
पछिल्लो प्रहरीको सूचना अध्यवधिक अनुसार त्रिशुली पहिरोमा बगेकाहरुको अत्तोपत्तो छैन। शुक्रबार बिहानीको समय ३ः३० बजे उनीहरु पहिरोमा बगेका थिए। खोजी कार्य थालेको दुइ दिन भैसक्दा पनि उनीहरुको अत्तोपत्तो नभएपछि प्रहरीले सोनार क्यामेरोको प्रयोग गरेको छ। प्रहरीका अनुसार सोनार क्यामेराबाट पानीमुनिका वस्तुहरू हेर्न मद्दत गर्छ।यही क्यामेरा डुंगामा जडान गरेर आज बिहानदेखि खोजी कार्य पुनः शुरु भएको प्रहरी प्रवक्ता दानबहादुर कार्की बताउँछन्।

वर्षातको समय भएकोले धुमिलो मात्रै छैन, नदीको प्रवाह निकै बलियो छ। प्रतिकूलताको बीचमा पनि प्रहरीले हराएकाहरुको खोजी कायृ जारी राखेको छ। दुर्घटना भएको दुइ दिन भैसक्दा पनि आफन्तोको अत्तोपत्तो नभएपछि परिवारजनमा रुवाबासी छ। आफन्त जिउँदै फर्केलाकी भन्ने आशा छ, उनीहरुको । दुइ दिनसम्म पनि उनीहरु कतै नभेटिएपछि जिवितै फर्किनै विरलै सम्भावना देखिन्छ। तैपनि सास रहुन्जेल आश भने झै उनीहरु आफन्त फर्किएलान्की भन्ने झिनो आशामा छन्। गाउँबस्ती शोकमा छन्। आफन्तसंग खुशी बाँड्ने ती सपनाहरु धुजा धुजा भएका छन्, यतिबेला । भोलिका सुन्दर भविष्यका सपनाहरुमाथि बज्रपात भएको छ। आँसुका बलेन्द्रीले आँखा भिजेका छन्, सिरानी रुझेको छ। आफन्तको झल्कोले सताइरहन्छ, हर रातदिन ।शुक्रबार दुर्घटनामा आमा बा दिदी र भिनाजु गुमाएकी रौतहटकी संगीता साह शोकमा छिन्, यतिबेला । उनी भन्छिन्, सेनामा कार्यरत भाइको दीक्षान्त समारोहमा बाआमा दिदी भिनाजु जानु भएको थियो, भाइको खुशी लिएर घर फर्कदै गर्दा अकल्पनीय दुर्घटना भयो । भाइको खुशी राम्रोसंग परिवारजनमा मनाउन नपाउँदै बाआमा दिदी भिनाजुललाई पहिरोले चुडिलग्यो ।

यस्तै पीडा र रोदन छ, गरुडा ९ सिसवाटोलीकी उमादेवी रायको पनि । उनका श्रीमान् जागेश्वर रायसहित ७ वर्षीय छोरा अशोक, २७ वर्षीय छोरी अमृता,नाती शिवशंकर र नाती प्रिती पनि दुघर्टनामा परे। जागेश्वर पौडेर ज्यान बचाएपनि अन्य चार सदस्य बेपत्ता भए, त्रिशुलीमै, क्षणभरमै काखैका ती प्यारा मानिसहरु हराएका एकाएक । काठमाडौबाट गौर हिडेको बसमा रहेका यात्रीहरुको हो, हृदयविदारक कथा । यस्तै दारुणिक कथाछ, वीरगन्जबाट काठमाडौ जाँदै गर्दा पहिरोमै बेपत्ता भएकोहरुको पनि । उनीहरुको परिवारजनमा पनि यस्तै वियोग छ।

यसरी पहिरोमा परी हराइरहेकाहरुको खोजी कार्य भएको दुइ भएपनि कसैलाई प्रहरीले फेला पार्न सकेको छैन। त्रिशुली पहिरोमा परेर तीन जनाले ज्यान जोगाए पनि अरु सबैलाई पहिरोले बगाएको देखिन्छ। पहिरोसंगै बगेकाले उनीहरुको खोजी कार्यमा कठिन भइरहेको प्रहरी बताउँछ ।