६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

नेकपामा प्रचण्डका ‘एकल उत्तराधिकारी वर्षमान’


६ चैत्र २०८२, शुक्रबार  


जनयुद्धको भीषण भट्टीबाट उदाएका नेता हुन्,वर्षमान पुन। रोल्पाको धर्तीमा जन्मिएर मुलुकमा संघीय समावेशी गणतन्त्र स्थापनाका लागि उनले गरेका संघर्ष , समर्पण र कुर्बानी अन्गिन्ति छन् ।

जनयुद्धको बेलादेखि सधैं प्रचण्डको राइट ह्याण्डको भूमिकामा रहेका उनी २१ फागुनमा तेस्रोपटक रोल्पाबाट ठूलो मतान्तरले विजयी भए ।जनयुद्धको आधार इलाकामा पार्टीको विश्वास र भरोसा कायम गर्न सफल वर्षमान पुन अनन्त समन्वयकारी र समझदारी नेताको रूपमा परिचय बनाएका नेता हुन्।

नम्र र शालीन क्रान्तिकारी नेताको छवि स्थापित गरेका अनन्त साविकको माओवादीको तर्फबाट अर्थमन्त्री बन्ने अवसर पनि पाए। पहिलोपटक २०६७ माघ २३ गते तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको अनुभव संगालेका उनी २०६८भदौ १२ मा पहिलोपटक अर्थमन्त्री भएका थिए । एकताका रोल्पा भन्दा डोल्पा भन्ने काठमाडौलाई जनयुद्धको माध्यमबाट रोल्पाको नयाँ मानक र पहिचान बनाउन पनि उनी सफल भए ।

कानुनमा स्नातकोत्तर अध्ययन गरेका वर्षमान पार्टी निर्माण र सरकार सञ्चालनमा पछिल्लो समय पनि प्रचण्डलाई भरपुर सघाए। २०८१ असार अघि प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन उनले उल्लेखनीय भूमिका खेले। जतिबेला उनी अर्थमन्त्री थिए । माओवादी केन्द्र नेतृत्वको १८ महिनाको सरकारलाई सबैले स्मरण गर्छन्, कारण हो, नक्कली भुटानी शरणार्थी काण्डदेखि आफ्नै पार्टीको नेतालाई समेत पक्राउ गर्ने गरेको साहसिक कदम । जसका कारण पनि तत्कालीन प्रचण्ड सरकारप्रति मानिसहरूको सकारात्मक मूल्यांकन छ।

जतिबेला प्रचण्ड नेतृत्वको सरकारले भ्रष्ट विरूद्ध फायर खोल्दा आफै ढलेको थियोे । त्यतिबेला रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए। उनले नक्कली भुटानी शरणार्थीका आरोपिततिर अनुसन्धानको सुइ सोझ्याउँदा सरकार मात्रै ढलेन। २०८१ असार अन्तमा एमाले र कांग्रेसको गठबन्धन सरकार बन्यो।त्यस सरकारले रविमाथि प्रतिशोधको राजनीति साँध्न थाल्यो । त्यतिबेला प्रचण्डदेखि वर्षमान जस्ता नेताहरूले ओली सरकारको ज्यादतीको विषयमा बोल्दै आए।

सहकारी ठगीको मुद्दामा तत्कालीन सरकारले गरेको विभेदकारी कदमको विषयमा संसदमा धेरै पटक साविकको माओवादी केन्द्रले आपत्ति जनायो । तर,संसदीय गणितमा दुई तिहाइको दम्भले कसैको प्रश्न सुन्ने धैर्यता र क्षमता थिएन, तत्कालीन ओली सरकारको। यही अहंकार र दम्भले गएको भदौ २४ मा सत्ताबाट भाग्नु परेको जगजाहेर नै छ।

तत्कालीन एमाले र कांग्रेसको सत्ता स्वेच्छाचारीले जेनजी विद्रोह भयो । यो जायज विद्रोहलाई नैतिक समर्थन गर्दै परिवर्तनलाई आत्मसाथ गर्न माओवादी केन्द्र तयार भयो । पार्टी नेतृत्वले उठाएको यो जोखिममा पनि वर्षमान साथसाथै उभिए । जतिबेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बन्यो।

संविधान र गणतन्त्रको रक्षाका लागि माओवादी सुशीला नेतृत्वको सरकारलाई स्विकारेर अघि बढ्यो। २१ फागुनको निर्वाचन सम्पन्न गर्न सबैभन्दा तदारुकता र सक्रियता उसैले देखायो भने , सरकारलाई दलको तर्फबाट पूर्णरूपमा सघायो। जसको परिणाम मुलुकमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइ नयाँ जनादेश प्राप्त भएको छ।

यश निर्वाचनमा साविकको माओवादी अर्थात् अहिलेको नेकपाले संसदमा १७ सीट मात्रै प्राप्त गर्यो। रास्वपाको चलेको बेगावान हुरीमा यति जनमत पनि उसका लागि ठूलो उपलब्धि हो। किनकि जनताले परिवर्तन चाहेका थिए । नयाँ अनुहार भएको सरकार नयाँ चाहेका थिए। संघीय गणतन्त्रको सुदृढीकरण खोजेका थिए।रास्वपाले पाएको दुई तिहाइ जनमत पनि स्पष्ट रूपमा गणतन्त्र र संघीयताको पक्षमा दृढतापूर्वक उभिएको छ। जुन मुद्दा जनयुद्धले स्थापित गरेको हो।

नतिजामा माओवादीले हारेको होला र संख्या गुमाएको होला। तर, उसले बोकेको संघीय समावेशी गणतन्त्रको मुद्दा पुनः अनुमोदन भएको छ । हो, यही संघीय गणतन्त्रको मुद्दा थप सुदृढ गर्नका लागि सधैं प्रचण्डसंग सतिसाल उभिएका नेता हुन्, वर्षमान पुन्। जो नेपालको कम्युनिस्ट आन्दोलनका एक ‘आइकन’को रूपमा चिनिन्छन् ।यद्यपि उनीमाथि हजारौं प्रश्नहरू होलान् र छन् ,अनि हुन पनि सक्छन् । सार्वजनिक जीवनमा रहनेहरूमाथि प्रश्न नहुने कुरै भएन। किनकि तिनै प्रश्नको कारण नै नेताहरूमा नेतृत्वको विकास हुन्छ। प्रश्नले नेतृत्व जन्माउने भएकोले नेता वर्षमान पुन पनि प्रश्न बेगरको हुने कुरै भएन ।

यीनै हजारौं प्रश्नको सामना र सवाल जवाफ गर्दै पार्टीको दोश्रो तहमा उक्लिएका उनै वर्षमान अबको नेकपा महाधिवेशनका एकल उम्मेदवार हुन्। जनयुद्धको शुरूवातीदेखि नेकपा निर्माणसम्म उनी अनवरतरूपमा प्रचण्डलाई साथ दिदै आएका छन् । समकालीन नेताहरू विप्लव, जनार्दन,हरिबोल गजुरेल र धर्मेन्द्र लगायतका नेताहरू पार्टी छोडेर नयाँ र कुनिके दलमै थन्किएका छन् । विप्लव २१ फागुनमा २५ हजार मत पनि नपाएर खुम्चिए । जनार्दन रूकुम पश्चिम आफ्नै गृहजिल्लामा १५ हजार मत पुराउन सकेनन् । उता सिन्धुलीमा प्रचण्ड विरू्द्ध बुरूक्क उफ्रिएका हरिबोल गजुरेल मुढामै थचारिए । अरूले निर्वाचन बहिष्कार गरेर उपद्रोमा कीर्तिमान राखे।

यसरी पार्टी छिन्नभिन्न हुँदा पनि अनन्त विचलित भएनन्। न त उनले प्रचण्ड विरू्द्ध धम्की दिएर जनार्दन जस्तो अवसर लिए । न पार्टी फोडेर विप्लव जस्तो बाहिरिए। पार्टी र नेतृत्वको रक्षाका लागि निरन्तर प्रचण्डको साथमै रहे। बरू, प्रचण्डले शुरू गरेको कम्युनिस्ट एकतामा उनी लागे। टुटफुटमा रमाइरहेका कम्युनिस्टहरूलाई एकतामा जोड्न सघाए। माओवाद छोडेर पनि एकताको निम्ति तयार भए । भलै नेकपा अपेक्षित मत पाउन सकिन होला ।

तर, देशभर नेकपाले जितेको स्थानमा सबैभन्दा बढी मतले वर्षमान पुन विजयी भए। प्रचण्डपछिको दोस्रो नेता माधव नेपाल पराजित भए। उनीमाथि बालुवाटार र पतञ्जली मुद्दा विचाराधीन छ। माधव नेपालपछिको नेता वर्षमान हुन्, उनी जनताबाट अनुमोदित र विवादरहित अनि पार्टीमा स्थापित नेता भएकोले पनि नेकपाको असारमा हुने महाधिवेशनमा उनी एकल उम्मेदवार हुन सक्छन् ।

प्रचण्डले यो नेतृत्व हस्तान्तरण गर्ने सुखद् र सुवर्ण अवसर हो।जनताले पनि प्रचण्डको राजनीतिक विश्राम खोजेका छन् । प्रचण्डको नेतृत्वमा गणतन्त्र स्थापना भयो। अब वर्षमान पुनलाई गणतन्त्रको सुदृढीकरण गर्दै जनताको अवस्था बदल्ने पार्टी बनाउने जिम्मेवारी दिने समय आएको छ ।

पार्टीको नेतृत्वमा उक्लिने चाहना स्वयं अनन्तको चाहना होला या नहोला।तर,कांग्रेसमा गगनले नेतृत्व लिइसके। एमालेमा योगेशहरूले हस्तक्षेप गर्दैछन्। अबको राजनीति युवा पुस्ताको हो। गणतन्त्र स्थापना गर्न पाकाले गरेको योगदानलाई उच्च मूल्यांकन गर्दै नेतृत्वमा वर्षमान पुन जतिको व्यक्तित्व पार्टी नेतृत्वमा आ उन ढिला गर्न हुदैन । नेकपाको असारमा हुने एकता महाधिवेशनले ऐतिहासिक निर्णय गर्दै पार्टीलाई नयाँ गतिमा अघि बढाउन ढिला गर्न हुदैन । यो स्वयं नेकपाको हितको लागि हो भने कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अवसर पनि हो।

प्रचण्डले छाति ठूलो र फराकिलो बनाउन जरुरी छ। नयाँ पुस्ताले पनि नेतृत्व पुस्तान्तर र हस्तान्तरण खोजेको छ। २१ फागुनको निर्वाचन मार्फत माओवादीको मुद्दालाई पुनः अनुमोदन गरे जनताले, तर, प्रचण्डको नेतृत्वलाई स्विकार गर्न चाहेनन् ।

यसको अर्थ हो,प्रचण्डको अब राजनीतिक विश्राम हुनुपर्छ । समयको यो अनिवार्य मागलाई मनन् गरि असारको महाधिवेशनमा पनि पदप्रति लालसा देखाए प्रचण्डको हालत आधुनिक मलेसियाका निर्माता माहाथीरको जस्तै नहोला भन्न सकिन्न कि ?

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित