२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

घुस माग्ने महानगरका कर्मचारी खान मेयर बालेनद्वारा ‘निलम्बित’


७ मंसिर २०८१, शुक्रबार  


काठमाडौ महानगरका एक कर्मचारीले सेवाग्राहीसंग घुस मागे भन्दै मेयर बालेन्द्र साहले निलम्बनकाे गरेका छन् ।


राष्ट्रिय सभागृहस्थित राष्ट्रिय परिचयपत्र एकाइमा कार्यरत अधिकृत आठौँ तहका कर्मचारी अब्दुल मजिद खानलाई मेयर बालेन्द्र साहले निलम्बन गरेका हुन् । 

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि उनले गएकाे कात्तिक २९ गतेका दिनमा दुई हजार रुपैयाँ घुस मागेको उजुरी मेयरको सचिवालयमा परेको थियो ।

तत्कालै नगर प्रहरीले उनलाई महानगरपालिकाको कार्यालयमा ल्याएर सोधपुछ गरेको थियो । प्रारम्भिक सोधपुछमा पैसा मागेको आधार देखिएपछि उनलाई निलम्बन गरिएको महानगरपालिकाले बताएकाे छ।

सो घटनाको विषयमा छानबिन गर्न महानगरपालिकाका सल्लाहकारसमेत रहेका पूर्वसचिव शंकरप्रसाद पाण्डेको अध्यक्षतामा समिति गठन भएको महानगरपालिका प्रशासन विभाग प्रमुख ध्रुवप्रसाद काफ्लेले बताए । समितिमा सुदीप ढकाल र उमेश मेहता सदस्य छन् । समितिलाई एक महिनाको समय दिइएको छ । 

खान रुजु अधिकारीका रूपमा पञ्जीकरण एकाइमा खटिएका थिए । उपत्यकाबाहिरका जिल्लाको सेवाग्राहीको परिचयपत्र त्यहाँबाट नबन्ने, तर दर्ता अपरेटरलाई दुई हजार रुपैयाँ दिए काम हुने भन्दै उनले पैसा मागेका थिए । दर्ता अपरेटर भने राष्ट्रिय परिचयत्रपत्र तथा पञ्जीकरण विभागका कर्मचारी हुन् । उनलाई पनि सो प्रकरणपछि जिम्मेवारीबाट हटाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ०० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित