सहकारी ठगी प्रकरणले नेपाली समाज र यहाँको राजनीति तातेको मात्रै छैन। यसैको नाममा हर नेपालीको मत बाझिएको छ र मन फाटेको छ। समाजलाई हामीले एकीकृत गर्दै अघि बढाउन र व्यवस्थित गर्न कानुनी सर्वाेच्चतालाई स्वीकार मात्रै गरेनौ, आज मुलुकमा कानुनी अभ्यास पनि भइरहेको छ।
कानुनी साक्षरता पर्याप्त नभएपनि कानुन सबैका लागि बरोबर हो भन्ने चेतना लगभग सबैमा पुगेकै छ। भलै,शक्तिमानहरु अझै कानुनमाथि नभएका भने होइनन्। गिरीबन्धुदेखि शेरादरबार र नक्कली भुटानी शरर्णाथीदेखि वाइडबडी घोटालाका खलनायकहरु राज्यको उपल्लो तहमा अहिले पनि छन्। यो कुरा सचेत वर्गलाई जानकारी पक्कै होला ।
तर, पृथ्वी गोलो छ भने झै जब सत्ताको चर्खा घुम्दै आउँछ, तब यी शक्तिमानहरु पनि कानुनी पञ्जाामा पर्ने पक्का छ, र पर्नुपर्छ पनि । यो कुरा हाम्रो जस्तो समाजमा मात्रै लागू भएको होइन। आधुनिक विश्व समाजमा पनि यस्तै भइरहेको छ। अझ भनौ प्रजातान्त्रिक मुलुकहरुमा कानुनी शासन बलियो हुन्छ। त्यसको लागू र परिपालना के कसरी भएको छ र हुन्छ, भन्ने कुरा त्यो देश र समाजको कानूनी चेतनासंगै नैतिक प्रश्नहरु पनि जोडिएका हुन्छन् । त्यो समाजको चेतनास्तरले तय गर्ने विषय हो ।
नयाँ संविधान आएयताको समय अवधिलाई पल्टाएर हेरियो भनेपनि हाम्रो देशमा उपप्रधानमन्त्री र गृहमन्त्री भैसकेका मानिसहरु पनि प्रहरी खोरमा पुगेका छन्। रवि लामिछाने, बालकृष्ण खाँण र टोपबहादुर रायमाझी जस्ता मानिसहरुले जेलको हावा नखाएका होइनन्। उनीहरुले दण्ड र सजाय कति भोगे र कति भोगिरहेका छन् भन्ने कुरा अलग होे । शक्तिकै आडमा उन्मुक्ति पाएपनि उनीहरु कानुनको राडारमै हुन्छन् र छन् पनि । उदाहरणका लागि जस्तैःकांग्रेसको बाकृष्ण खाँणहरु अहिले जेल बाहिर भएपनि जेलले उनीहरुको प्रतीक्षा गरिरहेको छ। जुनदिन ओली –देउवाको कब्जामा पुगेको राज्यसत्ता ढल्छ, त्यसदिनदेखि बालकृष्णहरु पुनः जेल यात्रातिर हुन सक्छन्।
यी सवाल नेपालको समकालीन र सन्दर्भका विषयहरु भए।तर, गलत तर्कलाई स्थापित गरेर अर्काको बदनाम अर्थात मानहानी गरेपछि त्यसले अवस्यपनि दुखान्त नतिजा ल्याउँछ, कानुनी राज्यमा । सधै शक्तिको ओतले साथ दिदैन किनकी, लोकतन्त्र भनेको चक्र हो जहाँ सत्तामा थरी थरी आउँछन्, अनि जान्छन्। किनकी सत्ता स्थायी होला,पावर स्थायी हुदैन । यसैमा पनि हाम्रो जस्तो समाजमा त कानुनको आडमा टेकेर प्रतिशोध साँध्ने प्रवृत्ति निकै मौलाएको छ। जुन झन् ठूलो जघन्य अपराध भएको कानुन जानकारहरुले बताउँछन्।
अब शुरु गरौ, अधिवक्तामाथि हात –पात र रुडी जुलियानी ‘डिफेमेसन’ प्रवृत्तिको प्रसंग । प्रारम्भमा शुरु गरौ, को हुन्, रुडी जुलियानी ? किन उनको नाम विश्व राजनीति र कानुनको प्रसंगमा धेरै पटक दोहोरिन्छ त ?पक्कै पनि यहाँ केही अनुभव र यथार्थजन्य घटना छ। यहाँ पंक्तिकारले यही विषयको चर्चा गर्न गइरहेको छ। हुन त पंक्तिकार कानुन विद् पनि होइन, न त राजनीतिक विश्लेषक हो। पंक्तिकार मामुली पत्रकार भने पक्का हो । यही मामुली पत्रकारको धरातलमा उभिएर प्रवृत्तिगत चरित्र र चित्रलाई उतार्न कोशीस गरिएको मात्रै हो। आग्रह पनि गर्दछु,थोरै धेर्य गरेर यथार्थ घटनालाई बुझ्ने कोशीस गर्नुहुनेछ भन्नेमा ।
रुडी जुलियानी बरिष्ठ अमेरिकन अधिवक्ता हुन्। यति मात्रै होइन, उनी सन १९९०देखि २००१ सम्म न्यूयोर्कको मेयर समेत भएका थिए । राजनीति र कानुनी व्यवसायमा संलग्नतामा रहदै आएका उनी करिब करिब अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने हैसियत बनाएका अमेरिकन लब्ध र प्रतिष्ठित कानुन व्यवसायी हुन्। राम्रो उचाइ हासिल गरेका उनी भने राजनीति र कानुनलाई खिचडी बनाउँदा त्यसैको पासोमा फसे। जुन पासो उनको जीवनकालको सबै भन्दा अपृय बन्यो । उनको यही प्रर्वत्तिगत सन्दर्भ नेपालको पछिल्लो घटनासंग हु –बहु ठ्याक्कै मिलेको देखिन्छ। खास कुरो के हो,भने रुडी जुलियानीले कानुन र राजनीतिलाई मिसाउँदा उनले ८० वर्षको उमेरमा अकल्पनीय सामाजिक तथा आर्थिक क्षति गुमाउनु परेको छ। रुडोल्फ विलियम लुइिस जुलानीले सन २०२० को अमेरिकी निर्वाचनमा उनले ट्रम्मलाई सघाएका थिए। जर्जियाको निर्वाचनको नजितालाई गलत तर्क र व्याख्या गरेका थिए । सजिलो अर्थमा भन्नुपर्दा उनले राजनीतिक स्वार्थमा कानुनलाई मिसाउँदा यस्तो नियती भोग्न परेको हो । सन २०२४ मा त्यहाँको अदालतले उनलाई अफवा फैलाएर अर्काको मानहानी अर्थात डिफेमेसन गरेको दोषमा १४८ मिलियन अमेरिकी डलर जरिवाना तिराउने फैसला गरेको थियो । अब उनले फैसला अनुसार जरिवाना तिर्नु पर्ने भएको छ। उनले अहिलेसम्म आर्जेका धन सम्पत्तिले पनि नपुग्ने देखिएको छ। यो सत्य घटना हो।
हो, ठ्याक्कै यही प्रवृत्ति देखिएको छ, पछिल्लो समय नेपाली समाजमा पनि । अधिवक्ताहरुले पेशागत मर्यादा, त्यस्को गहिराइ र उचाइको ख्याल नगर्दा रुडी जुलियानी बन्न बेर नलाग्न सक्छ । कालो कोटभित्र काला कर्तुत गर्न कसैलाई पनि छुट छैन। कानुन व्यवसायीहरु माध्यम मात्रै होइन, अन्तिम फैसला गर्ने उनीहरुको अधिकार पनि होइन दायित्व पनि होइन । तर, यहाँ त सबै मर्यादा र मर्म विर्सिएर अपव्याख्या गर्ने खराब प्रवृत्ति छ। यो आरोप होइन, यथार्थ हो ।
संसारभर भएका कानुनी अभ्यास र नजिरहरु हाम्रा लागि सन्दर्भ सामग्री बन्न सक्छन्। हाम्रो मौजुदा कानुन , सामाजिक प्रवृत्ति परिवेश र प्रविधि अनुसार केही कानूनी प्रबन्धहरु पनि कमी होलान्। तर, कानुनको वकालत गर्ने हैसियत बनाएका मानिसहरु नै विवेक भन्दा आवेग , संयमता भन्दा उत्तेजनाको बलमा तर्क र तथ्यलाई जबरजस्ती स्थापित गर्न खोज्दा रुडी जुलियानी बन्न धेरै बेर नलाग्ने भएको हो । हिजो अर्थात गएको बुधबार काठमाडौ जिल्ला अदालत परिसरमा जे जस्तो घटना भयो। त्यो एउटा नेपाली जुलियानी प्रवृत्तिगत उदाहरण हो ।
यद्यपि अधिवक्ताहरु सम्मानित छन्। उनीहरुमा विवेक र विचार हुन्छ। कानुनी विचार र विवेकको माध्यमबाट सत्यको उत्खनन् गर्नुपर्ने अनिवार्य दायित्व हो उनीहरुको । यो कुरा पनि कदापि भुल्न हुँदैन कि , राजनीतिक दलका कार्यकर्ता या नेताले जस्तो गलत र झुठको तर्क गरेर अर्काेलाई होचो देखाउने प्रवृत्ति अधिवक्ताहरुमा देखिनु भएन । पेशागत धर्म,दायित्व, कर्तव्य र नैतिकताको कसीमा उभिएर सत्यको वकालत गर्नु कानुनव्यवसायीहरुको मुख्य धर्म हो जस्तो लाग्छ, पंक्तिकारलाई ।
राजनीतिक विचारको छत्रछायाँमा उभिएर प्रतिशोधी भावनाले उत्प्रेरित भएर उत्तेजना फैलाउने हो भने, काठमाडौ जिल्ला अदालत अगाडि बुधबार भएको घटना अझै फेरि दोहोरिन सक्छ। बुधबार सहकारी ठगी प्रकरणको मुद्दामा काठमाडौ जिल्ला अदालतमा बहसमा पेश भएका तर्क ,वितर्क र प्रतिशोधी भावनाकै नतिजा हो भन्ने हामीलाई लागेको छ। यति भनिरहँदा कानुन व्यवसायीहरुप्रति पंक्तिकारको उच्च सम्मान यथावत नभएको भने होइन।तर, प्रश्न यो होकी हामी कानुनको किताब पढेर बहस गरिरहेका छौ की दलको दस्तावेज पढेर वकालत गरिरहेका छौ?यो हो,मुलभुत विषय र चरित्रको सवाल । यसैलाई हामीले सर्लक्कै विर्सिएर उत्तेजित भएपछि त्यसको परिणाम आफ्नै टाउकोमाथि बजारिदो रहिछ भन्ने कुराको सिद्ध भएको छ, बुधबारको घटनाले ।
पंक्तिकार घटनाप्रति दुःख व्यक्त गर्दै संलग्नहरुमािथ कडा कारबाहीको माग पनि गर्दछ। एउटा सचेत नागरिकले विधि र पद्धतिको शासनको अपेक्षा गरेको हुन्छ। यो अपेक्षा आम नागरिकको हो, लोकतन्त्र र विधिको शासनमा । तर, बुधबारको घटनामा जे जस्तो प्रवृत्ति र चरित्र देखियो, यसले आफ्नो पेशागत मर्यादा, सीमा र सिद्धान्तलाई कुल्चिएको देखिन्छ। कानुन व्यवसायी भनेका मामुली मानिस होइनन्। उनीहरुसंगै विवेक बुद्धि, तर्क र दृष्टिकोण हुन्छ। उनीहरु कानुनी अगुवा पनि हुन्। कानूनी राज्यमा उनीहरुको अहम र अनुशासित भूमिका पनि हुन्छ । तर, यति महत्वपूर्ण हैसियत भएर पनि भीडसंगै सिंगौरी खेल्नु यो अपरिपक्वता पनि हो ।
घटना खेदपूर्ण छ। तर, त्यसको कथा र करणीको भित्री अंश फरक देखिन्छ। यहाँ मुख्य चर्चा गर्न खोजिएको विषय पनि यो होकी कानुन व्यवसायीहरुले कानुनी तर्क, विश्लेष्ण र विचार निर्माण गर्ने कि दलको दस्तावेजको फर्मानमा वकालत गर्ने ? यही हो अहम प्रश्न । यदि यो प्रश्नको गहिराइ र मर्म बेलैमा नबुझे अमेरिकन कानुन व्यवसायी रुडी जुलियानीको जस्तै नियती भोग्ने पर्ने दिन नआउला भन्न सकिन्न । कालो कोट लगाएकै भरमा कानुनले गलत मनशायलाई कदापि छोड्दैन भन्ने कुरा अधिवक्ता ज्यूहरुले पक्कै पनि गहिरो गरी बुझेको हुनुपर्छ ।
तर, यति भनिरहँदा कानुन व्यवसायीहरुमाथि भएको हिंस्रक हमलालाई कदापि सही मान्न सकिन्न। कानुनी राज्यमा एक जना कानुनी व्यवसायीलाई बल प्रयोग गरेर उसको विवेक र बुद्धिमाथि ताला लगाउने दुस्साहस गर्नेहरु यो समाजका सबै भन्दा खराब पात्रहरु हुन्। उनीहरुमा न विवेक देखिएको छ, न त संयमता अनि धैर्ययता । उनीहरुको क्षमता भनेकै नै विवेकहिन प्रदर्शन हो। हुलहुज्जद गरेर अर्कालाई ठीक पार्ने यस्तो प्रवृत्ति हाम्रो समाज र व्यवस्थाका लागि गोमन सर्प झै बिखालु हुन सक्छन्। यी र यस्तो गोमन प्रवृत्तिलाई कानुन अनुसार दण्ड र सजाय दिन राज्यले कदापि बिलम्ब नगरोस्।