२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

गन्तव्यविहीन बन्दै जेनजी विद्रोह,युवाहरुको रगतमा गरिदै मजाक !


१४ मंसिर २०८२, शनिबार  


देशले जुनस्तरको चरम राजनैतिक निराशा झेलेको छ त्यसको जन्मदाता भ्रष्टाचार हो । भ्रष्टहरुलाई सत्तामा पुगेर संरक्षण गर्नुले मुख्य दलहरु नयाँ पुस्ताको विद्रोहको निशानामा परेका हुन् । यस्तो परिस्थिति निर्माणको मुख्य रचनाकार केपी ओली हुन्, त्यसको दायाँबायाँ साक्षीहरु देउवा र प्रचण्ड हुन् ।

सरकार प्रमुख भएको हिसाबले ओलीले संयमता,सहिष्णुता विवेक देखाउन सकेनन्। उनीमा झाँगिएको अभिमान र अहंकारले जनताको असन्तुष्टिमा घ्यू थप्यो । कलिया युवाहरुसंग सम्वाद र छलफलबाट उनीहरुलाई सुन्ने र बुझ्ने भन्दा पनि अपमानित ढंगले गिज्याउने उनको रुखो र छुद्र शैलीले विद्रोहको विकल्प भएन र अन्ततः गएको भदौ २३ र २४ गते मुलुकमा अकल्पनीय घटना भयो ।


सत्तामा बसेर देशभरका विकास पूर्वाधारका धाक र धक्कु लगाउने तर, भदौ २३ को नरसंहारलाई स्वीकार्न नसक्नु भनेको चरम राजनीतिक बेइमानी हो । २३ गतेको नरसंहारकै कारण २४ गते विध्वंस भएको हो । यसको बीउ रोप्ने काम केपी ओलीले गरेका हुन् । अघिल्लो दिन अर्थात् २३ गते नै ओलीबाट राजीनामा आएको भए पनि विध्वसं गर्ने मौका घुसपठैयाहरुले पाउने थिएनन् ।तर, जेब्राक्रसमा मन्त्रीको गाड़ीले बालिकालाई हानेर भाग्दा समेत त्यसको बचाउ गरेका ओलीमाथि जनताको रिस र आक्रोश आगो झै थियो । ओलीको यही जबाफदेहिताबिनाको राजनीतिक चरित्रले आफैलाई पोल्यो । सेनाको हेलिकप्टर चढेर भाग्न परेको हो ।


ओलीसहित नेतालाई पक्राउ गरिनेछ, थुनिनेछ भन्ने सपना देखेका जेनजीले । तर गएको तीन महिनामा घटनाक्रम उपक्रम नयाँ ढंगले विकसित भइरहेका छन्। मुलुकमा सरकार भएपनि शुन्यविहीनता जस्तो छ। यस्तो अवस्थामा पुगेको छ, मुलुकको राजनीति । यो तरल अवस्थामा विभिन्न स्वार्थ समूहहरुले निकै चलखेल गरिरहेका छन् । घरेलु होउन् या बाहिरका शक्तिहरुको चलखेल बढ्दो छ । सत्ता गुमेको एमालेले विदेशी शक्तिलाई दोष थोपरेको मात्रै होइन । एनजीओ आइएनजीओले आफ्नो खाइपाइ आएको सत्ता खोसिदिएको उसको बुझाइ छ । यति मात्रै होइन, सेनाको व्यारेकमा लुकेका ओली यतिबेला भृकृटीमण्डपमा आएर सुशीला कार्की सरकारलाई चुनाव गराउने अधिकार छैन भन्दै यसरी दिए चुनौति ।

यद्यपि त्यो आन्दोलनका घटनालाई लिएर छानबिन आयोग पनि बनेको छ । जाँचबुझ आयोग यही अन्तरिम सरकारले बनाएको हो । जाँचबुझ आयोगको प्रतिवेदन आएपछि सरकारलाई अलिकति टेक्ने ठाउँ हुन सक्छ । त्यसैका टेकोमा ओली लेखक लगायतका आरोपितहरुलाई समाउने डालो भेटिन सक्छ । यही आधारमा प्रहरीले पक्राउ गर्ने अस्त्र पनि बन्न सक्छ । तर, जेनजीकै दबाबमा पक्राउ गरेपनि अदालतले भोलि नै छोडिदेउ भन्न सक्छ ।अर्कातिर भदौ २३ मा २२ युवाको ज्यान जानेगरी भएको आन्दोलनले सही नेतृत्व पाएन ।

गैर जेनजीको हातमा निर्णय गर्ने जिम्मेवारी पुग्यो । काठमाडौ महानगरका मेयर बालेन्द्र साहलाई नेतृत्व लिन युवाहरुले आग्रह गरेपनि उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारे । तर, गएको तीन महिनामा सरकारले भ्रष्टचार र नरसंहारका मुख्य पात्रहरुलाई समाउन सकेन । आन्दोलन जसले गरेको हो उसैले सत्ता सम्हालेको भए, त्यो आन्दोलनले उदेश्य हासिल गर्ने थियो । आन्दोलनले पहिलो कदममैं एउटा रोडम्याप दिन सकेको भए, एमालेमात्रै होइन, धेरै जसो दलहरुको अस्तित्व समाप्त हुन सक्थ्यो । उनीहरु विद्यमान सरकारलाई दुत्कार्न सक्दैन थिए । वास्तवमा देश फेरिएको जनताले अनुभूति गर्ने थिए । नयाँ पुस्ताको त्यो विद्रोह असमान्य थियो ।

विडम्बना, न कसैले त्यसको नेतृत्व लिएर सत्तामा जान सक्यो न मुद्दा र एजेन्डालाई लिपिवद्ध गर्न सक्यो । आफै आन्दोलन गरेर आफै मुद्दा के हो भन्दै अन्यौलमा गुज्रियो जेनजी पुस्ता । आन्दोलनमा पानी बाँड्न गएका सुदन गुरुङहरु नेता जस्ता भए । तर, पानी बाँड्ने एनजीओको अगुवालाई देश कस्तो बनाउने भन्ने ज्ञान सीप र दृष्टिकोण हुने कुरै भएन । जसको परिणाम यति ठूलो संसारलाई चकित बनाउने विद्रोह पनि आज निमेषमै शून्यविहीन बन्ने खतरा देखिएको छ । ००००

प्रकाशित मिति : १४ मंसिर २०८२, शनिबार  ११ : ४५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित