१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

स्वास्थ्य मन्त्रालयको अनुमतिवना दाङको सञ्जीविनी शिक्षण अस्पताल सञ्चालनमा !


९ आश्विन २०८२, बिहिबार  


स्वास्थ्य मन्त्रालयबाट अनुमति नलिइ दाङको एक निजी शिक्षण अस्पताल सञ्चालनमा आएको छ ।

सरकारी प्रक्रिया पूरा नगरी सञ्चालनमा ल्याउन नपाइने कानुनमा स्पष्ट व्यवस्था भएपनि सञ्जिवीनी नामको निजी शिक्षण अस्पताल सञ्चालनमा आएको हो ।

मनशाय पत्र पेश गरेकै भरमा अस्पतालको भौतिक संरचना निर्माणसंगै उद्घाटन गरेर सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले सरजु अनलाइनलाई बताए । अनलाइनसंग कुरा गर्दै उनले स्वस्थ्य मन्त्रालयमा सञ्चालन अनुमतिका लागि अनुरोध गरेको बताएका हुन्।

अस्पताल सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले अनुमति नलिइ कुनै पनि अस्पताल सञ्चालन गर्न नपाइने बताउँछन् । सम्बन्धित पक्षले मन्त्रालयबाट अनुमति लिएपछि मात्रै सञ्चालनमा ल्याउन पाइने कानुनी व्यवस्था रहेको उनले बताए ।

यश विषयमा पुनः अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकासंग थप जिज्ञासाका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन्। पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा नआएका हुन् ।

स्वास्थ्य सञ्चालन निर्देशिका २०७७ अनुसार हुनुपर्ने कानुनी व्यवस्था भएपनि अस्पताल व्यवस्थापनले कानुनी प्रक्रिया नै पूरा नगरी सञ्चालन ल्याएको पाइएको छ। यही आसोज ६ गते उद्दघाटन गरेर सञ्चालनमा ल्याइएको भनिएको यस शिक्षण अस्पताले सञ्चालन अनुमितको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन गरेको पनि डेढ महिना पुगेको छ । मन्त्रालयकै कारण ढिलासुस्ती भएको व्यवस्थापनको दाबी छ।


४ अर्बको लागतमा निर्माण गरिएको यस पाँच सय शैयाको सुविधा सम्पन्न अस्पतालले अहिलेसम्म भवन निर्माणको प्रमाणपत्र बाहेक अन्य कानुनी प्रक्रिया पनि पूरा नगरेको बताइएको छ।यद्यपि यश विषयमा थप जानकारी लिन खोज्दा व्यवस्थापन पक्ष सम्पर्क आएको छैन।

अस्पताल व्यवस्थापनले आज भन्दा ४ वर्ष पहिले मनशाय पत्र लिएर पूर्वाधार निर्माणमा लागेको हो । घोराही उपमहानगरपालिका ३ बरगदवा भानपुरमा शिक्षण अस्पताल सञ्चालनको लागि मनशाय पत्र लिएर पूर्वाधार निर्माण थालिएको र इआइए प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाइएको हो ।
पूर्वाधारसहितका सबै प्रक्रिया पूरा भएपनि स्वास्थ्य मन्त्रालयको सञ्चालन अनुमति बेगर सञ्चालन गर्न नपाइने भएपनि अस्पतालले जनशक्तिको विज्ञापनसंगै सेवा शुरू गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ६ : २४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित