१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सरकारी आम्दानी र खर्च दयनीय, पूँजीगत खर्च झनै निराशाजनक !


१ माघ २०८१, मंगलबार  



सरकारको आम्दानी र खर्च निकै दयनीय देखिएको छ। महादेखा परीक्षक कार्यालयका अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षाको यस अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको हो । महालेखा परीक्षकका नुसार पुस मसान्तसम्ममा सरकारको वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत मात्रै खर्च भएको पाइएको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत मात्रै हो ।

चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् चार खर्ब ५२ अर्ब खर्च भएको छ ।

पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बराबर मात्र खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गएको पुस मसान्तसम्ममा पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख रुपैयाँ सङ्कलन भएको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म सात अर्ब ३७ करोड छ लाख रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।सरकारी आम्दानी र खर्चको यही औसत कायम रहे बजेट लिएको लक्ष्य अनुसार राजश्व संकलन र खर्च नहुने पक्का देखिन्छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित