हर्क साम्पाङ त्यस्ता नेता हुन्, उनी जति हरेक काममा पारदर्शी छन्। त्यत्ति बोलीमा पनि प्रष्ट छन् । बेइमानी कहिल्यै नगर्ने तर,बेइमान गर्नेलाई लेखेट्ने उनको आदत छ ।
सार्वजनिक कार्यक्रम होस् चाहे सामाजिक सन्जालमा उनी मनमा लागेको कुरा निर्धक्क भन्छन् । धरानको मेयर बन्नु अघि एक्दै हात माइक बोकेर जनमत बटुल्ने हिड्ने हर्कको राजनीतिक दायर फराकिलो मात्रै भएको छैन। भावी प्रधानमन्त्रीको रुपमा उनलाई चित्रण गर्न थालिएको छ।
रुखो स्वभावका हर्क संगीतबाट पनि विरोधीको छाला उतार्छन् । साधारण, सादगी र सरल जीवनशैलीका हर्क यतिबेला चुनावी प्रचारमा छन् । धरानको मेयर हाल रहेका उनी श्रमपिताको रुपमा चिनिन्छन् । उनी आफूलाई चित्त नबुझेका कुरा सिधै राख्न सक्छन् । सिधा कुरा प्रष्ट विचार भन्ने आदत भएका हर्कको चुनावी प्रचार पनि अन्य दलको भन्दा धेरै छ । गएको कार्तिक १२ गते निर्वाचन आयोगबाट श्रम संस्कृति पार्टी नामको दल दर्ताको प्रमाणपत्र लिएसंगै उनी चुनावी सभामा केन्द्रित छन् । गएको एक महिनामा हर्कले कोशी प्रदेशका १४ जिल्ला छिचोलिसके ।
जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने प्रयास असफल भएपछि उनी नयाँ दल दर्ता गरेर अघि बढेका हुन् । काठमार्डौका मेयर बालेन्द्र साहसंग कहिले मित्रता त कहिले शत्रुताको सम्बन्धमा रहेका धरानका मेयर हर्क साम्पाङले हरेक दिन सामाजिक सञ्जालमा उनी बालेनको विरोधमा लेख्न थाले भने बालेन उनलाई फकाउन ‘आई लभ यू’ लेखेर बसिरहे। जब सरकारले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर नयाँ दल दर्ता खुलायो, हर्क आफ्नै नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ दर्ता गर्न कस्सिए र दर्ता पनि गरी भ्याए ।
जेन–जी आन्दोलनको माहोल हेरेर अन्य नयाँ दल पनि दर्ता भएका छन्। मुख्यतः हालका मन्त्री समेत रहेका कुलमान घिसिङको योजनामा ‘उज्यालो नेपाल पार्टी’ दर्ता भयो। पुराना दलहरू ध्रुवीकरण र एकीकरणमा लागेका छन्। ठूला दुई दल एमाले र नेपाली कांग्रेस नेतृत्व बदल्न महाधिवेशनमा केन्द्रित छन्। रास्वपा र विवेकशील साझाबीच एकता भयो। माओवादीसहितको नयाँ दल ‘नेपाली कम्युनिस्ट पार्टी’ चुनावी सभामा उत्रिसक्यो। अन्य नयाँ हुन् या पुराना दल, अझै अलमलमै छन्। तर, दल दर्तासँगै हर्क साम्पाङ अल्मलिएनन् । बरु, उनी सिधै सङ्गठन निर्माण र चुनाव लक्षित कार्यक्रममा केन्द्रित भए र छन्। मोरङको लेटाङमा पहिलो आमसभा गरेर उनले चुनावी माहोल मात्रै बनाएनन्, चुनावी सभा तथा संगठन विस्तारले पुराना भनिएका दलका अखडाहरुमा हमला गरे । पाँचथरको फिदिम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, दमक र वराह क्षेत्रमा सभा गरिसकेका उनी अब पूर्वबाट अन्यत्र पनि केन्द्रित हुँदैछन्।
कोशीमा नयाँ प्रभाव छोडेर हर्क पश्चिमतिर हानिएका छन् उनले बागमतीकामकवानपुर, चितवन, काठमाडौं, काभ्रे मात्रै होइन, लुम्बिनीको बुटवलको कार्यतालिका सार्वजनिक गरिसकेका छन्। प्रत्येक टोलमा ‘श्रम संस्कृति टिम’ बनाएर सङ्गठन विस्तारको रणनीतिलाई उनले कार्यान्वयन गरिरहेका छन्।यसबीचमा मेयर साम्पाङले घोषणापत्र समेत केही दिन अघि सार्वजनिक गरे । एकताका माओवादीले प्रचण्डपथ भनेर अघि सारेको थियो । त्यस्तै हर्कले पनि आफ्नै ‘हर्कवाद’ भनेर घोषणापत्रमा उल्लेख गरेका छन् ।
उनको घोषणापत्रमा विद्यालय शिक्षामा सीप मिसाउने भन्दै ‘तीन दिन पढाइ, तीन दिन सीप र श्रम’, आईएनजीओमाथि कडा प्रतिबन्धको प्रस्ताव गरेका छन् मेयर हर्कले सबैलाई अनिवार्य सैनिक तालिम तथा र शर्तरहित अन्तर्राष्ट्रिय सहयोगको अवधारणा,गल्ती गर्ने कर्मचारीको सरुवा हैन सिधै बर्खास्ती, जेन–जी आयोग गठन, नागरिकतामा कडा प्रावधान राखेर नेपालीसँग विवाह गर्नेलाई पाँच वर्षपछि मात्र नागरिकता र सांसद अनि मन्त्री हुन नपाउने,शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरेका छन् । यद्यपि उनी नयाँ शक्ति र पात्रमाथि निकै आक्रमक छन् । मेयर बालेन र मन्त्री कुलमानमाथि उनको मुख्य निशाना देखिन्छ । ३५ वर्षदेखि देश दोहन गरेकाहरुमाथि भन्दा कुलमान र बालेनमाथिको उनको निशानाले उनीमाथि केही सन्देहका प्रश्न भने उब्जिएका छन् । ०००००








