तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडकाले जग्गा नापजाँचका नाममा जनतासंग अनावश्यक पैसा असुल गरेकोमा पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
नापजाँचमा खटिएका प्राविधिकहरूलाई सेवा सुविधा र खाना खुवाउने नाममा कतिपय टोल विकास संस्थहरुले आफ्नो क्षेत्रमा रहेका गरिब विपन्न जनतासँग पैसा उठाइरहेको अपुष्ट खबर आएको बताउँदै खडकाले यस्तो गरेको पाइएमा टोल विकास संस्था खारेज गर्नेदेखि त्यसको नेतृत्व गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने बताए।
‘सरकारलाई तिर्नुपर्ने आवश्यक राजश्व बाहेक अरु पैसा दिनुपर्देन । सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीको जग्गा नापजाँचका लागि सरकारले नै कर्मचारी खटाएको छ । तपाइको जग्गा नापजाँच गरे वापत तपाइहरुले एक रुपैयाँ पनि तिर्नुपर्दैन । कसैले पैसा मागेमा पालिकाको सूचना अधिकारीको मोबाइल नम्बर ९८५७८२५३०७ मा फोन गरेर खबर गर्नुस् । त्यसको छानबिन हामी गछौँ । तपाईँको नाम समेत गोप्य राख्छौ ।’
निस्सा प्राप्त गरेका, नगरेका, सुकुमबासी, दलित तथा अव्यवस्थित बसोवासीको फारम भरेका नभरेका सबैको जग्गा नापजाँच हुने भएकाले ढुक्क हुन मेयर खडकाले आग्रह समेत गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका –६ नम्बर वडाको नापजाँच सम्पन्न गरेर अहिले ५ र १२ वडामा जग्गा नापजाँचको काम भइरहेको तुलसीपुर उपमहानगरपालिका नाप नक्सा इकाई शाखाका सर्वेक्षक रितेश बस्नेतले जानकारी दिए।
आयोगले नापनक्साका लागि तुलसीपुरमा ५ जना कर्मचारी खटाएको छ । नापजाँचमा खटिएका उनीहरुलाई सम्बन्धित टोलमा सामान्य खानाको व्यवस्था गर्ने भनिएको छ । जसका कारण नापजाँचमा सहजता र छिटो छरितो होस भन्ने उद्देश्य लिइएको छ । तर, यसलाई कतिपय टोल विकास संस्थाले ठगिखाने भाँडो बनाएको व्यापक गुनासो आएपछि उपमहानगरको ध्यानाकर्षण भएको मेयर खड्काले बताए ।








