१० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026

दाङ–देउखुरीको ऐतिहासिक विकासक्रम


१७ जेष्ठ २०८१, बिहिबार  


उत्पत्तिः
दाङ शब्दको अर्थ हुन्छ,पहाडका मैदानी भाग । जसलाई संस्कृत भाषामा “द्रोण” भनिन्छ।यही द्रोण शब्दबाट दाङ बनेको हो भन्छन, लेखक केबी मसाल। इतिहासकार टेकनाथ गौतमले लेखेको पुस्तकमा यही द्रोण शब्दबाट दाङ बनेको बताइएको लेखक मसाल सुनाउँछन्। त्यसैगरी पहिलो बस्ती “दवपुर”बाट देवपुरी र यसको अपभ्रंश हुँदै देउखुरी बनेको हो,भनिन्छ। दाङ र देउखुरी मिलेर दाङ बनेको हो।

अहिलेपनि जिल्ला अदालतलाई दाङ र देउखुरी जिल्ला अदालत भनेर भनिन्छ। तर, देउखुरी शब्दको विषयमा मत भिन्नता छ। यस विषयमा थारु भाषा तथा साहित्यका अग्रज छविलाल कोपिला असहमति राख्दै उनी भन्छन्,देउखुरी शब्द थारु भाषाको देउखरबाट आएको हो, देउखरको अर्थ हुन्छ, “देउ” भनेको प्रकृति अर्थात देउता र “खर” भनेको तातो ठाउँ। यति मात्रै होइन, देउखुरीको भौगलिक अवस्थितति बेसारको मुलजरो जस्तो आकारमा छ,सलाई थारु भाषामा देउखर भनिन्छ,त्यही मुल जरो जस्तो भएकोले देउखर भनिएको हो। देउपुरीलाई पुरानो थारु बस्ती भनेर दाबी गरिएपनि त्यो ऐतिहासिक तथ्यले पुष्टि गर्दैन भन्छन्,थारु भाषा तथा साहित्यका अग्रज कोपिला ।देउखुरीको विषयमा भाषा तथा साहित्यकार अग्रज कोपिला तर्कमा धेरै सत्यता देखिन्छ, जुन तर्कको प्रमाणित देउखुरीका बस्तीमा पुग्दा धेरै थाहा हुन्छ, जहाँ थारु र अवधले बोलीचालीमा देउखर भनेर भन्दै आएका छन्,पुस्तौदेखि।
भौगलिक अवस्थितिः
तीनवटा उपत्यकाले बनेको जिल्ला हो, दाङ । संघीय संरचना अनुसार लुम्बिनी प्रदेशमा रहेका यस जिल्लामा देउखुरी, दाङ र तुइ दाङका तीन उपत्यका छन्। दाङ उपत्यका हो। भित्रि मधेशमा पर्ने यो उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे अर्थात शिवालिक पहाडले घेरिएको छ। दाङलाई एसियाकै ठूलो उपत्यका दाबी गरिएपनि पुष्टि भने भएको छैन । पूर्व पश्चिम लम्बाई ९० किलोमिटर र उत्तर दक्षिण चौडाइ ७२ किलोमिटर रहेको यस जिल्ला समुद्री सतहबाट २१३ मीटरदेखि २०५८ मीटरको उचाइमा अवस्थित छ।,सबैभन्दा अग्लो उचाइमा रहेको स्थान राप्ती गाउँपालिकाको अर्खले र राप्ती गाउँपालिकाकै भानपुर सबै भन्दा होचो स्थानमा रहेको छ।

२९५५ वर्ग किलोमटर क्षेत्रफलमा फैलिएको यस जिल्लामा थारु जाति मुख्य जाति हुन्। उनीहरुको आदिम थलोकोरुपमा दाङ देउखुरीलाई लिइन्छ। औलोको उन्मुलनपछि मात्रै पहाडियाहरु उपत्यका झरेको देखिन्छ। पहिले औलो लाग्ने भएकोले दाङमा थारुहरुको मात्र बस्ति थियो। तर, विक्रम सम्वत २०३४ सालमा औलो उन्मुलन भएपछि अन्य जातिका मान्छेहरु पनि बसाइ सरेका थिए ।
दाङ देउखुरीको इतिहास ः
इतिहासमा भनिए अनुसार दाङको उत्तरी भाग पहाडी राजाहरुका अधिनमा र दक्षिणको मैदानी भाग थारु राजाका अधिनमा थियो । चौधौ शताब्दीको अन्ततिरसम्म यो क्षेत्र सिंजा साम्राराज्यको अधिनमा थियो । वि.सं.१४८० तिरको समय हो, त्यत्तिबेला सवारीकोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भएका थिए ।त्यसको केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएका थिए। र, आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा भारतको पश्चिमोत्तरतिर लागे । रतननाथले छाड्दा दाङ राज्यको विस्तार शिवराज इलाकाको अर्रासोतादेखि पश्चिम राप्तीसम्मको तुलसीपुर भनिने इलाकामा थियो । नेपालको एकिकरणका बेला विक्रम सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाकाे लडाईमा वीरगति प्राप्त गरे ।

उनका राजकुमार दिलेर सिंहले पूरा दाङको रक्षा गर्न सकेनन् । आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे । गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए । वि.सं. १८६५ मा सल्यान राज्य नेपालमा मिल्दा दाङ पनि नेपालमा विलय भएको थियो । वि.सं. १८९४ सालमा दरबारका कुनै क्रमारीको विवाह गरिदिदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ खण्डित भयो ।
नेपाल एकिकरणपछि दाङ सल्यान गौंडाका मातहतमा थियो । विक्रम सम्वत १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका,१९९६ सालमा भैरहवा गोश्वाराका २००३ सालमा नेपालगंज गोश्वाराका मातहतमा गराइएको थियो । २००७ सालसम्म यहाँ माल अदालत हुलाक इन्सपेक्टर अफिस मात्र थिए । २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले । २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ मानिएपछि यहाँ अञ्चलाधिस रहन थाले ।
फलावाङ राज्य विक्रम सम्वत २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङमा मिलेपछि दाङ आजको अवस्थामा आयो ।
संघीय संरचनामा दाङ देउखुरीः
संघीय संरचना अनुसार यतिबेला दाङ देउखुरीमा १० पालिका रहेका छन्, लुम्बिनी प्रदेशको राजधानी समेत रहेको यस जिल्ला थारु बाहुल छ। लुम्बिनी प्रदेशको राजधानीको टुंगो विक्रम सम्वत २०७७ असोज २०गते लागेको थियो, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारले प्रदेश मुकामको तय गरेको थियो । आदिमकालदेखि थारुहरुको बस्ती रहेको यस जिल्लाको जनसंख्या जनगणना २०७८ अनुसार दाङको जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ कायम भएको हो । थारु समुदायलाई भूमिपुत्र अर्थात प्रकृतिपूजक भनिन्छ । प्रतिवेदन अनुसार दाङमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । ३ लाख २० हजार ५७३ अर्थात् ४७ दशमलव ५ प्रतिशत पुरूष र ३ लाख ५४ हजार ४२० अर्थात् ५२ दशमलव ५ प्रतिशत महिला रहेकाछन् ।

दाङका दश पालिकामध्ये सबैभन्दा बढी जनसंख्या घोराही उपमहानगरपालिमा रहेको छ भने सबैभन्दा कम बंगलाचुली गाँउपालिकामा रहेको छ ।सार्वजनिक तथ्याङ्क अनुसार घोराही उपमहानगरपालिकामा २ लाख ५३० जनसंख्या रहेको छ भने बंगलाचुलीमा २२ हजार ३ सय ७३ रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित