७५ वर्ष भो,प्रजातन्त्र आएको। यतिबेला लामो अवधिमा देशले नेता पायो,नेतृत्व पाएन। वीपी,पुष्पलाल, मदन र मनमोहन बाहेक अन्य गणनामा देखिन्न कतै पनि ।
हामीले अहिलेसम्म पाएको नेता देश बनाउने होइन,पार्टी बनाउने र कार्यकर्ता चलाउने मात्रै छन् ।देश रित्त्याएर पार्टी र कार्यकर्ता पोस्ने नेताकै कारण पटकपटक विद्रोह भइरहेको छ। यद्यपि हामीकहाँ मुलुक चलाउने नेतृत्व कस्तो हुनुपर्छ भन्नेमा बहस सुरु नभए पनि परिणामको अपेक्षा भने गरिँदै आएको छ।
देशमा अहिलेसम्म भएका प्रत्येक आन्दोलनपछि नेतृत्वको विषयमा जबर्जस्त बहस हुन्छ ।नेतृत्व बनाउने भन्दा नेतृत्वको रूपको विषयमा यस्तो र उस्तो भनेर बहस हुन्छ । नेतृत्वले यसो गरेको भए यो स्थिति आउँदैनथ्यो आदि इत्यादि भइरहन्छ। तर, जब आन्दोलन मत्थर हुदै जान्छ। तब नेतृत्व यस्तो र उस्तोको विस्मृतिमा ओझेल पर्छन् । साच्चिकै भन्ने हो, भने अहिलेसम्म कस्तो नेतृत्व चाहिन्छ भन्नेमा ठोस बहस भएकै छैन । आन्दोलनको राप तापमा हामी नेतृत्व खोज्छौ, नेतृत्व खोजिने विषय होईन ।याे समाजले निर्माण गर्ने विषय हो। जेनजी आन्दोलनपछि फेरि नेतृत्व कस्तो भन्ने बहस छ।तर, यो बहस पनि विगतको जस्तै सतही र क्षणिक छ।
नेपाली समाज पनि आफैमा तरल छ। यो समाज छिटो प्रभावित हुन्छ । पछिल्लो समय सञ्जालको विकासले सूचनाको तीब्र प्रवाह भइरहेको छ।यही तरल र अस्थिर समाजलाई सञ्जालबाट छिटो प्रभावित पार्न सक्छ। तथ्य कुरा भन्दा कथ्य कुराका पछि समाज दौडिरहन्छ। दुर्गा प्रसाईं,रवि लामिछाने,ज्ञानबहादुर शाही र हर्क साम्पाङहरू सञ्जालबाट हिरोईजम उपाधि पाएका हुन्। काम भन्दा पनि हल्ला धेरै गरेर समाजलाई तरंगित बनाईरहेका छन् ।
लोकृपयतमावादको डरलाग्दो हावा हुन्डरी चलिरहेको छ।यतिसम्म छकि कलौटेहरूले पनि निर्वाचन जित्न सक्ने स्थिति छ।एकातिर लोकपृयतावादको हा हा हुहु छ भने अर्कोतिर एकमनावाद र वंशाणुगत परिवाद छ।परिवारवाद अर्थात् नेपोटिजमकै कारण जेनजी विद्रोह भएको हो। गएको भदौ २३ र २४ को आ न्दोलनले ओ ली अहंकारको सत्ता ढल्यो। परम्परागत शक्तिहरू विद्रोहको लप्काले रक्षात्मक बन्दै किनाकृत भए भने जेनजी पुस्ताले परम्परागत परिवारवादी शक्तिलाई सत्ताको घोडाबाट खसालेपनि नयाँ नेतृत्वको आकार दिन सकेको छैन ।
अलमल र दोधारमा राजनीति चलिरहेको छ। भ्रष्ट सत्ता र नयाँ शक्तिबीचको चर्को संघर्ष छ। नयाँ शक्तिको रेफि काठमाडौ महानगरका मेयर हुन् भने ओली देउवा र प्रचण्ड अझै पदमा छन् । गुमेको सत्ता फर्किएला भन्दै विस्तारै घुर्की दिन थालेका छन् ।नयाँले नेतृत्व स्थापित नगर्ने हो,भने उनै बुढ्यौली फर्किने खतरा छ।जेनजी आन्दोलनलाई ओ लीले खुइलाउन थालेका छन् । लुकेका कार्यकर्ता बाहिर निस्कन उर्दी जारी गरेका छन् ।आन्दोलनले व्युझिएका क्रमश आ–आफ्नै ध्याउन्न तिर लाग्ने स्थिति देखिन्छ र परिवर्तनका एजेन्डासहित नयाँ नेतृत्व निर्माण नभइ तुहिने जोखिम छ ।
समाजले चाहेको राजनीतिक नेतृत्वमा कस्ता गुण हुनुपर्छ भन्ने विषयमा आधुनिक राज्यव्यवस्था सुरु हुनुअघिदेखि नै बहस नभएका भने होइनन् । गीता जस्तो महाग्रन्थमा निस्वार्थ, निष्ठामा काम गर्ने, साहस र लचिलोपन भएको र व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई माथि राखेर काम गर्ने मानसिकता भएको व्यक्तिले शासन गर्नुपर्ने आदर्श राखेको पाइन्छ । भगवान् कृष्ण शास्त्र (नीति), धर्म (सदाचार)र कर्म (कर्तव्यपरायणता)लाई शासनका गुण मान्थे । वेदले त न्याय, सत्य र सत्मार्गमा हिँड्ने नेता मात्र सफल हुन्छ भनेको छ ।
धर्मशास्त्र, प्राचीन ग्रन्थ र श्रुति–स्मृतिहरूमा आदर्श समाज व्यवस्थाका आदिम विधिसिद्धान्त थिए र सार्वजनिक जीवनलाई मार्गदर्शन गर्थे । आधुनिक राज्यव्यवस्थामा विधि र व्यवस्था हुन्छ । आधुनिक राज्यव्यवस्थाका परिकल्पनाकार प्लेटोले नेता वा शासक बन्न तीन गुण निर्धारण गरेका थिए, पहिलो जहाजको क्याप्टेन जस्तो राष्ट्र हाँक्ने क्षमता भएको, दोस्रो यथार्थपरक दृष्टिकोण भएको र तेस्रो गुरु जसरी शिक्षा, संस्कार र साहसको अभिभावकत्व लिने क्षमता भएको । यी तीन गुण भएको शासकलाई प्लेटोले दार्शनिक राजा अर्थात नेता भनेका थिए ।
पूर्वीय चिन्तनले पनि आदर्श नेतृत्वमा महत्व दियो, पश्चात्यले विधिले आदर्श नेतृत्व निर्माण गर्छ भन्ने मान्यता राख्यो । दुवैका केन्द्रमा नागरिक छन् । नागरिक विश्वासभन्दा पर नेता र नीति रहन सक्दैन भनिएका छन् ।
संसारको सबैभन्दा उन्नत व्यवस्था लोकतन्त्र हो लोकचन्त्रमा लोकको हित गर्न नसक्ने, जनताका आवश्यकता अपेक्षाबाट निरपेक्ष रहने व्यक्ति कदापि नेता हुन सक्दैन । जनताको विश्वास लिएर सार्वभौमसत्ता वरण गर्ने व्यक्ति उत्तरदायित्वको पुञ्ज हुनुपर्छ ।
हाम्रो लोकतन्त्रमा निर्वाचनलाई महत्त्वपूर्ण आ धार मानिएको छ। निर्वाचनमा जनताले आस्था र आग्रहमा विभाजित भई विकल्पहीन जसरी नेतृत्व गुण नभएकालाई मत दिने र परिणामचाहिँ अपेक्षित खोज्दै आएका कारण अहिलेको स्थिति आएको हो । वास्तवमा नेतृत्व भनेको अवसरभन्दा बढी जिम्मेवारी हो । लाभभन्दा त्याग हो, पेसा नभई सेवा हो। स्वार्थ नभई समर्पण हो । तर, त्यसो नुहँदा राष्ट्रका सपना, नागरिकका अपेक्षा र हामी सबैको भविष्य अनिश्चियतर्फ धेकेलिँदै आयो । सबै व्यक्ति नेतृत्व लिन योग्य हुँदैनन्, चाहनाले मात्र नेतृत्व विकास गर्दैन । न कुनै परिवारमा जन्मनु वा कसैसँग नाता सम्बन्ध हुनु नै नेतृत्वको आधार र योग्यता हो । न सुख र आनन्दको आस्वादन गरेर नै नेता बनिने हो । नेल्सन मन्डेलाको बाल्यकाल भुटेको मकै खाएर बित्यो, विद्यालय पढ्न जाँदा बुबाको पेन्ट काटेर सानो बनाएर लगाउँदैमा बित्यो ।
वीपीको बाल्यकालदेखि प्रधानमन्त्री हुँदा पनि अभावमा वित्यो। कैयन् दिन एक मुठी भिजाएको चना र पानी पियाइमा बित्यो, विद्यालय खद्दरको एकजोर कमिज सुरुवालमा बित्यो । दुवैको परिवार त्यो अवस्थाको खान नपुग्ने तहको थिएन । तर, परिस्थितिले त्यस अवस्थामा पु¥याएको थियो । दुःखमा खुसी हुन सक्ने र अरूको दुःखमा मन दुखाउने स्वभावले जनताको माया र विश्वास पाउन पुगे उनीहरू ।
त्यसैले दुवै जना विश्व राजनीतिमा जननेता बन्न सके। मन्डेलाले अर्को कुरा पनि भनेका थिए– व्यक्तित्व निर्माणमा परिवारको ठुलो भूमिका रहन्छ । मेरा बुबा जिद्दी, विद्रोही तथा न्यायका निम्ति मरिमेट्ने खालका हुनुहुन्थ्यो ।’ त्यही स्वभाव मन्डेलामा पनि हुर्कियो । परिवारको नेतृत्व गर्नेमा गलत, अन्याय र भ्रष्टाचार गर्नुहुन्न भन्ने चेत भएमा सन्तान स्वतः असल बन्छन् । राष्ट्रको नेतृत्व गर्नेमा असल अन्तरचेत, असल बुझाइ र असल गराई भए उसका अनुयायी स्वतः असल हुन्छन् भन्ने कुरा स्थापित भयो
स्थापित नेताहरू भन्छन् , पहिलो कोटीको नेताले आफूभन्दा उम्दा अनुयायी बनाउन चाहन्छन् । दोस्रो कोटीका नेताले तेस्रो कोटीको अनुयायी चाहन्छन् ।अन्ध समर्थक, निम्न कोटिका अनुयायी चाहन्छन् । यसले आलोचनात्मक चेत आउनै दिँदैन, एसम्यान प्रवृत्तिलाई बढावा दिई नेतृत्व विकासको प्रक्रियालाई अवरुद्ध पार्छ । सही नेतृत्व समाजको असल शिक्षक हो । शिक्षकले चेलाहरूलाई नीति र नैतिकता सिकाउँछ । आफ्ना अनुयायीलाई आफूभन्दा उम्दा बनाउँछ र प्रसन्न हुन्छ ।
यति मात्रै होइन,संघर्षले खारिएका व्यक्ति मात्र सुयोग्य नेता बन्छन् । त्यत्तिकै पद पाएका व्यक्तिले दैनिकी कामकाज चलाउछन्। सामाजिक धरातलबाट सधैं टाढा हुन्छन् र बनाईन्छन् पनि। मन्डेलाको संघर्ष र दुःखले नेतृत्व कस्तो र कति संयमी हुनुपर्छ भन्ने शिक्षा र प्रेरणा दिन्छ ।
मण्डेला स्वतन्त्रता र स्वाभिमानको अविश्रान्त संघर्षका क्रममा जेल परे, २७ वर्ष । त्यहाँ रहँदा उनको जवानी, रहर व्यक्तिगत आकांक्षा सबै सकिए पनि स्वतन्त्रताको साहस रापिलो बन्दै गयो । स्वतन्त्रता र समृद्धिले बलिदान र समर्पण खोज्यो, त्यसमा अटल रहे । एकपटक राष्ट्रपति बनेपछि दोहोर्याएनन्, सम्मानित संरक्षक भएर स्वतन्त्रताको रक्षा गरिरहे । यस्ता कथा हाम्रै विश्वेश्वर, पुष्पलालहरूका पनि नभएका होइनन् । यी कुरा हामीलाई भन्दा ओ ली देउवा र प्रचण्डलाई धेरै थाहा छ ।तर, व्यवहार आ र्यघाट नजाँदासम्म पार्टी र सत्ता छोडेनन् र अझै छोड्नेवाला छैनन् ।यसर्थ यीनीहरूको विकल्पमा नयाँ नेतृत्व स्थापित गर्ने समय हो यो। लोकतन्त्रमा दलको विकल्प छैन।तर, यीनीहरूको विकल्पमा नयाँ नेतृत्व हुन सक्छ।।जेनजी विद्रोहले ल्याइदिएको नयाँ राजनीतिक परिदृष्यमा नेतृत्वको खोजी गर्न अब ढिला नगरौ।








