उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताएा छन् । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरे । उनले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिए ।
उनले निर्वाचनमा वुद्धि विवेक पु¥याएर नेतृत्व छान्न समेत मतदातालाई आग्रह गरे । निर्वाचनको समयमा वुद्धि विवेक नपु¥याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ । उनले निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न पनि आग्रह गरे ।
उनले भने, ‘अहिले देश निर्वाचनमय बनेको छ । सबैजनाले इलेक्शनमा भाग लिन्छु भनेर आएको छ, यो सबभन्दा खुशीको विषय हो । अब इलेक्शन हुनुपर्छ । कुनैपनि हालतमा नेपालमा तोकिएको समयमा इलेक्शन हुन्छ, हुनुपर्छ । यो समय अब सबैले आफ्नो बुद्धि विवेक लगाउने समय हो । जुन बेला बुद्धि विवेक लगाउने समय आउँछ, त्यसबाट हामी पछाडी हट्ने र त्यो समय अवसर गुमेपछि अनि बोल्दै हिड्ने यो पनि भएन यो गरेन भन्ने होईन । अब विवेक लगाउनुस् । सही लिडरसिप सेलेक्सन तपाईहरुले गर्नुस् । त्यो सबैभन्दा महत्वपूर्ण समय अहिले आएको छ । त्यो समयलाई सदुपयोग गर्नुस्, सहि व्यक्तित्व, नयाँ लिडरसीप, योङ लिडरसीपहरु जसले देशलाई परिवर्तन गर्नसक्छ, देशलाई एउटा नयाँ दिशा दिनसक्छ, त्यस्ता व्यक्तित्वहरुलाई छान्ने,चुन्ने काम तपाईंहरुले गर्नुहोला ।’
उनले यसअघिको नेतृत्वले राजनीतिक परिवर्तन नेतृत्व गर्न सफल भएपनि विकासको नेतृत्व गर्न भने असफल भएको पनि बताए। उनले अब देश विकास गर्ने नेतृत्वको आवश्यक रहेको उल्लेख गरेका थिए ।








