१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

सगरमाथा संवाद र भारत-पाकिस्तानबीच मडारिरहेको युद्धको सन्त्रास !


२४ बैशाख २०८२, बुधबार  


जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र सबैभन्दा बढी प्रभावित छ। नेपाल जस्तो हिमालय क्षेत्रको मुलुकमा यो विकराल निकै चुनौति बनेको छ ।

डेढ अर्बको प्यास मेटाउने हिमालय क्षेत्र निरन्तर पग्लिदै गइरहेको सन्दर्भमा सरकारले सगरमाथा संवादको आयोजना गरेको छ।यो सरकारी कदम ठिक छ। त्यसका लागि यही आउँदो जेठ २ गतेदेखि तीन दिनसम्म सगरमाथा संवाद चल्ने छ।

सगरमाथा संवादका लागि ५० भन्दा बढी देशका करिब ३०० पाहुनालाई निमन्त्रणा गरिसकेको छ । त्यसमध्ये अधिकांशले आउने सुनिश्चित गरिसकेका छन् भने बाँकीको पनि सुनिश्चितता हुने क्रम जारी छ ।

जेठ २ गते सोल्टीमा होटलमा साढे नौ बजे कार्यक्रम उद्घाटन हुनेछ । कार्यक्रमको उद्घाटन कसले गर्ने भन्ने सुनिश्चित भएको नभएपनि सगरमाथा संवाद कार्यक्रमको प्रमुख अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बनाउने तयारी भएको थियोे । तर, भारत पाकिस्तानबीच चुलिदो द्वन्द्वका कारण उनी नआउने भएका हुन्।

केही दिन अघि पहलगाममा आतंकवादी हमलामा परि एक नेपाली सहित २६ जनाको मृत्यु भएपछि पाकिस्तान र भारतबीच द्वन्द चर्किएको हो। पाकिस्तानले आतंकवादीलाई संरक्षण गरेको भन्दै भारतले सैन्य कारबाही गर्ने संकेत गरेको छ।उसले सिन्दूर अप्रेसन भन्दै कारबाही गर्न थालेको हो।भारत पाकिस्तान दुबै आणविक शक्ति राष्ट्र हुन्। भारतको पक्षमा अमेरिका लगायतका विश्वका शक्ति राष्ट्र छन् भने चीन मौन छ। यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री मोदी प्रमुख बन्न आउँदैनन्।


पृथ्वीको तापक्रम बढाउने कार्बन उत्सर्जन गर्ने मुलुकमा भारत तेस्रो स्थानमा पर्दछ। चीन पहिलो र अमेरिका दोश्रो हुन्। चीनले कुल कार्बन उत्सर्जनको एक चौथाइ गर्दछ। अर्थात २७ प्रतिशत उत्सर्जनमा उसको योगदान छ। जसले बढी प्रदुषण बढाएर पृथ्वीको तापक्रम बढाएको छ। उनै शक्ति राष्ट्रहरूको अनुपस्थितले सगरमाथा संवाद कति प्रभावकारी होला भन्ने प्रश्न उठेको छ।

एकातिर दक्षिण एशिया अशान्त बनिरहेको छ, भने अर्कोतिर नेपाल जस्ता हिमाली देशहरू जलवायु परिवर्तनको असरको ठूलो मार खेप्न विवश छन् । हिमाल आरोहणका नाममा हिमालय क्षेत्रमा फोहोर थुप्रिएको छ, भने बढ्दो उष्णिकरणले निरन्तर हिमाल पग्लिरहेको छ। यस्तो चुनौतिका बीच आयोजित सगरमाथा संवाद सिद्धान्त निकै अर्थपूर्ण भए पनि परिस्थितिका कारण फितलो हुन सक्ने देखिन्छ ।


परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद सचिवालयका सदस्य लोकबहादुर पौडेल क्षेत्रीका अनुसार चीन, भारतलगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई निम्ता गरिसकिएको छ।

उनका अनुसार पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सगरमाथा संवादको मुख्य विषय रहने छ । यसका लागि पाँच वटा थिममा १२ वटा सेसन र तीन वटा प्लेनरी सेसन दुई दिनसम्म सञ्चालन हुनेछन् ।

पहिलो दिन ‘पर्वतभन्दा पर पर्वतलाई महासागर जोड्दै’ थिममा रहेर चार वटा सेसन सञ्चालन हुनेछ । हिमनदीहरू संरक्षणको जरुरी, उच्च पहाडी भूभागलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका पहलहरू विषयमा सेसन चल्नेछन् ।

दोस्रो दिन अर्थात् जेठ ३ गते दोस्रो थिम ‘ग्रीन इकोनोमीमा सशक्त भविष्यस् स्वच्छ ऊर्जाको उपयोग र पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सेसन सञ्चालन हुनेछ । हानि नोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपाय थिममा हिमालको जोखिम र मूल्याङ्कन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन विषयमा सेसन सञ्चालन हुनेछ ।

त्यस्तै चौथो थिम मानवताको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माणस् लैङ्गिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी चार वटा सेसन सञ्चालन गरिनेछ ।

क्षेत्रीय तथा विश्वव्यापी साझेदारी भनेर पाँचौँ थिममा विभिन्न क्षेत्रका विज्ञहरूले छलफल गर्नेछन् ।

तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागीहरूलाई सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । यस अवलोकनपछि १० बजे सगरमाथा संवाद २०२५ घोषणापत्र जारी हुनेछ । दिउँसो एक बजे कार्यक्रम समापन हुने भएको को छ ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएको छ ।

सगरमाथा संवाद लेखिएको लोगोसहितको झन्डा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाबाट फहराउने छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डा हस्तान्तरण गरिसकेका छन् । उनी त्यसतर्फ प्रस्थान गरिसकेको बताइएको छ ।

हिमाली पर्यावरणमा देखिएका समस्यालाई विश्व मञ्चमा स्थापित गराई यसबाट हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले सन् २०१९ मा सगरमाथा संवादको स्थापना गरेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ३३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित