१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

‘अजयशक्ति मातृ’को ‘विजय कथा’


२० श्रावण २०८१, आइतबार  


आदिम कालमा महिला :
भनिन्छ,मानव सभ्यता विकासको विन्दु जब प्रारम्भ भयो,तबदेखि मानिसहरू परिवारमा बस्न थाले। जंगली जनावर मारेर र कन्दमुल खोजेर आहार पूरा गर्दथे। त्यतिबेलाको युग आजको जस्तो यन्त्र अर्थात हतियार र सीपले निपुण हुने कुरै भएन।यसैक्रममा जतिबेलादेखि मानिसहरू परिवारमा बस्न थाले। त्यतिबेला देखि परिवारको नेतृत्व महिलाले गर्दथे,पुरूषहरू आहार(विहार खोजेर जुटाउँथे। ढुंगेयुगको त्यो समयमा हतियार र आगोको मात्रै विकास भएको थियोे । त्यतिबेला तीनै ढुंगे हतियारले शिकार गरेर पुरूषहरू आहारा जोहो गर्दथे र महिलाहरू त्यसलाई वितरण गर्दथे। सोझो अर्थमा भन्नुपर्दा ,पुरूषहरू कमाउँथे, महिलाहरू जमाउँथे, पारिवारिक सत्ता चलाउँथे।जसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादका रचनाकार कार्ल माक्रर्सले व्याख्या गरेको आदिम साम्यवादकाे एक उदाहरण थियो र हाे।

वैदिक साम्यवाद र महिला :

पूर्वीय दर्शन अनुसार वैदिक साम्यवादको अभ्यास गरिएको थियोे ,त्यो समयमा। सनातन सभ्यता अनुसार देवीहरू सत्ता र समाजको नेतृत्वमा थिए। जस्तै :दुर्गा शक्ति ,लक्ष्मीले द्रव्य र सरस्वतीले विद्याको शासन गर्दथे।यद्यपि नास्तिकवादीहरू त्यस्ता देव- देवी थिएनन् ,भन्छन् ।यदि भैदिएकाे भए अवशेष भेटिन्थ्यो होला,डाईनोसरको अवेशष भेटिए जस्तै ।एक कोणबाट उनीहरूको तर्क पनि विज्ञान सम्मत देखिन्छ ।तर, पूर्ण भन्ने मान्न सकिन्न ।यदि त्यसो हो, भने कालिगण्डकी नदीमा मात्रै पाईने शालिग्राम के हो त ? शालिग्राम रामको अवशेष भनिएको छ।अपितू प्रमाणित त गरिएको छैन ।तर, आस्था र विश्वास उत्तिकै छ।जुन विषय हजारौं वर्षदेखि रहस्यमै छ।पंक्तिकारले यी दुइ उदाहरण पेश गर्नुको खास अर्थ आदिम सभ्यतामा शक्तिशाली मातृशक्ति कालान्तरमा कमजोर भएको पृष्ठभूमि दर्शाउन खोजेको हो।
कृषि तथा सामन्तवादी युगमा महिला :
जब मानव विकासक्रम ढुंगे युगबाट अघि बढ्दै जाँदा समाज गुफा आश्रम९ आश्रय०तिर लाग्यो । निश्चित स्थानमा बसेर कृषि कर्म प्रारम्भ गर्न थाल्यो । यसरी मान्छेले ढुंगे युग पार गरेर कृषि युगमा प्रवेश गरेसंगै सम्पत्ति माथिको अधिकारको विषयमा द्वन्द्व भयो,र अन्ततः पुरूषहरूबाट क्रमशः श्रोत साधन र सम्पत्तिमाथि नियन्त्रण जमाउँदै निर्णायक र नेतृत्व गर्ने मातृशक्ति अधिकारबाट बन्चित गराईए।त्यो क्रम अहिलेको पूँजीवादी समाजमा पनि सशक्त छ।यो प्रसंग चर्चा गर्नु थप कारण आदिम समाज र वैदिक समाजको विषयमा समानता र भिन्नताको विषयमा प्रट्याउनु हो।ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादका रचनाकार कार्ल माक्रर्सले भने जस्तै आदिम साम्यवादको अन्त्य भयो ।कृषियुगसंगसंगै सामन्तीवादी युगमा समाज प्रवेश गर्यो।महिला अर्थात मातृशक्तिलाई उत्पादनका सम्बन्ध ,साधन र श्रोतको अधिकारबाट पूर्णरूपमा बन्चित गराइयो। मध्यकालीन युगमा मानव समाज आइपुग्दा पुरूष सत्ता,सम्पत्ति र संगठनको मालिक भए ,महिला हजारौं वर्ष दासी भए , अझै दासी प्रवृत्ति कायमै छ। सामन्तवादी व्यवस्थाका संरचना र उपरिसंरचना भत्किएपनि मानसिकरूपमा ज्यूँउदै छ।

लोकतन्त्रको उदयपछि महिला :

अब मुल विषयमा प्रवेश गरौ, माथि संक्षिप्त चर्चा गरिएको मानव सभ्यताको ऐतिहासिक विकासक्रमको पृष्ठभूमिमा विद्यमान नेपाली समाज र अजय मातृशक्तिको विजय( यात्राको सन्दर्भ ठ्याक्कै जोड्न खोजेको पंक्तिकारले।जब देशमा लोकतन्त्र आयो,तबदेखि लैंगिक चेतना र अधिकारको बहसले निकै स्थान पायो।बन्द समाज खुला हुँदै जाँदा लैंगिक समताको म्याराथन जारी छ।लैंगिक हिसाबले दमित, उत्पीडित र शोषित महिला सत्ता र समाजको उपल्लो संरचनामा पुग्न थालेका छन्,जुन ऐतिहासिक अजय शक्तिको पुनर्दयको शुभ बिहानीकाे संकेत पनि हो। सत्ता र समाजको नेतृत्वमा पुग्ने नयाँ संरचना बनेपनि क्षमता, दक्षता र योग्यता विना पहल लिन भने सकिन्न ।

मातृशक्तिको ऐतिहासिक प्रभाव र परिणाम :

अधिकार र अवसरसंगै अब्बलताको नितान्त जरुरी हुन्छ,कसैले टेको दिएको भरमा मातृशक्तिको पुनर्उदय असम्भव देखिन्छ ।त्यसका खास -खास अनि समसामयिक पात्र र परिणामको सन्दर्भ यहाँ जोड्न गइरहेको छु, त्यति लामो भूमिका नबाँधि भन्दा नेपालको इतिहासमै पहिलो महिला मुख्यसचिव ,लीलादेवी गड्तौला बनिन्।धेरै पुरूष सचिवहरूलाई पछि पार्दै उनी मुख्य सचिव बनेकी हुन,निजामती प्रशासनको करिब ७ दशकपछि मात्रै ।अर्का पात्रहरू हुन्, आध्यात्मिक जगतमा प्रवचनको माध्यमबाट हलचल ल्याउने ,काभ्रेकी प्रतिभा पराजुली अर्थात ‘देवी प्रतिभा’ नेपाली छोरी भारतमा कर्मथलो बनाएकी उनले पशुपतिनाथमा आयोजित कोटीहोम ज्ञान- महायज्ञमा दुनियाँको ध्यान खिचिन्।२३ वर्षको उमेरमा उनको त्यो वैदिक ज्ञानको क्षमता र दर्शकलाई सम्मोहित पार्न सक्ने अदभूत कला निकै चर्चामा रह्यो ।यही ज्ञान महायज्ञमा गुल्मीकी ९ वर्षिया अनुराधा पाण्डेको मधुर प्रवचनले उस्तै लठ्ठ बनायो,भने अर्की चन्द्राकला सेखी पनि चर्चा र परिचर्चामा रहिन्। २० वर्षीय चन्द्रकला नेपालमा प्रवचन दिन आएकी हुन्उ, नको ज्ञान र क्षमता असाधारण रह्यो। यी विदुषीहरू शैव महिना अर्थात साउन महिनामा निकै चर्चाको शिखरमा रहे।


त्यसैगरी यतिबेला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली महिलाहरू नयाँ ईतिहास रचे। नेपालमा जारी काभा वुमेन्स नेसन्स लीग प्रतियोगितामा उनीहरूले भारतलाई पराजित गरेर नेपालको नाम संसारभर प्रचार-प्रसार गराए। यी माथिका राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चित घटनाले सबैको ध्यान मात्रै खिचेनन् ।मातृ शक्तिकाे गाैरव गर्न लायक घटना बने।जसप्रति हरेक महिलाले गाैरव गर्नु पर्ने हाे।तर, त्यस्तो देखिएन।बरू प्राचीन कथाका केही मिथकलाई प्रसंगलाई तीलका पहाड बनाएर उछाफियाे र समग्रतालाई छाेप्न खाेजियाे।अपितु ईकाइमा यी प्रसंग सानै होला।तर,महिला सशक्तीकरणको परिणाममुखी गतिला उदाहरण भने पक्कै हो।

विमर्शको निष्कर्ष:

यी घटनाका मुख्य पात्र उनै मातृशक्ति थिए र हुन्। यसको सुखद र बलियो सन्देश के हो, भने मातृशक्ति अजय छ।उ सृष्टिको जननी मात्रै होईन,विश्वास र भरोसायोग्य समाजको अग्रणी पनि हो।यसर्थ महिलालाई कमजोर नठान, उनीहरू दुर्गा भएर संहार गर्न सक्छन् ,सरस्वती भएर संसारलाई ज्ञान बाँड्न सक्छन् ।तसर्थ उनीहरूको अदम्य साहस र आँटबाट समाज भित्रका विभेदका अध्याँरा पर्खालहरू भत्काउन सकिन्छ र भत्किदैछन् पनि ।जसका लागि पृतिसत्तामक सोच त्यागौ,महिलाले पनि अवसर र अधिकार मात्रै होईन,क्षमता ,दक्षता र योग्यता बढाउन पुरूष बरोबरी संघर्ष, त्याग र साधनाको जरुरी छ। पुरूषको काखमै लुटपुटिएर नेतृत्व र अधिकार सम्भव छैन।बौद्धिक चेतना र क्षमता विना नेतृत्व प्राप्ती पनि असम्भव छ। यसर्थ माथि प्रतिनिधिमुलकरुपमा चर्चा गरिएका मातृ पात्र जस्तै आफूलाई हरेक हिसाबले आत्मनिर्भर र काबिल बनाउनतिर ध्यान दिऔं, समावेशी कोटाको कहिलेसम्म टेको समाउने ?

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित