मध्यपूर्वको आकाश , जो यतिबेला छोपिएको बारुदको धुँवै धुँवाले। युद्धको उन्मादमा शासकहरु उत्सव मनाइरहेका पनि होलान् । जीत र हारको क्यालकुलेर थिचिरहेका पनि होलान् । तर, विश्व अर्थतन्त्रको इकोसिस्टम पनि यही बारुदी धुँवामै निस्सासीरहेको छ । विश्वकै उत्कृष्ट रोजगारीको गन्तव्य तेलको भण्डार हो । यही तेलमाथि शक्ति राष्ट्रहरुको बन्दुकको झेलले अर्थतन्त्र हायलकायल भएको छ ।
युद्ध अघि प्रति ब्यारेल ८० डलर हाराहारीमा रहेको ब्रेन्ट क्रुडको मूल्य अहिले १२० डलरले नेटो काटेको छ। नेपाल जस्ता आयातमा निर्भर विकासशील राष्ट्रहरूको हरिविजोग भइरहेको छ । दैलेखको पेट्रोलियम पदार्थको उत्खनन्लाई सिरानीमा राखेर हामी पेट्रोलिय पदार्थकै अभावले फनफनी रन्फन्निरहेका छौ । उता, तेलको भाउ आकाशीयो यता महँगीले हाम्रो ढाड बेस्सरी सेक्यो ।
खाडी क्षेत्रमा मच्चाइएको युद्धको बाछिटाले अमेरिका जस्तो विकशित देशमा तेल र शेयर बजारमा आतंक सिर्जना मात्रै गरेको छैन । नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशकै बिल्लिबाँठ हुनेवाला छ । अर्थतन्त्रमा देखा परेको यो दुष्चक्रको उपचार या निदानको ओखतीको विषयमा छलफल र बहस हुनुपर्ने थियो । विडम्बना, अर्थतन्त्रको यो भयावहको सर्जरी गर्न भन्दा पनि विदेशी माल बेच्नेहरुकै सत्ता र शक्तिमा प्रभाव र प्रभुत्व छ । यस्तो अवस्था सिर्जना हुँदैछ , जसले हाम्रो अर्थतन्त्रलाई अझै गहिरो संकटमा फसाउँदैछ । यो शक्तिको उन्मादले सिर्जित बेकामे युछले विश्वव्यापी अर्थतन्त्रमा आउने १ प्रतिशतको गिरावट आउने आंकलन छ । जसको बाछिटाले नेपालमा ५ देखि १० प्रतिशतसम्मको आर्थिक संकुचन ल्याउने खतरा उत्तिकै छ ।
विप्रेषण र आयातमा निर्भर छ, हाम्रो अर्थतन्त्र । युवाको पसिना र विदेशी तेलमा चलेको अर्थतन्त्रको मुहानमै अमेरिकी सैन्य हमलाले तेल व्यापारमा धक्का मात्रै दिएको छैन, लाखौ युवाहरु स्वदेश फर्किए भने विप्रेषणमा पनि ठूलो गिरावट आउनेवाला छ । ग्यासको विकल्पमा इन्डक्सचन चुल्होको प्रयोग गर्ने विषयमा न राज्यको कानमा बतास चलेको छ, न स्वयं उपभोक्तामा यो जागरण र चेतना देखिन्छ । सबै विदेशबाट आयातित मालमै समृद्ध देख्ने नेपाली समाज यतिबेला एउटा सिलिण्डर ग्यासकै लागि इन्तु न चिन्तु छ ।
१२ लाख हेक्टर खेत बँझाएर कनिकाको रिफाइन र रिमेक गरेको लङग्रेन चामलको भात खाने समाजमा उद्यम र उत्पादनको चेतना नै छैन । २०७२ को महाभूकम्पमा आत्मनिर्भरताको छिपछिपे जागरण शुरु भएको थियो । तर, नाकाबन्दी हटेसंगै चुल्होचौका, नाना छाना सबै आयात गर्नेतिर लाग्यो नेपाली समाज । खाडीमा कमाएको पैसा खाडीको तेल र भारतको चामलले पेट भर्ने नियतीका बीचमा खाडी युद्ध चर्किएको छ । यदि खाडी क्षेत्रको यो द्वन्द्वका कारण ५० प्रतिशतमात्र विप्रेषण घट्न पुग्यो भने पनि यसमा आश्रित घरपरिवारको पनि विचल्ली हुनेवाला छ । उनीहरू पुनः ऋणको पासोमा पर्ने र चरम गरिबीमा फेरि धकेलिने खतरा छ । विश्वव्यापी रूपमा देखापर्ने उच्च मूल्यवृद्धिको असरबाट नेपाल जस्ता मुलुकको अर्थतन्त्रको ढाड भाँचिने पक्का छ । डलरको आपूर्तिमा आउने कमीले नेपाली रुपैयाँलाई थप कमजोर बनाउँदा आयातित मुद्रास्फीति अझै बढ्ने र यसले ‘चेन इफेक्ट’ मार्फत कृषि देखि निर्माणसम्मका सबै क्षेत्रको अत्यधिक लागत बढाइदिनेछ। यसले गर्दा एकातिर आम्दानीमा गिरावट र खर्चमा अत्यधिक उछाल आउने छ।
विश्व बैंकको सन् २०२२ को तथ्यांक अनुसार कुल विप्रेषणमा ५७ प्रतिशत खाडी क्षेत्रले धानेको छ । विशेष गरी कतार र साउदी अरब मात्रै नेपालको कुल विप्रेषणको करिब ५२ प्रतिशत योगदान भएका मुलुक हुन् । जहाँ अहिलेको युद्धले सबै भन्दा बढी प्रभाव पारेको छ। यो युद्धको केन्द्र विन्दुमा इरान छ। यसका आसपासका देश यो युद्धबाट प्रत्यक्ष प्रभावित छन् । विदेशी मुद्रा आर्जनको आधा भन्दा बढी श्रोत भएको यस क्षेत्र ठप्प भएमा हाम्रो अर्थतन्त्रको हालत झन् कस्तो होला ? ००००








