लोकतन्त्रलाई विचारहरुको विचरण मात्रै होइन, विचारहरुको अंकुरणको बगैचा पनि हो, भनिन्छ। तर, यो दलीय व्यवस्थाभित्र रहेका अधिकांश दलभित्र स्वतन्त्र विचार र दृष्टिकोण भन्दा पनि अमूक नेताकै सनक विचार प्रधान बनिदिन्छ। ओली–प्रचण्ड देउवा कम्पनीहरु लाखौ कार्यकर्तालाई पछि लगाएर जयजयकार गराउनु नै उनीहरुले लोकतन्त्रको संस्थागत विकास भएको ठान्छन् र परिभाषा पनि आफू अनुकूल नै गर्दछन्।
सत्तामा होस् या सत्ता बाहिर यीनीहरुको बेकुफ कार्यकर्तालाई अन्धभक्त बनाउन माहिर छन् । जहाँ भएपनि वर्षाैदेखि उही अक्षम, नालायक, बेकुफ नेताको जयजयकारमा कुर्लिन्छन् लाखौ विवेकहीन र चेतनाहिन कार्यकर्ता पनि। उनै कार्यकर्ताले यस्ता नालायकहरुलाई राजनेताको पगरी नै गुथाइदिन्छन्। सामाजिक सञ्जालदेखि सडक र संसदमा उसकै भक्तिगान गाइन्छ। यदि त्यो फर्मान र आदेश नमानेमा पार्टीबाटै गलहत्याईन्छ। त्यसैको एउटा गतिलो उदाहरण हो, एमालेबाट गलहत्याइएका भीम रावल निस्काशन प्रकरण पनि । पार्टीभित्र जतिसुकै हरामखोर नेता नै किन नहोस्। पार्टी अनुशासनको तरबार देखाएर सबै -सबैलाई तर्साइन्छ। नेतृत्वविरुद्ध बोले मुखुममा बुजो लगाईन्छ। पार्टीभित्र लोकतन्त्रको घाँटी न्याँकेर आफू सर्वकालीक नेता बन्ने महत्वकांक्षा र अहंकारको हुँकारमा पार्टी सत्ता चलाईन्छ।
समकालीन नेपाली राजनीतिमा यस्ता अहंकारी, दम्भी, उपद्रो र छुद्र पात्र हुन, केपी ओली। प्रधानमन्त्री समेत रहेका उनी आफू सबै जान्ने- सुन्ने अरु केही पनि नजान्ने भन्ने भाष्य सिर्जना गर्दछन्। आफूपछि लाखौ नेता कार्यकर्ता सबै दास हुन् भन्ने भ्रम उनीमा छ। सडकदेखि सञ्जाल होस् या संसदमा ओलीले सेतोलाई कालो हो, कालोलाई सेतो हो भनेर बोलिदिए भनेपनि उनका नेता कार्यकर्ता हो–हो भन्दै ताली बजाउँछन्। विवेकशून्य, चेतनाशुन्य, अध्ययनशून्य, सिर्जनशीलताशून्य अन्धभक्त कार्यकर्तालाई पंक्ति लगाएर जय-जयरकार गराउन पाउँदा ओली निकै गौरव गर्दछन्।
साइबर लडाका खडा गरेर सञ्जालमा विरोधीलाई गाली गर्नु नै उनीहरुको राजनीति कार्यक्रम हो। जसले जतिधेरै विरोधीको उछितो काढ्यो,उति एमालेमा नम्बर पाउने प्रथा छ। ओलीको दृष्टिमा परे, अवसरको सृष्टि हुन्छ, कुदृष्टिमा परे अहिलेसम्मको राजनीतिक योगदान विनाश हुन्छ। यसर्थ ओली भक्तिलाई एमालेभित्र विचारको अभ्यास ठानिएको छ। ओली र एमाले परिपूरक जस्तै भएका छन्। अझ भनौ, एमाले अब कुनै विचाराधात्मक दल भन्दा पनि केपी ओलीको निजी कम्पनीको रुपमा बदलिएको छ। शारिरीक अवस्थाले उनी घरले जा -जा वनले आइजा -आइजा भन्ने अवस्थामा पनि सक्रिय राजनीति गरेर पछिल्लो पीढीलाई नेतृत्वमा आउन बन्ध्याकरण गरिदिएका छन्। केही समय अघि उनले सार्वजनिक कार्यक्रममा भनिसकेका छन्। -‘अझै बीस वर्ष कसैले पनि एमालेको नेतृत्वमा आउने इच्छा नदेखाउनु ।’
उनको यही अभिव्यक्तिको एमालेभित्र कसैले प्रतिवाद र प्रतिरोध गरेनन्। बरु ओली नै सर्वकालीक नेता हो, भन्दै थप्पडी बजाए। जसले एमालेभित्र झाँगिएको दासतालाई छर्लङ्गगै पारिदियो । मदन भण्डारीको जबजको सिद्धान्त बोकेर स्थापित लोकतान्त्रिक दल हो, एमाले । तर, ओलीको पार्टी नेतृत्वमा आगमनपछि निरन्तर एमाले मदनले भनेको सर्वश्रेष्ठता गुमाएर ओलीको एकल कम्पनीको रुपमा रुपान्तरित भएको छ।
यद्यपि यस्तो प्रवृत्ति हरेक दलमा भएपनि सबै भन्दा बढी दासत्व सत्तारुढ एमाले भित्र देखिन्छ। कांग्रेसभित्र आलोचना गर्न त पाइन्छ, तर, घुमाउरो तरिकाले अवसर दिन कन्जुस्याइ पनि गरिन्छ। भलै, देउवाका कट्टर विरोधी रामचन्द्र पौडेललाई राष्ट्रपतिमा थन्काएर देउवाले आफ्नो बाटो फराकिलो. बनाएका थिए। पछिल्लो समय पनि देउवाका कडा आलोचक गगन थापा निकै मधुरो भएका छन्। भावि सभापतिको आंकाक्षी रहेका उनी देउवालाई चिढाएर भन्दा पनि रिझाएर कार्यकारी पदमा जाने रणनीतिमा देखिन्छन्। कांग्रेस भित्र युवा नेता भनिएका विश्वप्रकाशसको पनि हविगत उस्तै छ। भाउजु चिढाएर भन्दा रिझाएर उनी अवसर लिने दाउँमा देखिन्छन्। बाँसबारी छाला जुत्ता कारखाना कांग्रेसले बेचेको गौरव गर्दै आएका उनी कांग्रेसभित्र सक्रिय नेता हुन्।
उता माओवादीभित्र पनि यस्तै प्रवृत्ति छ। प्रचण्ड आजिवन अध्यक्ष छन्। उनी नेतृत्व पुस्तान्तरण र हस्तान्तरण भन्दा भुलभुलैयामा नेता कार्यकर्ता थमथमाएर अझै प्रधानमन्त्रीको कुर्सी ताकिरहेका छन्। माओवादीभित्र लोकतन्त्रको सामान्य अभ्यास पनि हुन्न। तोकादेशका भरमा नेतृत्व चयन हुन्छ। संविधानले आवधिक निर्वाचनको परिभाषा र व्यवस्था गरेको छ। संविधानको पिता दाबी गर्ने प्रचण्डले अझै पनि खल्तीबाट पद बाँड्ने कुप्रथा त्यागेका छैनन्। उनी जे बोल्छन्, माओवादीभित्र पनि त्यही नीति बन्छ। यद्यपि प्रचण्ड अलि व्यवहारिक र लचक छन्। कार्यकर्तासंग संगै बस्न र दुखसुख साट्न असहज मान्दैनन्। यद्यपि ओली यस्ता विषयमा निकै कट्टर छन्। उनी आफूलाई लोकतन्त्रको राजा ठान्छन्। सत्ता लोभमा ओली प्रचण्डमा खुट्याउन सकिन्न। तर, प्रचण्ड कमजोरीलाई स्वीकार्छन्। ओली कमजोरीमा प्रश्न उठाउनेको औला नै काटिदिन्छन्। यद्यपि यी दुबै नेताले विवेकहिन र चेतनाहिन कार्यकर्ताहरुको गज्जबको क्याम्प खडा गरेका छन्। यही क्याम्पको सहायताले राजनीतिको शटर चलाएका छन्।
ती दलभित्र राम्रा क्षमता भएका बौद्धिक जगत पनि छ, आलोचनात्मक चेत भएका थुप्रै युवाहरु पनि छन्। तर, पार्टी कब्जा यसरी गरिएको छकी, त्यहाँ कसैले प्रश्न गर्ने आँट र हिम्मत गर्न पनि सक्दैन। भोलि अनुशासनको तरबार झेल्न भन्दा मरिरहोस् भनेर चित्त बुझाउन विवश छन्। आज नेताको खराबीको विषयमा बोलेर किन बाइलो बन्ने भन्दै बरु रिझाएर अवसर लिने योजनामा धेरै देखिन्छन्। लोकतन्त्रको पक्षमा बोलेर नेता चिढाउन भन्दा खुशाएरै लाभ लिनु उपयुक्त ठानिन्छ। क्रमश विवेकशीलहरु पनि विवेक गुमाउँदै गएर नेताको कमारा र दास बन्दा पनि गौरव ठान्न थाल्छन्। उही बेकुफ नेताको जयजयकार गरेर दैनिकी गुजारा चलाउँछन्। गाउँमा पुग्दा भ्रष्ट नेताको कुकर्मले शीर निहुरिन्छ, जनताको प्रश्नको जवाफ दिने कुनै नैतिक धरातल हुन्न। यस्तो दास र कमारा प्रथामै चलिरहेको छ, दलका कार्यकर्ताहरुको । पत्रकारिताको क्षेत्रमा होस्, शिक्षक होस्, या ट्रेड युनियन नै किन नहोस्। नेताको एसम्यान नै उसको पहिचान र स्वाभिमान बनेको छ। नेताको चाकडीलाई नै उनीहरुले आफ्नो श्रेष्ठता देख्न थालेका छन्।