३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

ट्रम्पको रफ्तार अनि, हाम्रा ‘पिलन्धारे नेता’ !


१६ माघ २०८१, बुधबार  


केही मानिसहरुले यो भनिरहेका छन्, की,अमेरिकी राष्ट्रपति ट्रम्प अतिराष्ट्रवाद,अराजक, अधैर्य,असहिष्णु र सन्की नेता हुन्। उनी मित्र शक्तिलाई तर्साउन र वैरी दुस्मनसंग हात मिलाउने अनौठो स्वभावका पनि छन्। यी कुरा केही मानिसहरुका टिप्पणी होलान्। उनीहरुको कोणबाट हेर्दा ठिकै पनि होला । यद्यपि विश्व दुनियाँका लागि उनी गतिला होउन् या अगतिला । त्यो फरक पाटो हो ।

तर, सत्य यो होकी उनी अमेरिकी जनताका लागि गतिला पक्कै हुन्। उनी गतिला भएकै कारण अमेरिकी जनताले अथाह मत दिए। चुनावी ढंग र बेढंग पनि उनीहरुकै हो । यस्ता राम्रा र नराम्रा पक्षको विषयमा बेग्लै बहस होला । तर हामीले अनुशरण गर्ने कुरा हाम्रा लागि चासो र चिन्ताको विषय बन्नुपर्छ । राम्रा कुरा नेपालीलाई सिक्ने जाँगर नभएपनि अमेरिकी राजनीति र हाम्रो नेताको तुलना गर्नु उपयुक्त हुन्छ ।

यही जनवरी २० मा डोनाल्ड ट्रम्प राष्ट्रपति बने । उनी राष्ट्रपति शपथ लिएको एक हप्ता भित्रै आफैले जारी गरेका कार्यकारी आदेश धमाधम कार्यान्वयन भैरहेको छ। चोरबाटोबाट अमेरिका छिरेका आप्रवासी फिर्ती अभियान युद्धस्तरमा छ। यस्ता गैरकानुनी आप्रवासी बोकेर सेनाको जहाज उड़िसक्यो । जहाजले ल्याण्ड गर्न पाएन विदेशी भूमिमा । तर, समस्याको हल एकैदिनमा भयो । हामी भारतसंगका धेर्रै विवादमै छौ । भर्खरै चीन र भारतले लिपुलेकमा व्यापार नाका पुनःसन्चालन गर्ने विषयमा सहमति गरे। तर, नेपाली शासकहरु चीर निद्रामा छन्।योग्ग्यताको आधार भन्दै सबै आरक्षणको व्यवस्था खारिज गरियो । अमेरिकामा महिला र पुरुष मात्रै भएको घोषणा गरियो । संकटकाल नै घोषणा गरेर मेक्सिको सीमातिर सैनिक परिचालन भए । विश्वभर गैरकानुनी बाटो छिर्न खोज्नेहरूले दश पल्ट सोच्न विवश छन्। मानव तस्करहरूबीच खैलाबैला मच्चियो । उनीहरुको भागभाग शुरु भयो ।

एक सय ७६ देशमा दिदै आएको आर्थिक सहयोग र हजारौ शीर्षकका कार्यक्रमहरु ठप्प भए। ट्रम्पको कार्यकारी आदेशको मसी सुक्न नपाउँदै सबै कार्यान्वयनमै गए । विभिन्न सरकार र तीन सय बढी एनजीओ आइन्जीओहरुलाई पत्राचार भयो । विश्व भर व्यापार साम्राज्य विस्तार गरेको अमेरिकासंग हरेक विषयको सूचना भण्डार छ। सरकारी सूचना भण्डार व्यवस्थित हुँदा यो रफ्तारमा काम भएको हो । हाम्रा देशमा पनि यस्ता सूचनाको भण्डार नभएको होइन। तर, त्यस्ता सूचना हावादारी गफ दिन दलका नेताको दिमागमा छ। उनीहरुमा कुन कुन वस्तु तथा सेवामा मुल्यवृद्धि नगराइकन कर वृद्धि सकिन्छ भन्ने तथ्यांकसहितको दूरगामी योजना छ।

ट्रम्प प्रशासनका लागि मन्त्री र अन्य नियुक्ति त शपथपहिले भएका थिए । शपथ नखाँदै नीति र कार्यक्रम घोषणा भएका थिए। शपथ खाएको केही मिनेटमा हस्ताक्षर भएर कानुन बन्यो । नवनियुक्तहरूले मध्यपूर्वदेखि रसियासम्मका आफ्ना योजना र काम मिनेट भरमैँ सुरु गरिसके। राष्ट्रपतिको कुर्सीमा ट्रम्प नउक्लिदै अटेर गाजाँमा नरसंहार मच्चाइरहेको इजरायल र अतिवादी हमास समूहरुबीचमा एकैदिनमा युद्धविराम भयो ।खस्कदो अमेरिकी अर्थतन्त्र बौराउन युरोपदेखि चीनसम्म लचिलो बन्दै वार्ताको तैयारीमा जुटि सके । अमेरिका विश्व स्वास्थ संगठनबाट बाहिरियो भने जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौताबाट हात झिक्यो ।


मेड इन अमेरिका अगेन नीतिले गर्दा च्याटजिपीटी चलाउने ओपनएआईले जापानीज कम्पनी सफ्टबैंकसंग मिलेर ५०० बिलियन डलरको डाटासेन्टर बनाउने घोषणा गर्यो । १०० बिलियन त फण्ड ग्यारेन्टी नै भइसक्यो । लाखौं रोजगारीका योजना र प्रोजेक्ट त उनले शपथ नखाँदै सुरु नै भइसके । शपथ खाएको केही बेरमैँ जेलमा रहेका सयौं समर्थकले क्षमादान पाए ।

एक हप्ता भएको छैन, दश वर्षदेखि ट्रम्प शासनमा छन् जस्तो अनुभूति समर्थक र विरोधी दुबैलाई भइरहेको छ। अमेरिकी घरेलु राजनीति र समाजमा मात्रै होइन विश्वभर तरंग फैलियो । अर्थहिन मध्यपूर्व र रुस युक्रेनको अन्तको अपेक्षा पनि विश्व समाजले गर्न थाल्यो । त्यसको संकेतहरु पनि देखिन थालेका छन्। अराजक,असहिष्णु र अधैर्य भनिएका ट्रम्पको पुनरागमनले विश्व अर्थराजनीतिमा रोचक कम्प र पराकम्प दिइरहेको छ। अझै रोचक कुरा त के भने ट्रम्पको पुनरागमनपछि देशभित्रै आजसम्मका अमेरिकी नीति र कार्यक्रमहरूमा उलटपुल आयो । तर, विपक्षीहरुले कतै विरोध पनि गरेनन । उनीहरुले सडक जाम गरेर विरोध पनि जनाएनन्। विपक्षाी दलप्रति झुकाव राख्नेहरुले सानातिना टिप्पणी बाहेक केही गरेको देखिन्न। लाखौ मानिसहरुको सपनाको देश हो, अमेरिका । जसले विश्वलाई एकल धुव्रमा राखेर आफ्नो प्रभुत्व कायम गरेको छ। विश्वको महाशक्ति देशमा समृद्धि छ। सुखैसुखमा बसी खाने देशमा यति धेरै रफ्तार छ। सरकार फेरिएसंगैको कामको गति युद्धस्तरमा छ।

हाम्रो देशमा पनि अमेरिकाको जस्तै लोकतन्त्र छ। विधिको शासन छ। तर, कागजमा ।जनताको मत लिएर संसदमा जान्छन्, अनि सांसदहरुले विश्वासको मत दिएर कार्यकारी प्रधानमन्त्री बनाउँछन्। प्रधानमन्त्री नियुक्त हुन अनि मन्त्रिपरिषद् विस्तारको काम एकैदिनको पनि होइन। तर, एकदिन प्रधानमन्त्री नियुक्त हुन्छन्। अर्काे सरकार गठन हुँदासम्म मन्त्रीले सपथ लिइरहन्छन्। उ मन्त्रीले नियुक्ति लियो,उ मन्त्रीले यस्तो भन्यो। विपक्षी नेताले हलानो भन्यो। फलानो भन्यो। एउटै थाङग्रे गन्थन मात्रै गरेर महिनौ वित्छ ।

संसदमा दर्जनौ कानुनहरु बनाउनुपर्ने हुन्छ। संसद कानुन बनाउन तिर भन्दा सरकारका मन्त्री र तिनका आसेपासेसंगै प्रधानमन्त्रीका गुनगानमै समय खेर फाल्छ। प्रधानमन्त्रीदेखि मन्त्रीलाई दोसल्ला ओढाउदै फोटो शेसनमै महिना सकिन्छ। प्रधानमन्त्री भएको भोलिपल्टदेखि हाम्रा नेताले भन्न थाल्छन्– यो गठबन्धन सरकार ढल्दैन, आगामी २०८४ सम्म जान्छ। अनि अर्काे विपक्षी नेताले भन्छन्, – सरकार आफ्नै कारणले ढल्छ। यस्ता बेतुकका तर्क र विर्तक मिडियाका व्यानर न्यूज बन्छन्। जस्तो राजनीति हाम्रो मिडिया क्षेत्र पनि उस्तै छ। मिडियामा छापिएका यस्ता खबरले नेता हौसिन्छ, मन्त्री कस्सिन्छ। काम गर्न तिर भन्दा यस्तै निन्दा र कुण्ठा पोख्नै ध्याउन्न हुन्छ। कामकुरो एकातिर हुन्छ, कुम्लो बोकी ठिमीतिर भने झै प्रधानमन्त्रीदेखि मन्त्रीको काम भनेको सरकार ढल्छकी ढल्दैन भन्नेमा वित्छ। अनि कार्यकर्ता सडकदेखि सञ्जाल र सडकमा ढुँगा हान्न थाल्छन् त कतै सत्ताको गोत्र मिले चाटाचाट गर्छन्।

उता चिनियाँ ४० वर्षे युवा लियाङ वेनफेङले नयाँ एपको निर्माण गरेर विश्व हल्लाइदिए। कृतिम बौद्धिकता एप्लिकेसनको निर्माताले विश्व हल्लाउँदा हाम्रो सरकारी दलको युवा संघका अध्यक्षले साइबर लडाइ गरेर एमाले विरोधीलाई तह लगाउन हूँकार गर्दै थिए । प्रधानमन्त्री ओली मात्रै यो देशको सत्य र निष्ठावादी राजनेता भएको बखान गर्दै समयको बर्बादी गरिरहेका थिए ।
यता प्रधानमन्त्री ओलीलाई सरकार ढल्छकी भन्ने पीर उस्तै छ। मुलुकको अवस्था भयावह छ। सरकारको आलोचकलाई तह लगाउन सामाजिक सन्जाल सम्बन्धि विधेक संसदमा पुराएको छ, पहिलो कुरा मुलुकको अर्थतन्त्र सुधार्नु पर्ने हो । तर, सरकारलाई सन्जालको धेरै भय र त्रास छ। भय र त्रासबाट जोगिन कानुनको बार लगाउने कोशीस हो,उसको ।

राष्ट्रिय बजेटभन्दा ठूलो व्यापारघाटा छ, राजश्वले सरकारको मसलन्ख खर्च पनि धान्न नसक्ने भैसक्यो । विकास पूर्वाधारको कन्तविजोग छ। सरकार ऋणमाथि ऋण थप्दै छ। सड़क टाल्न पनि सरकारलाई अनुदान देउ भन्दै हात थाप्ने अवस्था छ। यूवाहरुको ठूलो पंक्ति विदेश पलायन छ। गाउँ रित्तिए। सडक र सन्चार पुगेपनि गाउँमा बस्ने कोही छैन। मलामी जाने मानिस समेत गाउँमा पाइन छोडे । राष्ट्रिय उत्पादनको अवस्था कहालीलाग्दो छ। कृषि प्रधान देशमा अझै २५ अर्बको चामल मगाएर भात खानुपर्ने बाध्यता छ। दश लाख हेक्टर खेत बाँझिएका छन्। कृषि योग्यभूमि प्लटिङ गरेर बन्जड बनाइएको छ। भूमाफियाले तहसनहस पारेको छ,कृषि क्षेत्र ।

बेरोगारी, गरिबी, अभाव, सामाजिक विकृति- बेथितिमा समाज चुर्लम्म डुबेको छ। सामाजिक भातृत्व एकता र सदभावको चरम अभाव छ। यस्तो कहाली लाग्दो देशको अवस्था भइरहँदा पनि हाम्रो सरकार र नेताको दैनिकी बडो अनौठो छ। दैनिक भेला भाषण र बैठकमै व्यस्त देखिन्छन्। यस्ता कार्यक्रममा देश निर्माणको कतै गन्ध आउँदैन र अर्काेलाई गाली गलौज आलोचनामै समय सकिन्छ। वाद नामका अनेकौ नौटंकी र जालीझेलीको बेतुके बहस हुन्छ, छलफल हुन्छ। समाजवाद, पूँजवादी,जनवाद आदि इत्यादिका नाममा बौद्धिक विलास हुन्छ। नेपाली माटो र समाजले कहिल्यै नचिनेका जर्मनतिरका मानिसहरुको गुनगान गाइन्छ। आफ्ना माटो, धर्ती, सभ्यता र सनातनलाई पाखण्डता र अन्धविश्वसा भन्दै वैज्ञानिक समाजवादको गरुड पुराण हालिन्छ। ताइ न तुइका यस्ता बकुम्फुसेले न समाजलाई केही नयाँ दृष्टिकोण दिन सक्यो। न स्वयं व्यक्तिको क्षमतामा विकास भयो ।

यति मात्रै होइन, प्रचण्ड ओखलढुंगा पुगे, दाङ पुगे, शहीद परिवारसंग भात खाए। प्रधानमन्त्रीले उद्घाटन गरे। प्रधानमन्त्रीले प्रचण्डलाई व्यगं गरे। रविलाई चितवन पुराइयो। देउवा र ओलीको भेट भयो । मन्त्री गृहजिल्ला जाँदैछन्। यस्ता यस्ता अर्थहिन र काइते विषयको समाचारको हेडलाइन बन्ने गरेका छन्। मुलधारका मिडिया पनि यीनै पिलन्धरे नेताको गुणगान र उनकै उठबसका खबर छापेर दिन कटाएका छन्। एउटा नेतालाई बोक्ने र अर्काेलाई ठोक्ने नीतिमै व्यस्त छन्। यस्तो नीतिले नेताको प्रर्वद्र्धन गर्न बाहेक देश र समाजलाई उधो गति तिर धकेलिरहेको छ। यस्तो प्रवृत्तिबाट मिडिया क्षेत्र पनि मुक्त नहुने हो, भने पिलन्धरे नेताले यस्तै चटक गरेर एक युग नै समाप्त गर्नेछन्।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ५४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित