हुन त मानिसहरुले भन्लान्, तर्क गर्लान्, विचार– विमर्श गर्लान्, तथ्यलाई सिद्ध गर्ने कोशीस पनि गर्लान्। उनीहरुले भन्लान्, “यो आधुनिक नेपाली समाज हो, समाज खुला छ, समाज स्वतन्त्र छ। ” यस्तै यस्तै कोणबाट तर्क वितर्कका कोशीसहरु हुन सक्छन् र हुन्छन् पनि । तर, सत्य कुरा यो होकी आधुनिक भनिएको यो समाज, खुल्ला भनिएको यो समाज के न्यूनतम मर्यादाको ठीक ठाउँमा उभिएको छ त ? अवस्य छदै छैन । तर, फेरी तर्क आउन सक्छ, नयाँ पुस्ता परम्परावादी सोच र दृष्टिकोणको बन्धनबाट मुक्त भएर जिउन चाहान्छ, उ चरा जस्तै स्वतन्त्र भएर समाजमा उडान भर्न खोेजिरहेको छ र हुन्छ पनि । किनकी यो आदिम युग होइन, यो त आधुनिक समाज र विश्व परिवेश हो । पक्कै पनि यो आधुनिक समाज हो, नयाँ परिवेशको पुस्ता हौ,हामी । यस विषयमा पंक्तिकार कदापि विमति हुदैन र हुनुहुदैन पनि ।
तर, यहाँ नेर पंक्तिकार विमति यो अर्थमा छकी, के आधुनिक भनिएको यो समाजमा पनि मर्यादा र मानकहरुको अस्तित्व हुदैन र ? अवस्य हुन्छ। किनभने कुनैपनि समाजलाई व्यवस्थित गर्न मर्यादा र मानकहरुको जरुर खाँचो हुन्छ, हरेक समाजमा। यही शाश्वत सत्य कुराको टेकोमा उभिएर हामी अनि हाम्रो संस्कृति र संगीत क्षेत्रलाई भित्री आँखाले हेरौ त। हाम्रो संगीत क्षेत्रका भित्ताहरु कति मर्यादित छन् कति छैनन् त ?कुनै पनि समाजको आफ्नै सभ्यता र संस्कृति हुन्छन्। ती सभ्यता र संस्कृतिभित्र आफ्नै मानक र लक्ष्मणरेखाहरु हुन्छन्। तिनै मर्यादाको फेरोमा उभिएर जीवन र जगत बुझ्ने र बुझाउने ल्याकत राख्दछ, हरेक मानिसले । हो त्यस्तै फरक र विशिष्टता भएको सभ्यता छ, संस्कृति छ हाम्रो पनि । हाम्रो यही सभ्यता र संस्कृति पृथक र मौलिक छ, भिन्न छ, दुनियाँका भन्दा । तर, आज हामी आफ्नै मौलिकता, पहिचान र अस्तित्व नै गुमाउने अवस्थामा छौ,किन ?
भनिन्छ,संस्कृति मरे सभ्यता सिधिन्छ, सभ्यता सकिए जीवन्त समाजको अस्तित्व नामेट हुन्छ। हो, यही र यस्तै संकटको कुइनोटोमा उभिएका छौ हामी र हाम्रो नेपाली समाज । जहाँ हाम्रै अस्तित्वसंग जोडिएका,हाम्रै सभ्यताका प्रतीक संस्कृति र संगीत भने तहस नहस छ।
पंक्तिकारको यो चर्चा कुनै चलचित्रको काल्पनिक कथा पनि होइन, न त कसैको यात्रा संस्मरण हो । यो त, विद्यमान समाजको विकृतिको यथार्थ चित्रण उतार्ने प्रयत्न हो। विद्यमान समाजको वास्तविकता पर्दापन गरिएको बिम्बात्मक शब्दरुपी ऐना हो । यही ऐनामा छ्याङ्खै देखिन्छ, हाम्रो स्वतन्त्रताको नाममा झाँगिएको नग्नता,उश्रृंखलता, उदण्डता, सांस्कृतिक विचलन र सामाजिक अमर्यादाका लज्जाबोध गर्ने शब्द र दृष्यहरु।यही ऐनामा देखिएको शब्द चित्रको वर्णन समाजको यथार्थता भइसक्यो। स्वतन्त्रताको सीमा रेखा कति हो ? कोही कसैसंग छैन,जवाफ। न त राज्यसंग छ, स्वतन्त्रताको लक्ष्मण रेखा कति हो भन्ने कुरा न त यही समाजसंग छ। यस्तो अवस्थामा हामी छौ। जहाँ भाइरल र भ्यूज नामको महाभूतले सताइरहेको छ, हामीलाई।
"कोही भाइरल होला, पैसा कमाउला ,तर, यो आम महिलाहरुको अस्तित्वको पनि प्रश्न हो। पुरुषले जे जस्तो शब्द र अभिनय दिन्छ, त्यसैमा आफ्नै अस्तित्व बेचेर महिलाले आफ्नै पहिचान र संस्कृतिलाई बर्बाद गर्नु गम्भीर गल्ती मात्रै होइन, पैसाका लागि साधन बन्नु झनै अनुचित र असभ्य पक्कै हो । यस तर्फ महिला आफैले सोच्नुपर्ने होइन र ? कि पैसा र बैसले अन्धो बनाएपछि जे गर्दा पनि हुन्छ र यहाँ ?"
तीज जस्तो मौलिक क्षेत्रमा यौनका कथा घुसाएर समाजलाई ‘छ्या’ भन्ने अवस्थामा पुराएका छौ । हामीलाई पैसा र प्रतिष्ठाले यति धेरै अन्धो बनाइसकेको छकी जहाँ हामी नांगै नाँचिरहेका छौ, तर, आफैलाई थाहा छैन, म नांगै छुकी वस्त्रसहित भन्ने कुरा । त्यसका उदाहरणहरु बल्ग्रेती होलान्। तर,यस वर्षको तीजका नामा निकालिएका केही आपत्तिजनक शब्द र चित्रहरुले सबैले छ्या भन्ने अवस्था बनाएको छ। यतिसम्मकी तीज गीतमा हाम्रा कलाकारहरुलाई खाटले पोल्न भैसक्यो, विहे नहुदै दिन्न म भन्ने भ्याइसके। यस्ता यस्ता अत्यन्तै अश्लिल,यौन कथा र सम्वादहरु थुप्रै भेन्छिन्, हाम्रा तीजका सांगीतिक कोशलीहरुमा । तीज जस्तो विशुद्ध सामाजिक पर्वको गीतमा यस्ता यौनका कथा घुसाएर समाजलाई उत्तेजित, विश्रृंखलित र विस्मृत बनाइरहेका छ, संगीत क्षेत्रले । यौनकै इज्जत लुटाएर भाइरल र भ्यूजको म्याराथनमा छ, नेपाली संगीत क्षेत्र । संगीत क्षेत्र यति धेरै नाँगो भैसकेका छौ,की अब त लाज पनि आफै शर्माएर कुलेलाम ठोक्छ होला सायद । यौन पनि आफै लजाउँछ होला। अपितू,यौनको पनि आफ्नै सामाजिक नियम छ, प्राकृतिक सीमा रेखा छ। यही नियम र सीमा रेखा नै भत्काएर तीजका गीत बजारमा छ्याप छ्याप्ती छन्, सामाजिक सञ्जालका भित्ताहरुमा भाइरल भैरहेका छन्, ट्रोल भइरहेका छन् ।
समाजलाई बर्बाद गर्ने गरी यसरी ट्रोल र भाइरल भैरहेका तीज तथा लोकगीतको विषयमा मनोविद् गोपाल ढकाल भन्छन्, पैसा र प्रचारका लागि गरिएको असभ्य र अश्लिल सामग्रीले बजार पाएको भाईरल संस्कृतिको उपज हो।तीजको गीतमा यौन मिसाएर भाइरल बन्ने जुन डरलाग्दो संक्रमण बनेको छ, त्यसले समाजलाई यतिधेरै उश्रृंखल बनाएको छ। जहाँ चलचित्रमा जस्तो कथाले मागेको भनेर भन्ने ठाउँ पनि छैन । यौन सत्य हो, तर, यौनको विषयमा सही कला नहुँदा यस्तो विकृति झाँगिदै गएको छ। यौनका कथा तीज गीतमा राखिनु गलत हो ।तर, तीज गीत होस् या लोक गीतमा यौनका कथा मिसाएर संस्कृति र संगीत क्षेत्र धुमिल छ ।
हो पक्कै पनि तीज गीत होउन्, या लोकगीतहरुमा घुसाइएका यौनका कथा सामाग्री अनावस्यक, असान्दर्भिक, अश्लिल र अराजक छन्। तर, यौनकै कुरा मिसाएर तीज गीतलाई रत्यौली जस्तै बनाइएको छ। तीज गीतका श्रव्य दृष्य उत्पादन सडकदेखि सञ्जालसम्म छ्यापछ्याप्ती छन्। ती तीजका सामग्री परिवार बसेर हेर्न नसकिने खालका छन्। सूचना प्रविधिको विकासले हरेक मानिसका हात हातमा तात्तातै पुग्ने गरेका छन्।यस्ता उत्पादित सामग्री। जसल.ले समाजलाई गलत दिशातर्फ उन्मुख गराइरहेको छ। तीजका नामका यस्ता रत्यौली गीतले बालबालिकामा गलत शिक्षा दिइरहेको छ। यौन मानव जीवनको अपरिहार्य हो। यौनको आफ्नै पाटो छ र हुनुपर्छ। बिडम्बना तीज तथा लोकगीतमा यौनका कथा मिसाएर समाज बर्बादी गरिएको छ। कला र गलाको हैसियत पनि नभएकाहरु भाइरलका नाममा यस्ता सामाग्री रचना गरीरहेका छन्। सरकारले यस्ता सामग्री उत्पादनमा बेलैमा बन्देज नलगाउने हो,भने भोलिका दिनमा समाज कहाँ पुग्ला एकैछिन ठण्डा दिमागले सोचौ त !