२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

पाँच अर्ब लगानीमा कीर्तिपुरदेखि चम्पादेवीसम्म केबलकार निर्माणको तयारी शुरू


२१ असार २०८२, शनिबार  


काठमाडौं उपत्यकाभित्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य मानिने चम्पादेवी क्षेत्रसम्म पहुँच सहज बनाउन केबलकार निर्माणको तयारी सुरु भएको छ ।

कीर्तिपुर नगरपालिकाको–४ बाट सुरु भई दक्षिणकाली नगरपालिका–१ मा सम्पन्न हुने छ । करिब २.०७५ किलोमिटर लम्बाइको केबलकार सञ्चालन गर्ने योजना चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले अघि सारेको हो ।

कुल अनुमानित लागत करिब ५ अर्ब रुपैयाँ रहनेछ भने निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना कम्पनीले अघि सारेको छ ।

कम्पनीले यस परियोजनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेको छ । प्रतिवेदन अनुसार, माथिल्लो स्टेशन कीर्तिपुर वडा नं ४ मा निर्माण हुनेछ भने तल्लो स्टेशन दक्षिणकाली–१ मा पर्नेछ ।

यो केबलकारमा कुल ३४ वटा गोन्डोला रहनेछन्, जसमा प्रत्येकमा १० यात्रु अट्ने क्षमता हुनेछ । कम्पनीले केबलकारमार्फत दैनिक ५ हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ । यात्राको एकतर्फी समय अनुमानित ६।०१ मिनेट रहेको उल्लेख गरिएको छ । परियोजनामा २ वटा टावर निर्माण गरिनेछ ।

तल्लो स्टेशन करिब ५ हजार ९७५ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ । सो क्षेत्रमा प्रवेशद्वार, मुख्य भवन, साना र ठूला सवारीसाधनका लागि पार्किङ, पानी ट्यांकी, पम्प हाउस आदि सुविधा रहनेछ । मुख्य भवनमा टिकट काउन्टर, प्रतिक्षा क्षेत्र, चढ्ने र झर्ने प्लेटफर्म, अपरेटर कक्ष, विश्राम कक्ष तथा शौचालयजस्ता संरचना रहनेछन् ।

माथिल्लो र तल्लो बेसमेन्टहरूमा प्रशासनिक कार्यालय, क्यान्टिन, भण्डारण, मेडिकल, मेकानिकल, जेनेरेटर तथा बिजुली व्यवस्थापन कक्षहरू हुनेछन् । पार्किङको लागि करिब एक हेक्टर क्षेत्रफल छुट्याइएको छ, जसमा दुईपांग्रे ४ सय र चारपांग्रे २ सय सवारी अट्नेछन् ।

यस्तै, माथिल्लो स्टेशन करिब १।८० हेक्टर क्षेत्रफलमा फैलिनेछ । यहाँ दुई तल्लाको आरसीसी भवन बन्नेछ, जसमा चढ्ने–ओर्लने क्षेत्र, टिकट काउन्टर, उपकरण सञ्चय कक्ष, पर्यटक सूचना केन्द्र, जलपान तथा अन्य सुविधा रहनेछन् ।

माथिल्लो स्टेशनमा थप रूपमा मनोरञ्जन भवनसमेत निर्माण गरिनेछ । करिब ७ हजार ५०० वर्गमिटर क्षेत्रफलमा बन्ने सो भवनमा इनडोर गेमिङ जोन, साहसिक खेल सामग्री, रेष्टुरेन्ट, सम्मेलन हल तथा भान्सा व्यवस्था हुनेछ ।

यसबाहेक, कम्पनीले मनोरञ्जन पार्कसमेत निर्माण गर्ने योजना बनाएको छ, जसमा अल्पाइन कोस्टर, रंगीन स्लाइडहरू, साहसिक डोरी कोर्स, पिङ, बाल उद्यान, विश्राम क्षेत्र, एम्फीथिएटर र जिपलाइनजस्ता आकर्षणहरू समावेश गरिनेछन् । करिब ०।४ हेक्टर क्षेत्रफलमा एक मन्दिर पनि निर्माण गरिने प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित