यीनी हुन्, विणा पाँडे,पेशाले आर्किटेक इन्जिनियर । झट्ट हेर्दा यीनी निकै सुन्दर ,हसिली,भरिली, रसिली अनि सदैव मुस्कुराउँदै गरेकी देखिन्छिन्। हो, अवस्य पनि यीनी निकै सुन्दर र सम्पूर्णको बिम्ब झै देखिन्छिन् हर क्षण। यो स्वभाविक पनि हो ।
बौद्धिक तथा भौतिक हिसाबले पनि निकै अब्बल देखिन्छिन् यीनी । यीनको जन्म भने आज भन्दा साढे ४ दशक अघि काठमाडौ महानगरपालिकाको वडा नम्बर १६ पकनजोल टोलमा भएकोे थियो ।
यीनकी आमाका अनुसार यीनको जन्म भगवान शिवको आरधनाको तिथिमा भएको थियो । पवित्र तिथिमै जन्मभएकोले पनि यीनको जन्मकुन्दली अत्यन्तै राम्रो थियो र छ पनि । देवश्क्तिकी रुपमा जन्मिएकी यीनी खान्दानी परिवारकी प्यारी नातिनी अनि छोरी भएर हुर्किएकी हुन्।पुख्र्यौली विरासत पनि चानचुने थिएन र हैन। कालु पाँडे जस्ता नेपाल एकीकरणका योद्धा हुन्,पुख्र्यौली । दरबारसंग निकट भएकैले पनि परिवार उच्च वर्गकै थियो र हो पनि । यसैमा पनि भगवान शिवकै नाममा साधनाकै क्रममा जन्मिएकी थिईन् , यीनी । सुख सयलमै हुर्किएकी यीनले त्यो जमानामा स्नाकोत्तर तहसम्म आर्किटेक इन्जिनियरिङ विधामा लेखेपढ गरिन्। अहिलेको जमाना होइन त्यो । जतिबेला छोरी मान्छेले उच्च तहको अध्ययन गर्नु सपना जस्तै थियो । ।तर, एक्ली छोरी, सबैकी प्यारी छोरी भएर पनि होला । यीनको शिक्षा– दीक्षामा सबैको चासो र चिन्ता थियो, यीनी प्रतिको माया र ममताको गणना असीमित थिए।
जतिबेला यीनी जर्मनमा अध्ययन सकाएर नेपाल फर्किइन्। त्यसपछि घरमा विणाको विहेको कुरा चल्न थाल्यो। उमेर र जिम्मेवारी बहन गर्ने क्षमताको हिसाबले यीनमा लगभग परिपक्वता देखिसकेको थियो । आमाको प्रस्तावपछि यीनले रोशेन्द्र खड्कासंग विक्रम सम्वत २०६४ साल फागुन महिना ३ गतेको तिथिमिति पारेर लगनगाँठो कसिन्। श्रीमान् रोशेन्द्र पनि इन्जिनियरिङ विधाकै विद्यार्थी थिए। शैक्षिक विधाको हिसाबले पनि मिल्ने भएपछि यीनको विहेपछिको जिन्दगी अझै थप मुस्कुराउँछ, हर बिहानीका रोषणी किरणहरुले सहयात्रामा थप खुशी र आनन्द अंकुराउँछन्। यही र यीनै नुतन सपना र योजनाहरु थिए, यीनको ।
श्रीमान्को खुशीका लागि तन मन सबै –सबै सुम्पिएकी थिईन्, औधि श्रद्धा अनि सम्मान पनि उस्तै गर्थिन्। यीनले श्रीमान्को खुशी आफ्नो खुशी ठानेर विहे भएको सात महिनापछि युरोप घुमाउने सोच बनाईन्। देश– विदेशको भ्रमणबाट थप ज्ञान पनि आर्जन होस् भन्ने हेतुले बेलायत जस्तो मुलुकमा अध्ययन गर्न प्रोत्साहित गरिन्। रोशेन्द्रले पनि अमेरिकामा व्यववस्थापन संकायमा स्नाकोत्तर अध्ययन गर्न भनी धेरै पटक विहेअघि भिजाको आवेदन गरेपनि अस्वीकृत भएको थियो । विहे अघि तीन पटक आवेदन अस्वीकृत भएपछि उनी विदेश अध्ययनको योजना सबै थाँती राखेका थिए। तर, विहेपछि विणाले श्रीमान् रोशेन्द्रको त्यो अधूरो सपना पूरा गर्ने सोच बनाईन्। विदेश नजानेगरी सोच बनाएका रोशेन्द्र विणाकै पहलमा बेलायत गए। बेलायतमा अध्ययन हुने भयो । यीनी श्रीमान् रोशेन्द्रलाई लिएर बेलायत पुगिन्। रोशेन्द्रको बेलायत अध्ययनका लागि विणाकी आमा र दाजुले पनि निकै सघाए । यीनले पनि आफ्नौ सौन्दर्यका गहना भनेको नै श्रीमान्को उच्च शिक्षा हो, घर परिवारको सुख र आनन्द हो भन्ने ठानेर सधै अग्रसर भईन्।
भोलिको सुन्दर भविष्यको सपना खोप्दै जाँदा विहे भएको करिब डेढ वर्षपछि यीनी आमा बनिन्। पहिलो सन्तान भएको खुशीयालीमा अमेरिकामै जन्म दिने योजना बन्यो। यही अनुसार विणा पाँडे अमेरिकाको टेक्सास पुगिन्। टेक्सासमा लामो समयदेखि बस्दै आएकी यीनकी आमाजु(श्रीमान्को दिदी)संगै बस्ने गरी हिडिन्। पहिलो बच्चा पनि भएकोले सहजै जन्म होस् भन्ने हेतुले यीनी त्यहाँ पुगेकी हुन् ।
बच्चा जन्मिने तिथि मिति नजिकैदै थियो, घर(नेपाल)बाट तारन्तर फोन आइरहन्थ्यो, यीनलाई। सासु आमाले पहिलो बच्चा जन्मिने मितिको दुई दिन अघि नेपालबाट फोन गर्दै भनिन्। “बुहारी, हामी तिमीलाई शुभआशिरवाद दिन चाहान्छौ, तिमीहरुको पहिलो सन्तान छोरा नै होस्। छोरा नै भएपछि ढुक्क हुन्छ। दोश्रो सन्तान जन्माएपनि हुन्छ, नजन्माएपनि हुन्छ ।” यस्तै– यस्तै भन्दै उनले आशिरवाद दिन्थिन्। सासु आमाको नाती मोह देखेर विणा स्वयं तीन छक पर्थिन्। उच्च घराना परिवार अनि उच्च शिक्षा हासिल गरेका श्रीमान् पाएकी यीनका लागि सासु –आमाको नाती कामनाले यीनलाई इन्तु न चिन्तु बनाइरहन्थ्यो । विणाका दाजु जर्मनीमा बस्दथे, उनी बहिनीलाई औधि माया गर्थे। बहिनीको सुत्केरीको समयमा कुनै सहयोगको खाँचो पर्ला कि भनेर उनी पनि टेक्सासमा थिए।त्यस समयमा तारन्तर घरबाट सासु –आमाले गर्भवती बहिनीको स्वास्थ्यको कुरा भन्दा पनि नातीप्रतिको औधि चाहना देखाएको सुनेर दाजु पनि चकित पर्थे ।
नेपाली तिथिमिति अनुसार २०६६ साल मंसिर २० गते विणाले पहिलो सन्तानको रुपमा अमेरिकाको टेक्सासमा छोरी जन्माईन्। घरमा लक्ष्मीको आगमन भयो। छोरीको न्वारनको नाम आकर्षण खड्का राखियो। आकर्षण करिब डेढ महिनाकी थिईन् । उता रोशेन्द्रको पनि बेलायत अध्ययन सकिदै थियो। टेक्सासबाट छोरी आकर्षणलाई कोखेलामा बोकेर श्रीमान रोशेन्द्रको बेलायतमा हुने दीक्षान्त समारोहमा पुगिन्। श्रीमान्को खुशीका लागि भनेर भर्खरै सुत्केरी भएपनि यीनी दीक्षान्त समारोहमा पुगेकी हुन्।
विश्वविद्यालयको पुस्ताकालयमा बसेर केही पुस्तक अध्ययन गदैै उनको पर्खाइमा थिईन्। त्यही बेला रोशेन्द्र श्रीमती विणा भेट्न पुगेकोमा खुशी हुनुपर्ने थियो। तर, उनी बेलायतमा बस्दै आएको आफ्नो कोठाको ढोकामा एउटा पानामा लेखी आफू नेपाल फर्किएको भन्दै विणालाई त्यहीँ छोडेर नेपाल हिँडे । त्यत्तिबेलादेखि विणाको मन विस्तारै दुख्न थाल्यो। सुत्केरी अवस्थामा श्रीमती छोरीलाई लिएर नेपाल फर्कनुपर्ने उनी डेराको ढोकामा सूचना टाँसेर नेपाल हिँडे । विदेशी भूमिमा सुत्केरी श्रीमती अनि सानो दुधे बालकलाई त्यसरी अलपत्रै पारेर उनी नेपाल हानिएका थिए । अग्निको साक्षी राखेर विहे गरेकी श्रीमती अनि पहिलो सन्तान छोरीप्रति माया देखाउनु पर्ने थियो । बिडम्बना, उनी श्रीमती र छोरीलाई पूरै बेवास्ता गरेर एक्लै हिँडे । सामान्य एउटा मानवीय दायित्व समेतको पनि खाँचो ठानेनन् उनले । विणाको इन्जिनियरिङ विधाको शोधपत्र(थेसिस) मात्रै बाँकी थियो। छोरीको माया घर र माइतीप्रतिको कर्तव्य र दायित्वकै कारण उनले आफ्नो शोधपत्र थाँती राखेर नेपाल फर्किन्।
जीवनमै विर्सिन नसकिने त्यो घटनाले अहिले पनि यीनलाई बेला–बेलामा झस्काउँछ । यीनले त्यत्ति पीडादायी घटनालाई नेपाल फर्केपछि विस्तारै विस्तारै विर्सदै जान थालिन्। छोरीको माया अनि परिवारप्रतिको दायित्वलाई बोध गरेरै फेरि अर्काे सन्तानको लागि योजना बन्यो । विणाले आफै सबै आर्थिक लगायतका सबै प्रबन्ध गरिन्। श्रीमानको खुशी अनि परिवारभित्रको कान्तिका लागि यीनले अतीतलाई विर्सिदै गईकी हुन्।
विणाले श्रीमान्को युरोप घुम्ने चाहना अनुसार योजना बनाईन्। श्रीमान् रोशेन्द्र र छोरी आकर्षणलाई लिएर यृरोप हिडिन् । भ्रमणका क्रममा लाग्ने सबै आर्थिक जोहो विणा स्वयं आफैले गरेर श्रीमान्लाई जिम्मा दिएकी थिईन्। परिवारमा खुशी र आनन्दनका लागि यीनले बनाएको योजना अनुसार जर्मनको म्यूनिखमा यीनीहरु पुगेका थिए। युरोप घुम्ने खुशी र आनन्द लिने यीनको सपना थियो । तर, त्यो सपना जब उनीहरु जर्मनको म्यूनिक शहरमा पुगे,तब सपनाको गल्र्याम्मै ढल्यो । श्रीमान् रोशेन्द्रदे विणालाई एकाएक एक्लै छोडेर छोरी आकर्षणलाई लिएर नेपाल फर्किए । जतिबेला विणा अढाइ महिनाकी गर्भवती थिईन्। युरोप भ्रमणको सबै टिकट उनै रोशेन्द्रसंग थियो । तीन हप्ताको भिजा अवधि बाँकी थियो । युरोपका इटली जर्मनी लगायतका देशहरु भ्रमण गर्ने पूर्व योजना अनुसार यीनीहरु हिडेका थिए। श्रीमान् रोशेन्द्र छोरी लिएर नेपाल फर्किएपछि अलपत्र परिन् विणा ।
पढेलेखेकी युरोप राम्रोसंग जानेकी पनि थिईन तर, भ्रमणको टिकट सबै सबै उनले श्रीमानलाई हात लगाएकी थिईन्। श्रीमानले त्यसरी छक्काएर अलपत्र परेकी यीनी बल्लतल्ल आफन्तसंग अनुनय विननय गरेर नेपाल फर्किईन्। विणामाथि गरिएको यस्तो व्यवहार दोश्रो थियो । यसको भित्री कारण छोराको सपना नै देखिन्छ । विणाले दोश्रो पटक गर्भवती भएपछि छोरो जन्माइदियोस्, यदि छोरो नभएमा गर्भपतन गरोस् भन्ने जबरजस्ती दबाब परिवारमा थियो । त्यसका लागि यीनीमाथि गर्भ परीक्षणको दबाब तारन्तर भएको थियो । यीनी जे भएपनि भगवानको आशिरवादको भन्ने पक्षमा थिईन।तर, पितृसत्ताको गलत सोच र कुविचार ग्रसित परिवारले यो सत्य र यथार्थतालाई स्वीकार्ने स्थिति थिएन ।
‘जिन्दगी सोच जस्तो रहिनछ’ भन्ने गीतको बोल जस्तै बन्दै गयो यीनको जिन्दगी । पारिवारिक परिवेश अनि वातावरण विस्तारै धुमिल हुँदै गयो । घरमा जब छोरी आकर्षण जन्मिईन्, तबदेखि श्रीमान्, सासु –ससुराले विणालाई दोषी देखाउन थाले। मानौ विणाले चाहेमा छोरा अर्थात नाती नै जन्मिन्थ्यो। कुलको मान –सम्मान बढ्थ्यो। यीनले नाती नजन्माउँदा कुलमा ठूलो क्षति भयो। हो यस्तै यस्तै भाष्यको जाँतोमा निचुरिदै दिनहरु अघि बढ्न थाले । पितृसत्ताको कुप्रथाको गलत सोच र चिन्तनबाट दीक्षित परिवारमा खैलाबैला हुन थाल्यो । घरमा क्रमश कलहको आगो सल्किन थाल्यो ।तैपनि विणाले हर प्रयत्न गरिरहन्थिन्, श्रीमान् अनि सासु खुशी राख्न। तर, सोच नै जबरजस्त जकडिएको पितृसत्ताको कुप्रथाले ग्रसित थियो । स्वरुप बदल्न सकिएला तर, सोच बदल्न सकिनन्, यीनले । झन् पछि झन् कलहको बादल बाक्लिदै जान्छ, दिउँसै अध्याँरो हुँदै जान्छ यीनको जिन्दगीमा । सुन्दर र सुखी भविष्यका सपनाका महलका पेचकिला खुकुलो हुन थाल्छन् । जिन्दगीको सारथि भनिएका श्रीमान् विस्तारै पराइ हुँदै जान्छन्। तैपनि विणा हिम्मत हार्दैनिन्। कोखेलामा छोरी च्याँपरै भएपनि दैनिकी चल्छ। जिन्दगीको लामो उतारचढावको चक्र यसैगरी घुमिरहन्छ ।
हुन त मानिसहरु भन्छन्, मानव चोला दुःखको सागर हो, जन्मिएपछि हरेक दुःखहरु झेल्नुपर्छ, भोग्नुपर्छ,हरेक दुःखका पहाडहरु छिचोलेरै सुखको पारिलो घाम लाग्नुपर्छ,जिन्दगीमा । दुःखको जँघार नतरी सुखको मोती भेटिन्न यहाँ । अवस्य पनि दुःखको हजार घुम्ति र कुइनेटा पार नगरी सुःखको उज्यालो अवस्य मुस्कुराउँदैन । बिहानीको मोती जस्ता रोषणी किरणले ओठमा हाँसो र मनमा कान्ति ल्याउदैन । यो कुरा पक्का हो । तर, तनको दुःखको भारीले एउटा खुशी ल्याउँछ, जब सुखको गोरेटो शुरुवात हुन्छ। जतिबेला साथ,सर्मपण, सदभाव, समभाव आदि इत्यादीले विश्वासको घर उभिएको हुन्छ। त्यही विश्वासरुपी घरको छानोमुनि हजारौ जीउँदा सपनाहरु अंकुरित हुन्छन्। शरीर दुईवटा भएपनि मन एउटै हुन्छ, सपनाहरु साझा बनिदिन्छन्। मनको मझेरी अनि खुशीको चौतारीमा लुकामारी खेल्दै जीवनको पांग्राहरु निरन्तर अघि बढ्छन्।
समयको चक्र घुम्दै फिर्दै आयो– गयो, पहिलो छोरी जन्मिएको करिब ८ वर्षपछि विणा पाण्डे फेरी आमा बन्ने भईन। विक्रम सम्वत २०७४ श्रावण २२ गतेका दिन काठमाडौको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भईन्। चिकित्सकले दिएको सल्लाह अनुसार शल्यक्रियाबाट मात्रै सम्भव थियो, बच्चा जन्माउन । यीनले एकजना साथी लिएर ग्राण्डी पुगिन्। ग्राण्डी पुग्नु अघि यीनले आमा फूपु साथीभाइ सबैलाई जानकारी गराईन्। तर, यीनको यो अवस्थामा अस्पतालमा साथ दिन फूपु,साथी रितु गाैतम र प्रकृति केसी थिए। अस्पतालमा अप्रेशन गर्नुछ, गर्भवती मान्छे, आयआर्जन लगभग शून्य जस्तै थियो। तैपनि जे जति बचतमा थियो, त्यही लिएर यीनी अस्पताल भर्ना भईन्। उता विणाको आमाले घरपट्टी खबर गरी दिएकी थिईन्,ग्राण्डीमा शल्यक्रियाद्वारा बच्चा जन्माउँदै छे भनेर । तर, यीनका श्रीमान् रोशेन्द्र खड्कासहितका कुनैपनि परिवारका सदस्य गएनन् भेट्न, अप्रेशन जस्तो जटिल अवस्थामा पनि ।
तैपनि भगवानको आशिरवादले यीनले मिति २०७४ साउन २३ गते सोमबारका दिन कान्छी छोरीको ग्राण्डीमा जन्म दिईन्। छोरीको जन्मपश्चात चिकित्सकहरुले बच्चा निकै स्वस्थ र तन्दुरुस्त भएको प्रतिक्रिया दिए। त्यो प्रशव पीडामा पनि विणा खुशीले हर्ष विभोर भईन्। खुशीका आँसुहरुले दुबै आँखा भिजे । त्यत्तिबेला विणाकी आमाले छोरी जन्मिएकी छे, तपाईको अनुहार जस्तै छ, हजुरलाई पनि बधाइ छ भन्दै ज्वाँइ रोशेन्द्रलाई फोन गरिन्। दोश्रो सन्तान पनि छोरी जन्मिएपछि रोशेन्द्रमा खुशी भन्दा आक्रोश भएरै होला उनी पुगेनन्,छोरी जन्मिएपछि अस्पतालमा पहिलो दिन । सोमबार बच्चा जन्मिएकी थिईन्। मंगलबार दोश्रो दिन भएको थियो । तर, उनी तेश्रो दिन अर्थात बुधबारका दिन मात्रै आफ्नी आमा फूपुसहितका नातेदार लिएर ग्राण्डी पुगे। तर, उनीहरु अस्पतालमा पाँच मिनेट पनि अडेनन्। एकछिन झुलुक्क बच्चीको मुहार हेरेपछि ग्राण्डीबाट बाहिरिन लागे ।
त्यत्तिबेला विणाकी आमाले अनुरोध गरिन्, “ठूली छोरी लक्ष्मी, सानी छोरी महालक्ष्मी भोलि बिहीबारको दिन अर्थात चौथो दिन अस्पतालबाट डिस्चार्ज भएपछि श्रीमती र छोरीलाई आफ्नै घरमा लगिबक्स्योस् ।” यति भनेपछि रोशेन्द्रले जवाफ फर्काउदै भने, ‘यसले राम्रै अस्पतालमा बच्चा जन्माएकी छे, तल पाकिङमा ट्याक्सी जत्तिपनि छन्। आफ्नै घरमै लगेर छोरी नातिनी हुर्काइ बक्सिएला ।’
रोशेन्द्रको यस्तो क्रूर जवाफले विणाकी आमालाई असह्य नै भयो । अनि उनले ठीकै छ। म मेरी छोरी र नातीनीलाई मेरै घरमा हुर्काउँछु भनिन्। अनि विणा पनि कान्छि छोरी लिएर माइतीमा गइृन्। जे जस्तो भएपनि आमा नै उनको खास साहरा बनेकी थिईन्। विणाले पनि आफूसंग जे जति सामथ्र्य थियो, त्यसैको उपयोग गर्दै छोरी आभूषणलाई हुर्काईन्। आभूषण यीनको लागि प्राण भन्दा प्यारी छिन्। उनै प्यारी छोरी आभूषणले गएको भदौमा कैलाश पर्वतको दर्शनको क्रमममा ५ हजार ६२० मिटर उचाइको डोल्मालासम्म तीर्थ यात्रा गरेर कीर्तिमान राखिन् । सम्भवत यो कीर्तिमान नौलो र फरक क्षमताको प्रदर्शन हो ।उनै आभूषण नै विणाको साहरा,सारथि र सपना बनेकी छिन्, आभूषणको भविष्य नै विणाको एकल सपना भएको छ। यही सपनाको यात्रामा यीनी निरन्तर संघर्षरत छिन्। ००००