२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकको साम्राज्य !


९ आश्विन २०८१, बुधबार  


ग्लोबल आईएमई निजी क्षेत्रबाट सञ्चालित एक निजी बैंक हो,जसको विश्वासको उचाइ भने निकै अग्लिएको छ।कुशल व्यवस्थापक र सूचना प्रविधिको तादम्यताले बैंकले सफलता हासिल गरेको बैंकिङ जानकार बताउँछन् । उनीहरुका अनुसार यश बैंकले डिजिटल बैकिङ कारोबारलाई व्यापकता बनाएको छ।

डिजिटल क्षेत्रमा बैंकले क्रान्ति नै ल्याएको छ । बैकबाट हुने नगदको साटो डिजिटलको माध्यमबाट कारोबार गर्न सकिने प्रविधिको अधिकतम उपयोगबाट बैकप्रतिको आकर्षण बढेको हो । यद्यपि अन्य बैकहरुले पनि डिजिटलको माध्यमबाट कारोबार नगरेका होइनन्। तर, ग्लोबल आइएमई बैकले ग्राहकको मन बेस्सरी जितेको छ।

नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाको रूपमा नेपालको बैंकिङ क्षेत्रलाई लिडिङ गरिरहेको ग्लोबल आइएमई बैंकको ‘पोजिसन’ स्थापनाताका अन्य केही बैंकभन्दा तल रहेको थियो । १८औँ बाणिज्य बैंकको रूपमा २०६३ सालमा १ अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको ग्लोबल आइएमई मर्जर अभियान सुरु गर्ने बैंक पनि हो ।

‘ग्लोबल’ मात्रै नाम रहेको यो बैंकको आइएमई फाइनान्सलाई गाभेपछि ग्लोबल आइएमई नाम पायो । बैंकिङ बजारमा सरकारी र अन्य पुराना बैंकहरूको दबदबा रहेको त्यो समयमा बैंक स्थापना गर्ने लहर नै चलेको थियो । यसै बिचमा उदाएको ग्लोबल बैंक अहिले नेपालको बैंकिङ सेक्टरमा सबैभन्दा ठूलो संस्था बन्न पुगेको छ ।

ग्लोबल आइएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्था आपसमा गाभिएर सबैभन्दा ठूलो बैंक बनेको हो । यो बैंकमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् । पछिल्लो समय ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्चर भएसँगै यो बैंक नेपालकै ठूलो बैंक बनेको हो ।

‘सबैका लागि बैंक’ भन्ने मूल नाराका सञ्चालित यस बैंक सबैभन्दा बढी कर दाखिला गर्ने बैंक हो । बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी ३ अर्ब २० करोड रुपैयाँ आयकर दाखिला गरेवापत ग्लोबल आइएमई राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मानित समेत भएको थियो ।

राज्यको डिजिटल कारोबारलाई कार्यान्वयन गर्दैै आएको यस बैकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरेको छ। नेपाली समाज प्रविधिमैत्री हुँदै जाँदा हरेक व्यक्तिको पहुँचमा मोवाइल फोन पुगेको छ । यसले पनि डिजिटल बैंकिङमा व्यापक सहजता ल्याएको हो । अर्थतन्त्रको हरेक क्षेत्रमा बैंकको योगदान विशिष्ट छ ।बैंकिङ क्षेत्रको दायरा बढ्दै जाँदा डिजिटल प्लेटफर्ममा उपलब्ध सेवासुविधाका कारण बैंकमा सर्वसाधारणको पहुँच समेत बढेको छ। ।

नेपालमा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये शाखा सञ्जाल, पुँजी, ग्राहक सङ्ख्या लगायतका हिसाबले अग्रणी स्थानमा रहेको ग्लोबल आइएमई बैंकले पछिल्लो एक दशक यता डिजिटल रूपमा निकै फड्को मारेको देखिन्छ । ५० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याइरहेको ग्लोबल आइएमई बैंकले डिजिटल यात्रामा नयाँ र विशिष्ट पहिचान बनाएको छ। ग्लोबल आइएमई बैंकले डेबिट कार्ड र मोवाइल बैंकिङ सेवा सन् २००८ बाट सुरु गरेको हो भने क्रेडिट कार्ड सेवा २००९ बाट सुरु गरेको हो । हाल कार्ड प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या १० लाखभन्दा बढी र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या २० लाखभन्दा बढी रहेको बैंकको दाबी छ।

डिजिटल कारोबारमा उत्कृष्ट बैक

भौतिक रूपमा बैंकको शाखा कार्यालयमा नै उपस्थित भएर बैंकिङ्ग कारोबार गर्नु ‘परम्परागत बैंकिङ’ कारोबार हो ।यसमा व्यक्ति स्वयम् टेलरमा गएर पैसा बुझाउने, चेक ल्याएर पैसा निकाल्ने तथा भौचर भरेर गर्ने कारोबारहरू पर्दछन् ।त्यस्तै, डिजिटल बैंकिङमा सेवाग्राहीहरूले ‘भर्चुअल’ बैंकिङ् सेवामा पहुँच पाउँछन् ।यस्तो नवीनतम प्रविधिमा आधारित बैंकिङ्ग सेवाहरू पर्दछन् । यस कारोबार इन्टरनेटमा आधारित छ । आफूलाई जहाँ सहज हुन्छ त्यहाँ रहेर मोबाइल बैंकिङ्गबाट उपलब्ध सेवाको प्रयोग गर्नु आदि यसअन्तर्गत पर्दछ । प्रविधिको प्रयोगले व्यक्ति आफैँले भौतिकरूपमा उपस्थित नभई विभिन्न नविनतम प्रविधिको प्रयोगमार्फत बैंकिङ्ग सेवाको उपभोग गर्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्न र झिक्न सकिन्छ ।

पैसा निकाल्न र जम्मा गर्नको लागि आफ्नो चेक तथा भौचर दाखिला गरेर बैंकको टेलरमा जानुको सट्टा मेसिनबाट सुविधा लिन सकिन्छ । डेबिट कार्डको प्रयोग गरी बिना झन्झट सजिलैसँग एटीएम मेसिनमार्फत बैंकिङ सेवा लिन सकिन्छ । प्रविधिले फड्को मार्दै गर्दा ग्लोबल आइएमई बैंकले पनि भर्चुअल बैंकिङमा जोड दिइरहेको छ । बैंकले ‘बैंक फ्रम होम’ को अवधारणालाई लिएर अगाडि बढिरहेको छ ।

ग्राहकले भौतिक रूपमा उपस्थित नभई आफ्नो सजह ठाउँमा रही बैंकिङ कारोबार लिन सक्ने ‘भर्चुअल’ बैंकिङ प्रणालीमा बढी जोड दिइरहेको बैंकले जनाएको छ । यस्तै, भर्जुअल बैंकको सेवा विस्तारमा बैंकले नवीनतम् प्रविधिमा आधारित मोबाइल बैंकिङ्ग ग्राहकहरूमाझ ल्याई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्राथमिकतामा डिजिटल कारोबारको विस्तार

बैंकले समय सुहाउँदो र ग्राहकहरूको आवश्यकता बमोजिमको बैंकिङ्ग सुविधा उपलब्ध गराउन समकालिन बैंकहरूभन्दा ग्लोबल आइएमई बैंकको अगाडि नै देखिन्छ ।आफ्ना ग्राहकलाई आवश्यकता बमोजिमको बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ग्राहकहरू माझ विभिन्न सेवाहरू ल्याई बैंकको मुल नारा ‘सबैका लागि बैंक’ भन्नेलाई बैंकले थप सार्थकता दिइरहेको देखिन्छ ।बैंकमै उपस्थित हुन नसक्ने अवस्थामा आफूलाई अनुकूल पर्ने स्थानबाट कारोबार गर्ने ब्यवस्थासहित सेवा तथा सुविधा विस्तारमा ग्लोबल आईएमई बैंक सदैव अगाडि नै रहेको देखिन्छ ।

जहाँ बैंकले मुलुकका ७७ वटै जिल्लाहरूमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आईएमई बैंकका खाताबाहकमध्ये करिब ७० प्रतिशत भन्दा बढी डिजिटल प्लेटफर्ममार्फत बैंकिङ्ग सेवाको उपभोग गरिरहेका छन् ।

बैंकले लिएको डिजिटल कारोबारको विस्तारलाई आम जनमानसले उपभोग गर्दै आइरहेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले आफ्ना सबै ग्राहकहरूलाई डिजिटल कारोबारको अनुभव गराउनका लागि अनवरत काम गरिरहेको छ ।बैंकले मोबाइल बैंकिङमा विभिन्न सुविधाहरू थप गर्दै डिजिटल कारोबारलाई विस्तार गरिरहेको छ ।

ग्राहकहरूलाई पुस्ता र प्रविधि रूपान्तरणसँगै आफ्नो अनुभवलाई पनि रूपान्तरण गर्दै लैजान सकुन् भन्ने मूल सिद्धान्तका साथ ग्लोबल आइएमईले मोबाइल बैंकिङ्ग सुबिधामार्फत विभिन्न सेवाहरू जस्तै रकमान्तर, वालेट लोड, क्यूआर स्कान गरी अन्य खातामा रकमान्तर, खाताको विवरण, मुद्दती खाता खोल्ने, मोबाइलको रिचार्ज कार्ड, टिभिको रिचार्ज, खानेपानीको बिल भुक्तानी, बिजुलीको बिल भुक्तानी, इन्स्युरेन्सको प्रिमियम, हवाइजहाजको टिकट, डाटा प्याक खरिद, चेक बुकको अनुरोध आदि जस्ता जीवन उपयोगी बैंकिङ्ग सेवाहरू रहेको छन् । जसले गर्दा बैंकिङ्ग कारोबार गर्न बैंकको सेवा केन्द्रबाट मात्र होइन आफ्नो मोबाइलबाटै सबै सेवाको उपभोग गर्न सकिन्छ । यस्तो सेवाहरूले ग्राहकको आफ्नो सहजतासँगै कारोबार गर्न सम्भव बनाइरहेको छ ।

मोवाइल बैंकिङ् एप

ग्लोबल आइएमई बैंकले आफ्ना बैंकिङ सेवाहरूमा उल्लेखनीय सुधार गरेको छ, ग्राहकको माग अनुसार बैंकले कारोबार सरल र सहज बनाउँदै लगेको छ ।भिसा, मास्टरकार्ड, र चाइना युनियन पे जस्ता प्रमुख अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कहरूसँग साझेदारी गरी बैंकले ग्राहकहरूलाई भरपर्दो र सुरक्षित कार्ड भुक्तानी सेवाहरूको पहुँच सुनिश्चित गरिरहेको छ । साथै, फोनेपे, एनसीएचएल, र एससीटी जस्ता स्वदेशी भुक्तानी गेटवेहरूसँगको सहयोगले स्थानीय ग्राहकहरूको लागि लेनदेनलाई थप सजिलो बनाएको छ ।

बैंकको मोबाइल बैंकिङ सेवा यसको प्रमुख सेवा हो, जसमा भुक्तानी सेवा, रकम स्थानान्तरण, युटिलिटी भुक्तानी, र विभिन्न बैंकिङ तथा ऋण सेवा समावेश छन् । यो मोबाइल प्लेटफर्मले ग्राहकहरूलाई सजिलो र प्रभावकारी रूपमा लेनदेन गर्न सजिलो बनाएको छ । बैंकले क्यास डिपोजिटर मेशिन, चेक डिपोजिटर कियोस्क र एटीएमहरू जस्ता सुविधाहरू उपलब्ध गराएको छ, जसले २४सैँ घण्टा बैंकिङ सेवा प्रदान गर्दछ ।यी सुविधाहरूले ग्राहकहरूलाई बैंक खुल्ने समयको सीमामा बाँधिनु नपरी आफूलाई आवश्यक परेको समयमा लेनदेन गर्न सहज बनाएको छ ।

मोवाइल बैंकिङको प्लेटपर्महरूले प्रायः वास्तविक समयमा खाता व्यवस्थापन सुविधा पनि प्रदान गरिरहेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्ना खाता ब्यालेन्स, लेनदेनको इतिहास समीक्षा गर्न र आफ्नो सुविधाअनुसार स्टेटमेन्ट हेर्न सकिन्छ । मोवाइल बैंकिङ्ले वित्तीय क्षेत्रमा ठूलो क्रान्ति ल्याएको छ । ग्लोबल ग्राहकहरूले मुद्दती निक्षेपको आधारमा ऋण प्राप्त गर्नेछन् । ग्राहकले कुनै पनि समयमा शाखा वा मोबाइल बैंकिङमार्फत तत्काल यस्तो कर्जा लिन सक्नेछन् । यो ऋण मुद्दती सम्झौताको परिपक्वता अवधिभित्र डिमान्ड लोनको रूपमा प्रदान गगर्ने बैंकले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले कुनै पनि कागजात बिना तत्काल ऋण प्राप्त गर्न सक्नेछ ।

डिजिटल कारोबार सुरक्षित

डिजिटल बैंकिङको वृद्धिसँगै, ग्लोबल आइएमई बैंकले डिजिटल कारोबारको सुरक्षित वातावरण सुनिश्चित गर्न सुरक्षात्मक उपायहरू सुधार गर्नमा प्रतिबद्धता देखाएको छ । ग्राहकको डाटा र वित्तीय जानकारीको सुरक्षालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रकारका सुरक्षा प्रोटोकलहरू लागू गरेको छ । यस्तो सुरक्षा मापदण्डहरू फरक–फरक लेनदेनको संवेदनशीलतासँग मेल खाने बैंकले जनाएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम डिजिटल कारोबारमा देखिएको बदलिँदो परिदृश्यलाई समेत बैंकले सम्बोधन गरिरहेको छ । यसबाहेक, ग्लोबल आइएमई बैंकले आफ्ना भुक्तानी प्रणालीहरूको सुरक्षालाई थप सुदृढ गर्न विश्वस्तरीय सुरक्षा प्रविधिहरू अपनाएको छ ।

यसमा डेटा ट्रान्समिसनको क्रममा डाटा सुरक्षा गर्न उन्नत एन्क्रिप्सन प्रविधिहरू र प्रयोगकर्ताहरूका लागि थप प्रमाणिकरण तह थप्ने मल्टी(फ्याक्टर प्रमाणीकरण प्रक्रियाहरू समावेश छन् । यी परिष्कृत सुरक्षात्मक उपायहरू प्रयोग गरेर, बैंकले ग्राहकहरूको विश्वासलाई अझ बलियो बनाउँदै अनलाइन बैंकिङसँग सम्बन्धित जोखिमहरू कम गरिरहेको छ । साथै, बैंकले आगामी दिनहरूमा आउन सक्ने सुरक्षा खतराहरूलाई निरन्तर निगरानी गर्दै आफ्ना प्रोटोकलहरूलाई समेत अद्यावधिक गरिरहेको जनाएको छ । नियमित अडिट र मूल्याङ्कनहरूले सम्भावित कमजोरीहरू पहिचान गर्ने र सुरक्षा उपायलाई प्रभावकारी बनाउन भूमिका खेल्ने बैंकको भनाइ छ । ग्लोबल आइएमई बैंक सुरक्षित डिजिटल बैंकिङ वातावरण कायम गर्न सक्षम रहेको कारणले ग्राहकहरूलाई आत्मविश्वासका साथ कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

डिजिटल सेवा बैंकको रणनीति

ग्लोबल आइएमई बैंकले आगामी दिनहरूमा बैंकिङ सेवाहरूको डिजिटलिकरणमा अझै बढी ध्यान केन्द्रित गर्ने योजना बनाएको छ ।डिजिटल बैंकिङ प्लेटफर्मलाई सुदृढ गर्दै सुरक्षात्मक उपायहरूलाई सुधार गर्ने बैंकको लक्ष्य रहेको छ । डिजिटल कारोबारप्रति बढ्दो निर्भरतालाई स्वीकार्दै, बैंकले प्रयोगकर्तालाई थप सहज र सरल सुविधा प्रदान गर्ने र ग्राहकहरूको डाटा सुरक्षित राख्न सुनिश्चित गर्ने नवीन विशेषताहरू सुरु गर्ने योजना बनाएको छ । बायोमेट्रिक प्रमाणीकरण र एआई(सञ्चालित डाटा एनालाइटिक्स जस्ता अत्याधुनिक सुरक्षा प्रोटोकलहरू एकीकृत गरेर बैंकले सबै डिजिटल कारोबारहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ। ग्राहकहरूको विश्वास र आत्मविश्वास कायम गर्न सुरक्षाप्रति प्रतिबद्ध हुनु अत्यावश्यक रहेको बैंकले जनाएको छ ।

अनलाइन र मोबाइल बैंकिङ कारोबारतर्फ आकर्षण बढ्दो । ग्राहकहरूको प्रतिक्रिया सङ्कलन गर्दै डिजिटल सेवाहरूलाई अझै सुधार र विस्तार गर्ने योजना बनाएको बैंकले जनाएको छ । ग्राहक केन्द्रीत दृष्टिकोणले प्रदान गरिएका सेवाहरू प्रयोगकर्ताहरूको बदलिँदो आवश्यकताहरू र प्राथमिकताहरू अनुसार हुने र जसले बैंकिङ कारोबारलाई अझ सुविधाजनक र पहुँचयोग्य बनाउँने ग्लोबल आइएमई बैंकको विश्वास रहेको छ । सुरक्षित, प्रभावकारी, र नवीन बैंकिङ समाधानहरू प्रदान गर्न अग्रणी बन्ने लक्ष्य राखेको ग्लोबल आइएमई बैंकको आगामी कदम बैंकिङ कारोबार अनुभवलाई सुधार गर्ने मात्रै नभई प्रतिस्पर्धात्मक वित्तीय परिदृश्यमा बैंकलाई अग्रणी स्थानमा स्थापित गर्ने बैंकको योजना रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ५९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित