मनसुन निस्क्रिय भएर पारिलो घाम लाग्ने समय हो यो । तर,शरद ऋतुको प्रारम्भ भैसकेको अवस्थामा पनि भीषण वर्षा भइरहेको छ। एक सय भन्दा बढी स्थानमा भारी वर्षा भइरहेको छ। बिहीबारदेखि अविरल वर्षातले देश जलमग्न छ।बाढी,पहिरो र डुबानले मानवीय तथा भौतिक क्षति भइरहेको छ। यसरी बेमौसमी महावृष्टि भइरहेको सन्दर्भमा हामीले यस विषयमा जलवायु तथा बिपद कार्यक्रम प्राक्टिकल एक्सन,प्रमुख, डा.धरमराज उप्रेतीसंग संक्षिप्त सम्वाद गरेका छौ ।
प्रारम्भमा,डा उप्रेती बेमौसमी अविरल वर्षातको कारण के हो ?
मुलतः जलवायु परिवर्तनको कारण हो । यतिबेला नेपालमा अविरल झरी लाग्नुको कारण समुद्र सतहको तापक्रममा हुने अदलबदल नै हो । औसतमा समुद्री सतहको तापक्रम २८ डिग्रीदेखि ३२ डिग्री सेन्ग्रिेडसम्म रहेको हुन्छ । अहिले हिन्द महासागरको सतहको तापक्रम ३० डिग्रीमा रहेको अनुमान गर्न सकिन्छ। यसले न्यून चापीय अवस्था सिर्जना गरेको छ। न्यून चाप भनेको वाष्पयुक्त वायू हो । जता चिसो हुन्छ, उतै तिर यो हुत्तिएर जान्छ। यस पटक त्यही वाष्पयुक्त वायू सिधै उत्तरतिर हानियो । जसको कारण नेपालमा यतिबेला भीषण वर्षा भइरहेको छ। एकप्रकारले भन्ने हो भने समुद्रबाटै पानी खन्याए जस्तैको अवस्था छ। हिन्द महासागरमा एउटा चक्र चलिरहन्छ। ती चक्रहरु कहिले ऋणात्मक त कहिले धनात्मक बन्दछ त कहिले तथस्थ हुन्छन्। यो कुरा इआइ निनो( EI Nino) र ला निना( La Nina )को चक्रसंग जोडिन्छ। यसले मनसुनी अवस्थालाई आकर्षित गर्दछ। गएको हिउँदमा २० प्रतिशत मात्रै वर्षात भएको थियो । त्यो इनिनोको अवस्थामा थियो । तर, अमेरिकी देशहरुमा भीषण वर्षात भयो । यो चक्रको औसत अवधि सालाखाला ४ वर्षको हुन्छ। तर, पछिल्लो समयमा यो चक्रको छिटो छिटो परिवर्तन भइरहेको छ। जसले गर्दा अतिवृष्टि र अनावृष्टि भइरहेको छ।
दशै अघि झरीको अन्त्य हुने सम्भावना कति देखिन्छ ?
मनसुन बाहिरिने अवस्था हो यो । आइतबारसम्म झरी लागेपनि सोमबारदेखि काठमाडौमा घाम लाग्ने छ। यही आउँदो शुक्रबारसम्म मनसुन बाहिरिन्छ । सुदूर र कर्णाली सफा हुनेछन् भने लुम्बिनीको पूर्वी भाग, गण्डकी, बागमतीमा पनि मौसम सफा रहने छ। दशै अघिसम्म पूर्व नेपालमा केही वर्षात भएपनि पश्चिम नेपालमा पानी पर्दैन । पश्चिमबाट बहेको सुक्खा हावाले मनसुनी वायूलाई धकेल्दै समुद्रमा पुराउँछ । त्यसपछि पानी पर्दैन ।यस वर्षको हिउँद निकै चिसो र सुक्खा हुनेछ । यो वर्षा अरब र बंगालको असर हो । भूमध्य सागरबाट बहने पश्चिमी वायूले हिउँदमा वर्षा गराउने हो । तर, यस वर्ष हिउँदमा अरु वर्षमा जस्तो पानी पर्दैन । अस्वभाविक चिसो हनेछ ।
असोजको मध्यभागमा भइरहेको अविरल झरी महावृष्टि हो त ?
हो, यसलाई महावृष्टि पनि भन्न सकिन्छ। वृष्टिलाई मिलिमिटरको आधारमा मापन गरिन्छ। जस्तैःभारी वर्षा भन्नाले १ घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर ६ घण्टामा १०० , १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटर वर्षा भयो भने त्यसलाई भारी वर्षा भनिन्छ । तर, २४ घण्टामा १४० देखि २१५ मिलिमिटरसम्म हुँदा अतिभारी र २४ घण्टामा २१५ मिलिमिटर भन्दा बढी वर्षा भएमा अति- अति भारी वर्षा अर्थात अतिवृष्टि भनिन्छ । २४ घण्टामा २ सय बढी मिलिमिटर पानी परेकोले यसलाई महावृष्टि पनि भन्न सकिन्छ। यद्यपि यसलाई अति भारी वर्षा भन्ने नै गरिएको छ। तथापी यो अतिभारीवृष्टि मात्रै नभएर महावृष्टि नै हो किन भने अहिलेको झरी औसत भन्दा १२५ प्रतिशतल बढी भएको छ।
अतिवृष्टिको मुख्य कारण पृथ्वीको तापक्रम बढेकोले नै हो ?
पक्कै पनि मैले प्रारम्मभै भने , समुद्री सतहको तापक्रममा आएको अदलबदले न्यूनचापीय परिस्थिति बनाएको हो । त्यही न्यून चापिय वाष्पयुक्त हावा नेपाल प्रवेश गरेपछि भीषण वर्षा गराएको हो । यसो हुनुमा मुलतः जलवायु परिवर्तनमा आएको परिवर्तनको असर हो । पृथ्वीको तापक्रम अहिले १.२ डिग्री सेन्टिग्रेडले बृद्धि भएको छ। सन २०२२ भन्दा सन २०२३ धेरै तातो वर्ष भयो । सन २०२४ अझै तातिएको अनुभव छ। प्रत्येक पाँच वर्षमा पृथ्वीको तापक्रम वृद्धि भएको देखिन्छ। यही तापक्रमकै कारण समुद्रमा आँधी चल्ने गरेको छ। भर्खरै आएको यागी आँधीले लाओस, कम्बोडिया,मेकानडेल्टाको करिडोर र फिलिपिन्समा असर गरेको थियो । पहिले नेपाल तिर सोझिर्एको थियो । तर, पछि समुद्री धारले बदलेपछि त्यस्को असर नेपालमा परेन । यस्तो हुनुमा बढ्दो हरित ग्याँस उत्सर्जन हो ।जलवायु परिवर्तन र यसले पारेको असरबारे नेपालले यूएनको नेगोसेसनमा उठाउँद आएको छ, धनी राष्ट्रहरु उत्सर्जनको विषयमा त्यत्ति जिम्मेवार देखिन्नन्। चीन र भारत नेपालका छिमेकी हुन्। विश्वमा हरित ग्यास उत्सर्जन गर्ने मुलुकको पहिलो लाइनमै पर्दंछन्। उनीहरुले नेपाल जस्तो देशलाई जलवायु परिवर्तनबाट सिर्जित समस्यासंग जुध्न पूर्वाधार र सूचना प्रणालीमा सघाउनु पर्दछ। आज विद्यालयहरुमा चट्याङ लागेर नोक्शानी भएको छ। सूचना प्रणाली भरपर्दाे नहुँदा सतर्कता अपनाउन सकिएको छैन ।भौतिक पूर्वाधारहरु प्रकोपमैत्री निर्माण गर्न उनीहरुको लगानी खाँचो छ। अबको पुस्ताका लागि सुरक्षित भविष्य बनाउने गरी नेपालको भौतिक पूर्वाधार र सूचना प्रणालीमा उनीहरुले खर्च गर्नतिर लाग्नुपर्छ। हामीले पनि यस विषयमा कोशीस गरिरहेका छौ ।
अन्तमा,जलवायु परिवर्तनको मुद्दामा राज्य कहाँ छ ?
तपाईले सही प्रश्न उठाउनु भयो, जलवायु परिवर्तनले पारेका असरबाट नेपाल धेरै प्रताडित छ। यसमा अझै महिला, सिमान्तकृत वर्ग र समुदायहरु प्रभावित भएका छन्। हरित ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य भएपनि त्यस्को भारी हामीले बोक्नु परेको छ। धनी राष्ट्रहरुले गरेको उत्सर्जनले आज नेपाल जस्ता मुलुकहरु प्राकृतिक प्रकोपको मार खेप्नु परेको छ। यसलाई रोक्न त सकिन्न ।तर, जोखिमम न्यूनीकरण गर्न सकिने विषयमा राज्य त्यत्ति उदार देखिन्न । नीति र कानून त बनेका छन्, संरचना पनि बनेका छन्र तर, व्यवहारमा जिम्मेवार भएको देखिन्न । यसर्थ विपत् जस्तो विषयमा राज्य अभिभावकीय भूमिकामा जिम्मेवार बन्नै पर्छ ।