्ता गलत प्रथाको अन्त्य गर्दै राम्रा विषयवस्तुको विषयमा नयाँ पुस्तालाई दिक्षित गराउन जरुरी छ।

विद्यमान भारतमा तत्कालीन समयमा शंकराचार्यले भन्दै आएको ब्रह्मा द्वितीय नाश्ती’ अर्थात् दुनियाँमा एक ब्रह्मा मात्र सत्य हो, बाँकी सबै मिथ्या हो, ‘अहं ब्रह्माष्मी’ अर्थात् म नै ब्रह्म हुँ भन्ने अद्वैतवादी वेदान्ती दर्शन मार्फत नयाँ भाष्य स्थापित गरिदिए, । त्यसपछि प्राचीन पूर्वीय मूल्य–मान्यता, संस्कार, परम्परा केही फरक मार्गतर्फ मोडिएको पाइन्छ ।

यसबीचमा वेदान्त दर्शन, गीता, ब्रह्मसूत्र, उपनिषद्को भाष्य लेखिए । शक्तिपीठ देवालयमा वेद, चण्डी, गीता, रुद्रीपाठ, हवन, पूजा आदिका प्रक्रिया चलाउने कार्य हुन पुगे । यसै सिलसिलामा वैदिक सनातन धर्मको पुनर्जागरण तथा वैदिक धर्मको व्यवस्था अक्षुण राख्न भन्दै शंकराचार्यले सम्पूर्ण हिमवत्खण्ड क्षेत्रसहित नेपालको पशुपतिको यात्रा गरेको पाइन्छ । सम्पूर्ण वेद, उपनिषद्को ज्ञान हासिल भएका उनीमा तार्किक क्षमता, अद्वितीय विद्वता र वाक्पटुताका कारण विरोधी मतलाई शास्त्रार्थद्वारा पराजित गर्ने खुबी थियो । शंकराचार्यले नै बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा समाहित गरिदिए । यो एक प्रकारले शंकराचार्यको चलाखी थियो भन्ने मत निकै बलियो भएको पाइन्छ । आखिर जेहोस्, विश्वमा मानव सभ्यताको ज्येष्ठ भूमि, ज्ञानोदयको आदिभूमि हो नेपाल । जीवन र जगतको सत्य र तथ्यको उत्खनन् गर्दै ब्रह्माण्डका बारेमा खोज–अनुसन्धान गरिएको धर्ती हो ।


हिमवत्खण्डबाटै प्रादुर्भाव भएको वैदिक वाङ्मयको विपुल ज्ञानको सम्पदा नयाँ पुस्तामा हस्तान्तरण हुन जरुरी छ । चार वेद, षड्दर्शनभित्र अन्तर्निहित विज्ञानलाई उजागर गरिनु जरुरी छ । हिमवत्खण्ड र हाम्रो देशको अन्तर्सम्बन्ध तथा यसको महत्त्वबारे सबैले नबुझिकन जीवन र जगतको परम तत्व पनि बुभ्न सकिन्नयस पवित्र भूमिमा रहेर जीवन निर्वाह गर्ने सबैले सत्यको मार्ग अनुशरण गर्दै आफ्नै माटोमा सिर्जित वैदिक ज्ञान र विज्ञानको प्रवद्र्धनमा लाग्नु आजको आवस्यकता हो ।


हिमवत् खण्ड नेपालको देवभूमि र धार्मिक स्थलको धरोहर हो । आदिशक्ति स्वरूपा महामाया र महादेवको उद्गम स्थलको रूपमा पहिचान भएको नेपाल विभिन्न देवीदेवताको वासस्थानसँगै मानव सभ्यताको उद्गम स्थल पनि हो । विश्वकै ऊँकार जगत हिन्दू र बौद्धको आधिकारिक स्थानका रूपमा हिमवत् खण्डको ठूलो महिमा छ । पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तरमा कैलाशमान सरोवर र गंगासम्मको भूभाग हिमवत् खण्ड हो भने गंगादेखि हिन्द महासागरसम्मको भूभाग भारत खण्ड हो । पहिला नेपालको क्षेत्रफल अहिलेको भन्दा धेरै नै रहेको थियो । पाँचौं शताब्दीतिर चन्द्रगुप्त विक्रमादित्यका छोरा समुद्र गुप्तको प्रयाग अभिलेखमा कामरूप (आसाम) र कर्कपुर (कुमाउ र गढवाल क्षेत्र) को हिमवत् खण्ड नेपालको भनी लेखिराखेकाले पनि यो तथ्यको पुष्टि हुन्छ । हिमवत् खण्ड नेपालको विषयलाई लिएर ऋषि वशिष्ठले उपनिषद्मा उल्लेख गरेका छन् । उनले –‘भारतखण्डे उत्तरायणे हिमालय तटय स्वर्णभूमि स्वर्ग भूमि ।’ कालिदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो,भनिएको छ ।

नेवार समुदायमा सिलाचः¥हे (शिवरात्री) पाहाँचः¥हे (पाहुना खुवाउने चतुर्दशी) र बालाचः¥हे (बालाचतुर्दशी)मा आफ्नै मौलिकपनद्वारा मान्दै र पुज्दै आएका छन् महादेवलाई ।उनै महादेव हुन् देवहरुका पनि देव । सृष्टिकर्ता र संहारकर्ताको रुपमा चिनिने महादेवलाई देवताहरुको पनि देवता भनिन्छ। देवताहरु ती हुन्। जसले दिने मात्रै गर्दछन्। जो प्रकृतिको शाश्वत सत्य र नियमसंग सम्बन्धित छन्। जस्तै वायु देउता, जल देउता अग्नि देउता आदि हुन्। मानव लगात समस्त प्राणीहरुको कल्याणका लागि यी देवताहरुले दिन्छन्। तिनै देवताहरुको पनि भूमि हो नेपाल । जो आदि अनादिकालदेखि आफ्नै पहिचान र अस्तित्वमा विकास भएको छ ।

यस भूमिलाई तपोभूमिको रूपमा विश्वका हिन्दू र बौद्धहरूले मान्ने गर्दछन् । पशुपति महादेवलाई शिव, किरातेश्वर, शंकर, रुद्र, शम्भु, ज्योतिर्लिंग आदि विभिन्न नामले पुकार्ने गर्दछन् । महादेवको तेस्रो आँखा छ, यसलाई ज्ञानचक्षु भनिन्छ । महाभारतको युद्ध समाप्त भएपछि हिमालयतर्पm जाँदा पाण्डवले प्रायश्चितको रूपमा पशुपतिनाथको पूजा गरेको किंवदन्ती छ ।लिच्छवी वंशका पहिलो राजा विक्रमादित्यको उपाधिधारण गरेर विक्रम संवतको उत्थान गरी ‘वैशालीधिपति’का रूपमा पशुपति र बज्रयोगिनीको तपस्या गरेका थिए । राजाहरुले शक्तिप्राप्तिका लागि देवी देवताको पूजाआजादेखि मन्दिर बनाउने गरेको देखिन्छ ।

नेपालमा गोपाल वंशदेखि शाह वंशसम्म शक्ति आर्जन र सुरक्षाका लागि देवीदेवताका मठ मन्दिर बनाएको पाइन्छ । पछिल्लो मध्ययुगमा आएर कथित राजालाई भगवान विष्णुको अवतार भएको मिथ्या तर्क गर्न थालियो । भगवान विष्णु र कुनै राजारजौटाको कतै साइनो छैन । बरु, राजाहरुले आफ्नो राज्य सुरक्षित बनाउन मठ मन्दिर बनाएको पाइन्छ। पृथ्वी नारायण शाहले उपत्यका जित्नावित्तिकै कुमारीको आर्शिरवाद लिएका थिए। जुन उनको चलाखी पूर्ण कदम थियो । गुरु गोरखनाथको पूजा अर्चना र आरधना उनले गरेका थिए। उनै गुरु गोरखनाथको आशिरवादले नेपाल एकीकरणमा उनी विजय भएका थिए । जसलाई अहिले पनि ज्ञानेन्द्र शाहले पूजा गर्ने गर्दछन्।

२०६५ जेष्ठ १५ गते नेपालबाट अढाइ सय वर्षे शाहवंंशीय परम्पराको समूल अन्त्य भएको हो । गणतन्त्र स्थापनाको १६ वर्षपछि ज्ञानेन्द्र शाह गोरखा पुगेर गुरु गोरखनाथको पूजाआजा गरेका थिए । यसैबाट पनि प्रष्ट हुन्छकी वैदिक सनानती सभ्यता,संस्कृति र समाजसंगै कुनै पनि राजाहरुको साइनो छैन। बरु उनीहरुले आफ्नो सत्ता टिकाउन हाम्रा प्राचीन देवालयहरुको दर्शन गर्ने गर्दछन्।

पौराणिक कालदेखि नै नेपालका राजाले पशुपतिको पूजा, आराधना र सम्मान गर्दै आइरहेको देखिन्छ । पौराणिक कालमा नेवार राजोपाध्यायले पशुपतिनाथको पूजाआजा गर्दथे । विक्रम सम्वत १७१४ सालपछि राजोपाध्यायले सहयोगका लागि बनेपाबाट नेवार जातिका पुजारीलाई पशुपतिको भण्डारे बनाइएका थिए । त्यसपछि यक्ष मल्लको कर्नाटकका राजासँग सम्पर्क भएपछि कर्नाटक राजाले सहयोग स्वरूप तान्त्रिक ज्ञानानन्द र लुम्भवर्ता भट्टलाई पठाएको र पछि उनै तान्त्रिक भट्टहरू पशुपतिनाथको पुजारी बनाइएको हो । १४ सय सालतिर बंगालका नवाब सुल्तान समसुद्धिनले पशुपति क्षेत्रमा बसेर पशुपति क्षेत्रको जीर्णोद्वार र पुनरुत्थान गरी पशुपति पारी राममन्दिर निर्माण गरेका हुन् । राजा जयस्थिति मल्लले ललितपुरमा कुम्भेश्वर महादेवको स्थापना गरेर कोटीहोम गरी शुद्ध शान्ति गरेका थिए । त्यही बेलादेखि पशुपतिको मन्दिरभित्र हिन्दू र बौद्ध बाहेक अन्यलाई प्रवेश निषेध गर्ने नियम चलाइएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  १२ : ११ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित