पौराणिक कथाले बताएका छन्,की सरजु प्राचीन तथा धार्मिक नदी हो। यस नदी किनारामा ज्ञानको खोजीको लागि ऋषिमुनिहरुले तपस्या गरे।जुन तथ्य हाम्रा श्रुती र स्मृति गन्थहरुमा उल्लेख भएको पाइन्छ। यसैका कारण पनि सरजु सभ्यता, संस्कृति, र संज्ञानको आधार क्षेत्र हो। जसको मुख्य स्थल हो, हाल दाङको शितलपुर क्षेत्र ।

हाल घाट रहेको स्थानदेखि करिब १ सय मिटर दूरीमा पूर्व उत्तरतिर रहेको त्रिनेत्रेश्वर स्थल छ। यस स्थलमा दिउँसो मध्यान्हमा सूर्य उदाउँथ्यो। जसलाई शिवको तेश्रो नेत्रको रुपमा वर्णन गरिएको भागवत अध्येयता कमलमणि पण्डित बताउँछन् । पण्डित कमलमणिको दाबीलाई साथ दिने तर्क थियो, स्थानीय पाका गेदलाल वलीको । उनै वलीले केही वर्ष अघि बताएका थिएकी, यस ठाँउ पूण्यभूमि हो, यही भूमिबाट भगवान शिवका त्रिनेत्र उदाउँथे। धर्तीबाट दिउँसै तिनै शिवको त्रिनेत्र उदाएको आफूले प्रत्यक्ष देखेको बताएका थिए।
सन्ध्याकालीन आरतीको प्रारम्भः
स्थानीय पाका होउन्, या धर्मशास्त्र र वैदिक ज्ञान भएका व्यक्तिहरुको तर्क र तथ्यलाई आधार मान्ने हो, भने यस क्षेत्रमा भगवान शिवको उपासना र आरधनाका लागि सन्ध्याकालीन आरतीको प्रारम्भ गरिनुपर्छ। यस क्षेत्रबाट आध्यात्मिक ज्ञान र चेतनाको प्रसार गर्न राज्यले योजना बनाउन देखिन्छ। त्यसका लागि यसको थप अध्ययन र अनुसन्धान गरी धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। यद्यपि अहिलेसम्म राज्य तहबाट खासै पहल नभएको बताउँछन् स्थानीय अगुवा युवा देवीराम कुसारी । उनी भन्छन्, “यो पूण्य भूमि हो। जहाँबाट हामी धार्मिक चेतनाको प्रसार गर्न सकेमा यस क्षेत्रको विकास हुन सक्छ। त्यसका लागि अहिले कम्तीमा सन्ध्याकालीन आरतीको आरम्भ गर्ने गरी काम अघि बढाइनुपर्छ ।”
यस विषयमा हामीले शितलपुर क्षेत्रको धार्मिक प्रवद्र्धनका विषयमा सोधेका थियौ, कांग्रेस नेता तथा पूर्व सांसद शंकर ्र गिरीलाई। यस विषयमा पूर्व सांसद शंकर गिरी भन्छन्, “मेरै पहलमा संसद विकास कोष र पालिकाबाट श्रोतको जोहो गरिएको थियो । करिब डेढ करोड लगानी भैसकेको छ, जसबाट धार्मिक संरचना बनेका छन्। समग्र सरजु नदी तटिय क्षेत्रमा धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले पवित्र कार्य थालिएको हो । मन्दिरहरु बनेका छन्, अब यस क्षेत्रमा सन्ध्याकालीन आरतीको प्रारम्भ गरेर आध्यात्मिक चेतना र ज्ञानको प्रसार यहीबाट गरिनपर्छ, त्यसका लागि सबैको साझा धारणा बनाएर अघि बढ्नुपर्छ ।”पक्कैपनि यस क्षेत्र धार्मिक क्षेत्र हो, ऋषि मुनिहरुको तपस्वीस्थल, पाण्डवहरुले विहार गरेको पवित्र भूमिसंगै भगवान रामको जन्मभूमि अयोध्या भएर गंगामा मिसिने सरजु नदी पनि हो । धार्मिक तथा पौराणिक हिसाबले यति धेरै महत्व भएपनि यस क्षेत्रको विकासमा खासै चासो भएको पाइन्न।

यद्यपि तत्कालीन लुम्बिनी प्रदेशका सांसद शंकर गिरी सहितका अगुवाहरुको विशेष भूमिका भएको पाइन्छ। यस क्षेत्रमा सन्ध्याकालीन आरती सन्चालनमा ल्याउन सकेमा यस क्षेत्रको प्रचार प्रसार मात्रै होइन, आध्यात्मिक आनन्द र शान्तिका लागि हजारौ धार्मिक पर्यटक आउन सक्छन्, जसले यसको क्षेत्रको आर्थिक र सामाजिक जीवनमा समेत ठूलो परिवर्तन ल्याउन सक्छ। यति ठूलो सम्भावना हुँदा हुदै पनि विकासको सोचसंगै अनुसन्धान र खोज भने हुन सकेको देखिन्छ, यद्यपि सरजु नदीको प्राचीनता र पौराणिक महत्वको विषयमा खोज तथा अनुसन्धान हुनुपर्ने बताउँछन् तुल्सपुुर उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डे। दीगो विकासका जानकार समेत रहेका पाण्डेले यस क्षेत्रको प्रवद्र्धनमा सबैको साथको खाँचो औल्याउँछन् ।
अवस्य पनि यो क्षेत्र पूण्य भूमि हो।

जो हाल दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको छ। यही शितलपुर अन्य वडा ११ र १३को पनि संगमस्थल हो । यही शितलपुरनेर सुरजु नदीमा बखरियाबाट आउने बन्चरे झरन खोला र शितलपुरमाथिबाट आउने नाला खोला मिसिन्छन्। यहीनेरको हो,घाट । जहाँ शवदहन गरिदै आइएको छ।
आर्यघाटको दीगो व्यवस्थापनः
जन्मपछि मृत्य शाश्वत सत्य हो, जन्मपछि न्वारनहुँदै जीवनका अनेकन कर्म गरिन्छ, त्यस्तै मृत्युपछि पछि पनि हाम्रो आफ्नै संस्कार र परम्परा छ। हिन्दू परम्परा अनुसार मृत्युपछि घाटमा जलाउने जुन परम्परा आदिमकालदेखि अविछिन्न छ। यही परम्परा अनुसार शितलपुर स्थित सरजु नदी र खहरे खेलाको दोभानमा स्थानीय युवाहरुले व्यवस्थित रुपमा घाट सञ्चालन गर्ने कोशीस गर्दै आएका छन्। जहाँ दैनिक औसतमा तीनवटा शवको दहन गरिन्छ।

स्थानीय अगुवा युवा देवीराम कुसारी भन्छन्, “यस ठाँउमा काठ बैक तथा घाट सफाइको कोशीस गर्दै आएका छौ। युवाहरुकै पहलमा अव विधिसम्मत तवरले घाटको दीगो व्यवस्थापन हुने गरी पहल थालेका छौ,त्यसका लागि तुल्सीपुर उपमहानगरपालिकाले सघाउने अपेक्षा छ। दीगो घाट व्यवस्थापनका लागि जनशक्तिको जोहो गरेर संचालनमा ल्याउनका लागि पहल भइरहेको छ, हामीलाई विश्वास छ, पालिकाले हाम्रो मागको सुनुवाइ गर्नेछ। “हो, स्थानीय युवाहरुले उठाएको माग नितान्त शव दहन गर्ने सवाल मात्रै छैन र होइन। यस स्थानलाई आर्यघाटको रुपमा विकास गर्ने गरी हेरिनुपर्छ। जन्म र मृत्युबीचको जे जसरी अन्योन्याश्रित सम्बन्ध छ, त्यसै गरी यहाँ आरती र आर्यघाटको पनि उत्तिकै जरुरी देखिन्छ, यसर्थ स्थानीय सरकार तुल्सीपुर उपमहानगरले यस क्षेत्रको धार्मिक पर्यटनको प्रवद्र्धन गर्नका लागि आरतीय र आर्यघाटलाई अघि बढाउने आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न कन्जुस्याँइ गर्नु हुन्न ।
