१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सम्पादकीय


५ श्रावण २०८१, शनिबार  


विपदमा उदेकलाग्दो विलम्ब”

सम्पादकीय:हप्ता दिन बढी भो, त्यो विपत्ति आइलागेको। आफन्त र परिवारजनमाथि बज्रपात भएको । सास र आस लगभ मरिसक्यो, तर, शवकै छैन, अत्तोपत्तो। भयानक त्रिशुली पहिरोले क्षणभरमै बेपत्ता बनायो। बचाउ बचाउ पनि भन्न नपाउँदै विलिन भए ६२ जना निर्दोषहरु । निष्ठुरी त्रिशुलीको बेगमै बगे, जिन्दगीका हजार सपनाहरु। गडगडाहट त्यो त्रिशुलीको भेलमा हरायो, त्यो भौतिक शरीर पनि । भौतिक शरीर त अब फर्केर घरमा पुग्नेछैन। त्यही मृत शरीर पनि पाउन सकेका छैन, आफन्त र परिवारजनले । जिउँदो त भेटाउन सकनौ सरकार। मृत शरीर त देउ भन्दै रुवाबासी गरे, आन्दोलन गरे। सबैतिर हारगुहार गरे। सरकारका मान्छे प रेनि गए। शुटबुटसंगै त्रिशुली दर्शन गरी फर्के ।

मृतकका परिवारको ओभाएको छैन, आँसुका बलेन्द्री। थामिएको छैन, पीडा र वियोगको क्रन्दन । क्षणभरमै घर रित्तियो, काखै रित्तियो, शून्य भो गाउँ बस्ती। पीडाको आलो घाउमा मलहम त लगाउलान् सबैले । दाइ, भाइ दिदी बहिनी र आफन्त सखाले दुख व्यक्त गरे र गर्लान् पनि दुइ दिन र महिना । तर, आमाको आँशु अब कहिल्यै रोकिने छैन, ओभाउने छैनन् आमा आँखाका बलेन्द्र धारा । छोराछोरीको पीरले थीर र सन्तोष हुने छैन, मन र हृदय । आफूले जन्माएको सन्तान त फर्किने छैन,अब कहिल्यै । तर, उसका यादहरुले पलपलमा झस्काउनेछन्, रुवाउने छन्, सपनीमा होस् या विपनीमा उस्तै गरी रुवाउनेछन् । हुन त यति ठूलो बज्रपात यस पटक मात्रै भएको होइन ।यस अघिका वर्षहरुमा पनि यसैगरी निर्दाेषहरुको जीवन लीला चुँडेर लान्थ्यो त्रिशुलीले । त्रिशुलीमथिको सडक मृत्यु मार्ग हो भन्ने थाहा छ राज्यसत्तालाई । तैपनि शासकहरु थाहा नभएको जस्तै गर्दछन्, राजनीतिक स्वार्थका लागि ।


संसद र सत्तामा विकास र सम्वृद्धिको भजन गाउँछन् बेस्सरी । तर, पहिरोमा पुरिएका हुन् या नदीले बगाएका पीडितलाई उद्दार गर्ने कुनै संयन्त्र देखिन्न। हरेक हिउँदमा राहत तथा उद्दारका गफ दिने सरकारले विपत्तिमा एउटा गतिलो उद्दारको प्रविधिको जोहो गरेको देखिएन। विज्ञान र प्रविधिको यस दुनियाँलाई लज्जा हुने गरी बाँसका घाराघोचाले खोजी गरियो त्रिशुलीमा गएको हप्ताभरी। देशभर १७ वटा विश्वविद्यालय छन्, ती विश्वविद्यालयले उद्दारको एउटा उपकरणको अनुसन्धान गरेको देखिएन। हुन त विश्वविद्यालय जाली, छलि र चतुर नेता जन्माउने कारखाना बनाइएको छ, ज्ञान विज्ञानका कुरा भन्दा ढुंगा मुढा हान्ने शिक्षाबाट प्रविधिको अपैक्षा गर्नुपनि बेशरमको विषय हुन सक्छ।

तैपनि शिक्षा र अनुसन्धानका नाममा वर्षेनी खर्चिएकाले कही कतै यस्ता विषयमा सोध खोज र अनुसन्धान भएकी भन्ने आम अपेक्षा हुँदो रहिछ। तर, सत्ताको कुर्सीमा बसेपछि जनता र देशको आवस्यकता के के हुन् ? के के होइनन् भन्ने अक्कल र बुद्धि आएको हुन्थ्यो भने, नदीमा हराएकाहरुको खोजी गर्न पनि छिमेकी भारतलाई गुहार्नुपर्ने थिएन। विडम्बना,नियती नै परनिर्भरता छ। नुनदेखि सुनसम्म अर्कैको आशा भरोसामा चल्ने र चलाउने यो देशमा त्रिशुलीमा हराएकाहरुको शव खोज्न भारतबाट उपकरण ल्याउनु नौलो कुरा त भएन । देशका युवालाई विदेशमा लखेटेर उतैको विप्रेषण देशमा सम्वृद्धि खोज्ने शासकहरुके कुबुद्धिकै कारण त्रिशुलीको दुर्घटना भएको हो। यदि गतिलो सडक र संयन्त्र हुन्थ्यो, भने दुर्घटना नै हुने थिएन। दुर्घटना भएपनि हप्ता दिनसम्म पनि त्रिशुली पहिरोमा पुरिएकाहरु यतिबेलासम्म हराइरहेका हुने थिएनन्। जिउँदो भएपनि, मरेको भएपनि आफन्त र परिवारजनले सास या लास पाइसक्थे ।


सरसर्ती हेर्दा यो प्राकृतिक विपत्ति जस्तो देखिएपनि यथार्थमा यो त राज्यले जनताको हत्या गरेको हो । यदी राज्यले देश र जनताको लागि गम्भीर भएर सोचेको हुन्थ्यो र त्यही अनुसारका भौतिक पूर्वाधारमा सुधार भएको हुन्थ्यो भने यति ठूलो क्षति हुने थिन । उसले इमान्दारितापूर्वक सम्भावित जोखिमहरुको आंकलन गरेको हुन्थ्यो भने यसरी त्यत्ति धेरै मानिसहरु अकारण त्रिशुलीमा बिलिन हुदैन थिए होला। बडो उदेकलाग्दो यो देशको राज्य सत्ता र निर्लज्ज शासकहरुको नाटक मन्चनले मुलुक आजित छ। हवाइ दुर्घटना भएको भए उतिबैलै आयोग बनाएर अनुसन्धान अघि बढीसकेको हुन्थ्यो।

सडक दुर्घटना भएकोले सरकारी आयोग बनाउन पनि सरकारलाई आइतबारै चाहियो। तैपनि चौतर्फी दबाबपछि सरकारी आयोग बनेको हो । सरकारले आयोग त बनायो,तर आयोग आयोगमै थन्किनमा धेरै आशंका छ। किन की शासकहरुलाई जनताप्रति जवाफदेही बन्नु छैन, जिम्मेवार सरकार भएर दायित्व पूरा गर्नुपनि छैन । रेल र पानी जहाजको गफ चुटेर नथाक्ने नेतृत्वले गतिलो सडक बनाएर यस्ता भयानक दुर्घटना रोक्न र दुघर्टना भैहालेमा तत्कालै उद्दार गर्ने संयन्त्रको विकास गरेको हुन्थ्यो। तर, अझै पनि नदीमा बाँसको घारा घोचाले बेपत्ताहरु खोजी भइरहेको दृष्तान्तले निम्छरो राज्य सत्तालाई लाज शरम पटक्कै भएको देखिएन । यस्तो बिडम्वनापूर्ण जनताले कहिलेसम्म भोग्न र देख्न पर्ने हो,यसै भन्न मुश्किल छ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १ : ४३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित