१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मेयर रेणु दाहालको ‘सडक क्रान्ति’, आठ वर्षमा एक हजार ६५ किलोमिटर सडक कालोपत्रे


२ भाद्र २०८२, सोमबार  


मध्य नेपालमा पर्ने चितवनको भरतपुर महानगरपालिका राजनीतिले मात्रै चर्चित छैन, भौतिक विकासकाे उन्नतिले पनि सबैकाे ध्यान खिचेको छ।

विशेषगरी २०७४ यताको अवधिमा सडकमा ठूलो क्रान्ति भएको हाे । संघीय शासन यता दुईवटा स्थानीय निर्वाचन सम्पन्न भए। ती दुबै निर्वाचनमा रेणु दाहाललाई भरतपुर महानगरबासीले मत दिए।

रेणु दाहाल दुई पटक मेयर भईन्। उनको दुई कार्यकाल मध्ये यति बेला दोश्रो कार्यकाल चलिरहेको छ। दुबै कार्यकालको यो आठ वर्षमा उनले सडकमा ठूलो क्रान्ति ल्याएकी छिन्।

गएको आठ वर्षमा भरतपुर महानगर भित्र एक हजार ६५ किलोमिटर कालोपत्रे सडक बनेको छ । महानगरका २९ वटै वडा कालोपत्रे सडकले जोडिएका छन् ।

वडा नम्बर १ देखि २९ सम्म पुग्न अहिले ३० मिनेट समय भए काफि हुने स्थानीय बताउँछन् ।सडक ६ मिटरदेखि १६ मिटर चौडाइसम्मका छन्। यसबाहेक संघ र प्रदेश सरकारमार्फत करिब दुई सय किलोमिटर सडक थप बनेका छन्।

महानगर प्रमुख रेणु दाहालको नेतृत्वमा पहिलो कार्यकालमा ६ सय२२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। दोस्रो कार्यकालको तीन वर्ष अवधिमा थप ४ सय ४२ किलोमिटर सडक बनेको हो । यही गतिमा कालोपत्रे सडक निर्माण भए दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किलोमिटरभन्दा बढी सडक बन्नेछ ।२०८४ सम्म साढे १३ सय किलोमिटर कालोपत्रे सडक हुनेछ ।

सम्भवतः सडकमा ठूलो क्रान्ति ल्याउने भरतपुर महानगर पहिलो हुन सक्छ। बजेट खर्चको मूल्यांकनमा पहिलो भएको महानगर सडकमा पनि पहिलो भएको हो। दोश्रो कार्यकालमा महानगर हाँकिरहेकी रेणुले भनिन्, सडक नै पहिलो पूर्वाधार हो सडक विकासका अन्य आयामलाई जोड्छ, समय र लागतलाई बचत गर्छ ।

भरतपुर महानगरले अहिले सडकलाई हरियालीसहित सौन्दर्यीकरण गर्ने नीति लिएको छ ।निर्माण भएका सडकको दायाँ–बायाँ वृक्षरोपण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि संघीय सरकारसँगको पहलमा निर्माण भइसकेको छ ।

महानगरभित्र मंगलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ संघीय सरकारको बजेटमा निर्माण भएको हो । महानगरको चक्रपथ ८८ किलोमिटर छ । यहाँ सडक बनाउने मात्रै होइन, सडक सौन्दर्यीकरणका लागि पनि उत्तिकै ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । बाँकी १५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको महानगरले बताएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : १४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित