दाङ कांग्रेसले अनौठो रोइलो गरेको छ। उसको यस्तो रोइलो भने घोाराही उपमहानगरपालिकाले चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको कर वृद्धिको विषय हो। आर्थिक वर्ष आधा भन्दा बढी अवधि सकिएपछि उसले यस विषयमा आपत्ति जनाएको हो ।
जबकी यो निर्णय गएको असारमा सम्पन्न नगरसभाबाट पारित भएको हो । त्यत्तिबेला कर वृद्धिको विषयमा ताली बजाएको कांग्रेसले यतिबेला जनताको ढाड सेकेको भन्दै अनौठो गाइँजात्रा देखाइरहेको छ। कांग्रेस जस्तो जिम्मेवार र पुरानो पाटीका नेता कार्यकर्ताको यो केटाकेटी शैलीले सबैलाई अचम्मित बनाएको छ।
कांग्रेसको यो गाईजात्राको विषयमा घोराही उपमहानगरपालिका वडा नन्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले कडा टिप्पणी गरेका छन्। उनले सामाजिक सन्जालमा पोष्ट गर्दै भनेका छन्, “नगरसभामा कांग्रेसबाट निर्वाचित पाँच वडाध्यक्षले सबै भन्दा पहिलो ताली बजाएर पारित गरेका थिए। अहिले आएर बाहिर नाटक गर्ने काम नगरौ। यदि दम छ, भने आफ्नै दलबाट निर्वाचित वडाध्यक्षसंग स्पष्टिकरण सोधौ ।”
करको विषय नौलो पनि होइन। जुन कुरा गएको असारको नगरसभाबाट पारित भएर कार्यान्वयनमा गैसकेको छ। त्यो पनि पाँच वर्षपछि कर वृद्धि गरिएको हो । यस्तो कर जग्गाको भाउ अर्थात वर्गिकरण अनुसार गरिएको छ। अर्थात जग्गाको मालपोत कर २० प्रतिशत वृद्धि भएको हो । यस अघि एक कठ्ठाको वार्षिक कर पाँच सय रुपैया तिदै आएकोमा अब त्यही जग्गाको कर ६ सय तिर्ने गरिएको छ। घोराही आफैमा शहर हो ।
शहरको जग्गाको भाउ पनि उत्तिकै बढेको छ। एक कठ्ठा जग्गाको मूल्य अब मुख्य बजारमा करोड करोडमा गएका छन्। ती जग्गाको मूल्य अनुसार कर निर्धारण गरिएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । नगर प्रमुख चौधरी भन्छन्, “समय र जमाना अनुुसार जग्गाको कर वृद्धि भएको हो । बजारमा जग्गाको भाउ करोडमाथि पुगेको छ। ती जग्गाको मूल्य करोड पुग्दा मालपोत १० बाट २० भएको हो । यो कर वृद्धि न्यायोचित छ। जग्गाको भाउ अनुसार सबैले कर तिरिरहेका छन्। यतिबेला आएर विरोध गरिएको छ, जुन अचम्म लाग्दो देखिएको छ।”
नेपाली कांग्रेस दाङ प्रदेश क्षेत्र नम्बर २ ले घोराही उपमहानगरपालिकाले घर जग्गालगायत विभिन्न क्षेत्रमा गरेको कर वृद्धि गरको भन्दै विरोध गरेको छ। प्रदेश क्षेत्रीय सभापति प्रकाश श्रेष्ठको नेतृत्वमा कांग्रेसले घोराही उपमहानगरपालिकाले कर वृद्धिको नाममा नागरिकको ढाड सेक्ने काम गरेको भन्दै निर्णय सच्याउन माग गरेको हो ।घर जग्गा व्यवसायी र विभिन्न व्यवसाय गरी जीपिकोपर्जन गर्ने आम व्यवसायीको ढाड सेक्ने गरी हचुवाको भरमा गरिएको कर वृद्धिको घोर भ्रत्र्सना गर्ने निर्णय भएको सचिव शिशिर अधिकारीले बताएका छन्। कांग्रेसको विरोधको विषयमा हामीले कांग्रेस नेता शंकर डाँगीलाई यस विषयमा बुझ्न सम्पर्क गरेपनि उनी सम्पर्कमा आएनन्।