पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनका लागि चारैवटा ढोकाबाट व्यवस्था गरिने भएको छ।
कोषको आयोजनामा मनाइने तीज र यस दिनमा भक्तालुहरूले मन्दिरका दर्शन सम्बन्धमा कोषले पत्रकार सम्मेलन गरेर यस्तो व्यवस्था गरिएको जानकारी गराएको हो ।
जसमा गौरीघाट(उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, मित्र पार्क(जयबागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भुवनेश्वरी(शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
त्यसैगरी, पिंगलास्थान–चारशिवालय पञ्चदेवल–बज्रघर(दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
यस्तै, तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाटनजिकको पुल तरेर श्री पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने सक्ने कोषले जानकारी दिएको छ ।
त्यस्तै, दर्शनका लागि बिहान ३ बजेदेखि जान सकिन्छ । त्यस्तै, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाको समेत सहयोग रहने कोषले जनाएको छ । त्यस्तै, सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटाइने कोषले बताएको छ।








