४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

फुर्सदिला प्रधानमन्त्री ओली !


२५ माघ २०८१, शुक्रबार  


‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ।’ हो, ठ्याक्कै यही हालत छ, यो देशको । देशभित्रका तमाम समस्याकै कारण देशकै अस्तित्व गुम्ने होकी भन्ने अवस्था भइरहेको बेलामा यो देशका कार्यकारी प्रमुखको लीला भने बडो अनौठो छ। आफूलाई दम्भी र अहंकारीको परिचय बनाएका सत्ताको अहंकारले आफै जलिरहेका प्रधानमन्त्री केपी ओली निकै फूर्सदिला देखिन्छन्।

अध्यादेशबाट शासन चलाउन कोशीस गर्दै आएका उनी लामो समयपछि संसदको हिउँदे अधिवेशन शुरु भएपछि त्यता छिरे। संसदलाई आफ्नो कठ्पुतली ठान्ने ओलीले फत्तुर र मिथ्यांक विवरण पेश गरेर फेरि संसद र जनतालाई उल्लु बनाए । बझाङमा खिना बोहरा सुत्केरी हुँदा बाटोमै ज्यान फालिन्, भर्खरै सर्लाहीमा एक प्रेमिल जोडीमाथि राज्यले बर्बर दमन र अत्याचार ग¥यो । उनीहरुले शान्तिसंग बाँच्न देउ भन्दै याचना गरिरहेका छन्। मुम्बइमा रहेका ती जोडीलाई पक्राउ गर्न प्रहरी अफिसर नै खटाइएको छ। भर्खरैओली सरकारबाट बढुवाको फूली लगाएका रुगम कुँवर उनीहरुलाई पक्राउ गर्न हवल्दार इन्द्रमणी पोखरेललाई लिएर मुम्बइ पुग्छन्। मानौ,सत्येन्द्र र नेहाले राज्यद्रोह गरेका छन्। उनीहरुलाई इन्टरपोलको माध्यमबाट भएपनि नेपाल झिकाउनै पर्छ। हो,यही स्थितिमा सरकार देखिएको छ। गृहमन्त्री लेखकको समेत निकै चासो रहेको यस घटनाको पछाडि पैसा र पावरवाला मानिस हुनुपर्छ। निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी खोज्नुपर्ने दायित्व भएको गृहप्रशासनको चासो एक प्रेमिल जोडीलाई अपराधीलाई झै देश दुनियाँ खोजेर हिडिरहेको छ।


उता,धरानमा पानीको दीगो समाधान गर्नुपर्ने मागसहित हर्क साम्पाङ केही समय अघि सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्न गाग्रीसंगै आए । तर, प्रधानमन्त्री ओलीले भेट दिएनन्। उनले हर्क जस्तो श्रमसंस्कृतिको जनप्रतिनिधिसंग हात मिलाउन उचित ठानेनन्, किनकी हर्कका हातमा ठेला उठेका छन्। उनका हात खस्रा छन्। उनको शरीरमा अत्तरको सुगन्ध आउँदैन । पसिना मात्रै गन्हाउन सक्छ। उनीसंग बसेर सम्वाद गर्दा प्रधानमन्त्रीकै हैसियत खस्किन सक्छ। प्रधानमन्त्रीको बानी नै छैन। हिजोको पृष्ठभूमि विर्सिएर अहिले अत्तरको सुगन्धनमा रमाएका प्रधानमन्त्रीलाई हर्क साम्पाङ घिनाएको पनि हुन सक्छ। सत्ता र भत्ता मिलाइदिने शेखर गोल्छाहरुको प्रशंसाले मुस्कुराएका प्रधानमन्त्रीलाई हर्क साम्पाङ मामुली पनि नलागेको हुन सक्छ। क्याप्टेन रामेश्वर थापा, शेखर गोल्छासहितका मानिसहरुको योजनामा बनेको यो सरकारका प्रधानमन्त्रीले हर्क सम्पाङसंग भेट्नु र सम्वाद गर्नु नीति विपरीत हुन्छ, यो प्रधनमन्त्री ओलीको बाध्यता थियो,होला। विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान हटाएर २२ अर्ब मिनाह गराउन सत्तामा उक्लिएका उनका लागि हर्क साम्पाङको पानी माग उचित नलागेको हुन सक्छ।


उता महावीर पुन वीरगन्जको कृषि कारखाना पुनः सन्चालनमा ल्याउन देशभर आफ्नो पुस्तक बेच्दै हिडिरहेका छन्। उनको यो देश प्रेमको लगाव औधि छ। उनले देखाएको बाटोमा हिड्ने हो भने हामीले आविस्कारको क्षेत्रमा धेरै प्रगति गर्न सक्छौ । देशका वैज्ञानिकहरुको वृहत छलफलबाट हामीले नयाँ आविस्कारका काम गर्न सक्छौ । यस्तै आइटीदेखि टुरिजमको प्रवल सम्भावना भएको यो देशमा नयाँ पुस्तालाई आइटीको ज्ञान र सीप दिन सोही अनुसारको शैक्षिक तथा रोजगारमूलक कार्यक्रम बनाउन सकिन्छ। पछिल्लो समय नेपालमा आइटीको उच्च सम्भावना देखिएको छ। जुन कुराको उजागर गएको मंसिरमा उपनिर्वाचनको सम्मुखमा कांग्रेस महामन्त्री गगन थापाले उजागर गरेका थिए। उनको यस विषय निकै भाइरल पनि बन्यो। उनले आधारभूत कुरालाई छुटाएर कीर्तिपुरको डाँडामा बसेर मासिक ४ लाख कमाउन सकिने सपना बाँडेका थिए। तर, आधारभूत विषयलाई विर्सिएर क्षणिकका सपनाकै कारण उनी निकै ट्रोल भए ।विज्ञान र प्रविधिको यो दुनियामा सरकारले प्राध्यापक तथा विज्ञहरुसंग छलफल गरेर त्यही अनुसारको योजना बनाइ राष्ट्रिय बहस, योजना र कार्यक्रम बनाउनुपर्ने हो ।

फुर्सदिला प्रधनमन्त्री टिकटकरसंग बसेर घण्टौ विताउँछन्। आइटीका विज्ञसंग छलफल गर्नुपर्ने प्रधानमन्त्री केपी ओली ताइ न तुइका टिकटकरसंग गफिएर घण्टौ विताइरहेका छन्। सामाजिक सन्जालमा उरेन्ठ्यौला प्रस्तुतिबाट एकाएक भाइरल भएकाहरुसंग छलफल गरेको कुखुरे छाति फुलाउँदै आफ्नो फेसबुकसाइटमा पोस्ट गर्दछन्। अनि यसैमा उनी गौरव गर्दछन्। उता ट्रम्पले सत्ता सम्हालेको दुई हप्तामै तहल्का मच्चाएका छन्। रिमेक अमेरिकाको महान लक्ष्य लिएर उनीहरु देश विदेशको दौडधुपमा छन्। चार वर्षको कार्यकालमा अमेरिकी जनतालाई परिवर्तनको अनुभूति दिन युद्धस्तरमा लागिरहेका बेलामा हाम्रा प्रधानमन्त्री टिकटकरसंग बसेर बन्द गर्दिम् की नगर्दिम् भन्दै समय विताइरहेका छन्। सिंगो सार्वभौम संसदलाई ढाँटिरहेका छन्। जनतालाई कहिले रेलका सपना त कहिले प्रविधिका कुरा गरेर दिन धकेलिरहेका छन्।

देशको कार्यकारी प्रधानमन्त्री फत्तुर मिथ्या तथ्यांकमा रमाइरहँदा मुलुकको आर्थिक अवस्था हरेक दिन गिर्दाे छ। सामाजिक सम्बन्धहरु खलल भइरहेका छन्। समाजमा अराजकताको कुहिरो बाक्लिदै गएको छ। चारैतिरबाट देश गम्भीर संकटको सामना गरिरहेको बेलामा मुलुककै कार्यकारी प्रधानमन्त्री निकै फूर्सदिला देखिएका छन्। प्रधानमन्त्री स्वयं यति धेरै फुर्सदमा छन् भने लौ भन्नु यो देशको हालत कस्तो होला ?

यसरी छुल्या र मिथ्या कुरा गरेर समयलाई बर्बाद पार्ने छुट उनलाई कदापि छैन । तर, बालकोटमा सानेपा बुझाएको कांग्रेसकै कारण देशले अझै समस्याहरु झेल्ने छ। ओली यस अघि पनि असफल र नालायक सिद्ध भएका पात्र हुन्।तर, उनलाई काँध थाप्ने कांग्रेसका लागि निकै महंगो हुनेछ। ओलीका फत्तुर र प्रतिशोधी क्रियाकलापको बोझ बोकेर सत्ताको धुरीखाँबो बनेको कांग्रेस एकदिन अवस्य पछुताउनेछ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ८ : ३२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित