सामाजिक अराजकता र भड्काउपूर्ण अभिव्यक्ति दिदै हिडेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यरातमा पक्राउ परेका छन् ।
आफूलाई राष्ट्रियता, धर्म(संस्कृति र नागरिक बचाउ महाअभियान्ता दाबी गर्ने प्रसाईं मध्यरात पक्राउ परेका हुन्।
यही मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं अहिले मध्यरातमा भक्तपुरको ठिमीस्थित आफ्नै निवासबाटै पक्राउ परेका हुन्।
उनले पक्राउ गरेको कुरा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन् । उनी जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा उनी पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ।
आन्दोलनको घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ।
उनले यही मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरुलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।
सोमबार मात्रै पनि प्रसाईंले भक्तपुरमा युट्युबरहरूसंग कुरा गर्दै आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएकाले पूर्वघोषित आन्दोलन नरोकिने बताएका थिए ।
उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखेका थिए ।
त्यस्तै प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए ।
आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत सङ्ग्रह गर्नुपर्ने उनको भनाइ थियो । प्रसाईं नेतृत्वको एक समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ । उनको मागका सम्बन्धमा गएको कात्तिक २६ गते गृह मन्त्रालयमा वार्ता समेत भएको थियो । तर उक्त वार्ता निष्कर्षविहीन भएको थियो ।








