गएको २०८० साल पुस महिना ३ गतेको तिथि मिति हुँदो हो, पूर्व प्रधानमन्त्री प्रचण्डले एउटा अभिव्यक्ति दिएका थिए। उनको त्यो अभिव्यक्तिको आशय थियो, राष्ट्र,राष्ट्रियता र नैतिकताको सन्दर्भमा ।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशकोबारे गम्भीर चिन्ता व्यक्त गर्दै भनेका थिए, “ उहिले उहिले उहिले नैतिक शिक्षाको पढाइ हुन्थ्यो, देश र इतिहासप्रतिको माया हुन्थ्यो। अहिले त्यस्तो छैन। अब शिक्षामा पनि परिवर्तन गर्न आवश्यक छ।” उनले यसो भन्दै गर्दा गम्भीर देखिएका उनले नेपालीमा नैतिक दायित्व र राष्ट्रप्रेम मर्दै गएको छ। यसो हुनुमा ‘नैतिक शिक्षा’ पाठ्यक्रममा नराखिनु हो, भन्ने कुरा सहजै ठम्याउन सकिन्थ्यो ।
पूर्व प्रधानमन्त्री प्रचण्डको त्यो अभिव्यक्ति नेपाली समाजको धरातलीय यथार्थ थियो र हो पनि । पक्कै पनि नयाँ पुस्तामा इतिहास र देशप्रतिको प्रेममा कमी आएको छ। हामीले आधुनिकताका नाममा नैतिक शिक्षालाई विद्यालयका पाठ्यक्रमबाट हटायौ, हाम्रा पाठ्यपुस्तकमा श्रवण कुमारका कथा हराए, शिशिर बसन्तका कथा गुमनाम भए। जहाँ मानवीय शिक्षा थिए। तिनका ठाउँमा हाम्रा पाठ्यपुस्तकमा जिससका जीवन लेखिए, शेक्सपियरका प्रेम कहानीका चर्चा गरिए। वैदिक ज्ञान र आध्यात्म सम्बन्धिका ज्ञानगुणका कुरा हटाइए। नैतिक शिक्षालाई महेन्द्रकालीन, सामन्ती, अन्धविश्वास र रुढी भनियो । नेपाली मौलिक भाषा, संस्कृति र परम्पराहरुलाई रुढको परिभाषा दिइयो ।शिक्षा र समाजलाई यसरी अंग्रेजीकरण गरियो की, अंग्रेजी भाषा अध्ययन नगरे हाम्रो अस्तित्व यो धर्तीबाटै नै समाप्त हुनेछ, अंग्रेजी नजानेमा नयाँ पुस्ता पछाडि पर्नेछ। यसकारण रटाएरै भएपनि अंग्रेजी पढ्नुपर्छ, अंग्रेजी पढेका र खररर बोल्न सक्नेहरु मात्रै बौद्धिक र जाने बुझेका हुन्छन्, भन्ने यो भ्रमको भाष्यमा हाम्रो शिक्षालाई पुराइयो ।
यद्यपि पंक्तिकार कुनै पनि भाषाप्रति विमति राखिरहेको छैन ।भाषा जति जानिन्छ,उति नयाँ नयाँ ज्ञान हासिल गर्न सकिन्छ, किनकी भाषा माध्यम हो, जीवन होइन। तर, हाम्रो समाज र हाम्रो शिक्षाले अंग्रेजी भाषा जीवन हो, यसको विकल्प छैन, भन्ने भाष्य निर्माण गरिदियो। राजनीतिले हाम्रो प्राचीन मूल्य मान्यता, संस्कार र पद्धतिलाई रुढ र अन्धविश्वासको परिभाषा गरिदियो यही कृत्रिम सामाजिक भाष्यले आज नतिजा देखिदैछ समाजमा ।श्रवणकुमारका कथा पढ्ने समाजले शेक्यपियरका प्रेम कहानी पढ्न थाल्यो। शेक्सपियरका नाटक र कविता पनि पढ्न हुन्छ। त्यसमा कसैको विमति हुनुहुदैन र हुन्न पनि । तर, मुल विषय के हो, भने हाम्रो शिक्षाले न हाम्रो पहिचानलाई जीवन्त राख्न सक्यो, न हामीले भन्ने गरेको विज्ञानसम्मत संस्कृतिको निर्माण गर्न सक्यो। यो यथार्थ हो । जुन कुरा नयाँ पुस्तामा बढी देखिन्छ।
“सुहागरात“को कथा सुन्न आतुर नयाँ पुस्ताले देश र जनताको व्यथा सुन्दैन र पढ्दैन।उसलाई पैसा र बैँस सबैभन्दा प्यारो मात्रै होईन,गौरव लाग्छ।उसमा न आलोचनात्मक चेत छ,न त विद्रोहको चेतना छ, न नुतन योजना र स्वप्निल सपना।क्यार्नु, “पुस्ता मात्रै नयाँ भएर १ शरीरले होईन,चेतनाले तय गर्छ ,हरेक नयाँ सोच र दृष्टिकोण ।“यस्तो बौद्धिक र नैतिक शून्यताबाट गुज्रिरहेको छ, नयाँ पुस्ता। नयाँ समाज र शिक्षाले “अतिथि देवोः भवः अर्थात पाहुना हाम्रा देवता हुन्“ भन्ने कुरा पनि सिकाएन । न संस्कृति, इतिहास र प्रकृतिको विषयमा सिकायो, हाम्रा पूर्खाले हजारौ वर्षदेखि संरक्षणका लागि अभ्यासमा ल्याएका विज्ञानसम्मत कुरा पनि नयाँ पुस्तालाई रुढ लाग्यो, जस्तैः हामी केटाकेटी हुँदा पानीका मुहानहरूः कुवा,धारो, पँधेरो मुल,पोखरीमा फोहोर गरेमा देउराली देउता लाग्छन् भनिन्थ्यो ,देउताकै डरले मानिसहरूले फोहोर गर्दैन थिए।यसो हेर्दा यो रूढी र अन्धविश्वास जस्तो देखिन्छ ।तर,पूर्खाहरूले पानीको मुल संरक्षणमा अप्नाएको यो विधि कति विज्ञानसम्मत र स्वअनुशासित छ।के नयाँ पुस्ताले यस्ता विधि र तरिका अप्नाउन सक्दैन रु माटो सिकाउने शिक्षाले जीवनको बाटो पनि देखाएन । यसले सिकायो त ,केवल,अष्ट्रेलिया ,युरोप र अमेरिका घरखेत बन्धकी राखेरै भएपनि जाने ।
सबैजसो नैतिक शिक्षाका पाठ्यपुस्तक ईश्वरको वन्दनाबाट शुरू भएका हुन्थे।पाठ्यपुस्तकमा भएका यस्ता अन्धविश्वास र रुढीका कुरा हटाउन सकिन्थ्यो। त्यसैमा पनि इश्वर छ या छैन या मरिसक्यो। त्यो फरक पाटो हो। तर, सत्य कुरा यो होकी ईश्वरको डरमा मानिसहरु नैतिकताको कसीमा उभिन्थे । तर, आधुनिकताको नामको गैरइश्वरवादी समाज न इश्वरदेखि डराउँछ न संविधान कानून र सामाजिक मूल्य मान्यतासग नै ।बरु आधुनिकताको नाममा स्वतन्त्र र छाडा भएको समाजका अगुवाहरुले अदृष्य ईश्वरलाई गाली गर्दै नैतिक शिक्षाको हुर्मत काढेर अनैतिक काम गरे र गरिरहेका छन्। अभौतिकवादी ईश्वरलाई धिक्कारेर उनीहरुले नैतिकताका प्रकाण्ड विद्धान आफूलाई प्रमाणित गर्ने कोशीस गरे । तर, रोचक कुरा यो छकी महाविपत्ति आउँदाका दिनमा उन भौतिकवादीहरुले हे भगवान् हरे भगवान भन्दै अभौतिकवादी इश्वरलाई पुकारेका थिए । जुन कुरा सर्वविदितै छ। यहाँ पंक्तिकारले इश्वर छन् या छैनन्, त्यसप्रति कुनै बहस गर्ने कोशीस गरेको होइन।
पंक्तिकारले ईश्वरको डरमा मानिसहरु अनुशासनको नैतिक घेरामा उभिन्थे । तर, आज गैरइश्वरवादी समाजले आज सबै सामाजिक मर्यादाको पर्खाल भत्काएको छ। घरमा छोराछोरीले बा आमालाई ढोग्न र श्रद्धा गर्न छोडेका छन्। बा आमा जीवनका सृष्टिकर्ता हुन्।तर, नयाँ पुस्तालाई धेरै शिक्षा आर्जन गरेपछि बाआमालाई ढोग्नु उसलाई अल्छि लाग्छ, पाखण्डता लाग्छ। किनकी,हाम्रो शिक्षाले श्रवणकुमारको कथा पढाएन। अंग्रेजीका नाममा शेक्सपियरका प्रेम कहानी पढायो। गुरुत्वआकर्षणका पिता भनिने न्यूटनको बारेमा पढायो, ऋषि कपिलको अनु बम सम्बन्धी सामग्री पढाएन। वेद र संस्कृत भाषालाई छि छि र धुर धुर गर्ने आचरण सिकायो। गुरुलाई प्रणाम गर्न सिकाएन। नमस्कार, हाम्रो प्राचीन कालदेखि अभ्यासमा आएको सत्कार र संस्कार हो। नयाँ पुस्ताले मौका मिले बा संगै हात मिलाउने संस्कार पढायो र सिकायो ।
जसको परिणाम आज समाज अराजक र विद्रुप भएको छ, पूर्व प्रधानमन्त्री प्रचण्डले भने जस्तै राष्ट्र र इतिहासप्रति नयाँ पुस्ताले गौरव गरेको छैन। यद्यपि उनले शिक्षामा परिवर्तन गर्न सक्थे, मुलुकको कार्यकारी तहमा पुगेको व्यक्तिको त्यो हैसियत थियो। पछिल्लो पटक १९ महिना सत्तामा बसेपनि शिक्षा क्षेत्रमा माखो मारेको पनि देखिएन ।उता, युवा पुस्ता हातमा राहधानी बोकेर युरोप अमेरिका कुद्नुलाई उसले सफलता ठानेको छ। बुद्धबृद्धा बाआमालाई आश्रममा थन्काउँदा गौरव मानेको छ । भौतिकवादको नाममा आमा बेचेर सम्वृद्धि खोज्ने विद्यमान नेपाली समाजले पूर्खाले छोडेर गएको ज्ञान,सीप ,नैतिक शिक्षा र परम्परालाई रुढी र अन्धविश्वास भएको जानेको छ। २०६० सालदेखि विद्यालय तहमा पढाइदै आएको नैतिक शिक्षा पाठ्यक्रमबाट हटाएपछि यो राज्यले युगान्तकारी परिवर्तन भएको गौरवको बोध गरेको छ।