तत्कालीन माओवादीबाट धेरै पटक अर्थमन्त्रालयकाे बागडोर सम्हालेका हालकाे नेकपाकाे नेता वर्षमन पुनसँग अर्थविद् डाक्टर सुदन वली फागुन २१ गते राेल्पामा महाभिडन्त गर्दैछन्।
चीनमा बसेर विद्यावारिधि हासिल गरेका डाक्टर वली कांग्रेसकाे तर्फबाट भिडन्त गर्न लागेका हुन्। विकास याेजनाकाे विषयमा राम्रो ज्ञान र याेग्यता भएका उनी लुम्बिनी प्रदेशकाे याेजना आयाेग सदस्य समेत हुन्। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद् वलीलाई अघि सारेको हाे।
विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट विद्यावारिधि गरेका डाक्टर वलीसँग संघ र प्रदेश सरकारसँग मिलेर काम गरेको धेरै अनुभव छ ।
३४ वर्षीय उम्मेवार वलीले युवा तथा खेलकुद मन्त्रालयमा नीति विज्ञको रुपमा काम गरिसकेका छन् । सिंचाई मन्त्रालयमा सल्लाहकारका रुपमा काम गरेको अनुभव पनि उनीसंग छ ।
लुम्बिनीको प्रदेश योजना आयोगको सदस्यका रुपमा उनले दुई वर्ष बढी काम गरे । उनी कांग्रेसको नीति प्रशिक्षण तथा अनुसन्धान विभाग सदस्य समेत हुन् ।
संघीय सरकारको राष्ट्रिय खेलकुद र पर्यटन नीतिको मस्यौदा गरेको अनुभवले पनि विधायिकी भूमिकामा जान इच्छा जागेको वलीले चुनावी प्रचारमा बताउँदै आएका छन् । उनी भन्छन्, ‘भावनामा बग्ने भन्दा पनि जसको भूमिका जे हो त्यही भूमिका निर्वाह गर्न जानुपर्दछ । नीति निर्माणका लागि मस्यौदा बनाउने कार्यमा मैले काम गरिरहेको हुँदा संघीय संसदमा जान खोजेको हुँ ।’
नेकपा नेता पुनसँग एमालेबाट पूर्वपोलिटब्यूरो सदस्य गोकुल प्रसाद घर्ती चुनावी प्रतिस्पर्धी छन् । ५२ वर्षीय घर्ती विद्यार्थी संगठन हुँदै माउ पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् । २०४६ सालमा अनेरास्ववियुको सदस्य बनेका उनी २०६३ सालमा यश संगठनको महासचिव बनेका थिए ।
नेकपाले यसपटक पनि शीर्ष तहका नेतालाई नै प्रतिस्पर्धामा उतारेको छ । २०७९काे निर्वाचनमा पुनले फराकिलो मतान्तरले अर्को उम्मेदवारलाई पछि पारेका थिए । रोल्पामा दोस्रो शक्तिका रुपमा रहेको कांग्रेससँग चुनावी गठबन्धन गरेर उम्मेदवार बनेका पुनले २०७९ सालको निर्वाचनमा ४१ हजार ७१४ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ पनि अघिल्लोपटक माओवादी केन्द्रले अन्य दललाई उछिनेको थियो । माओवादी केन्द्रले समानुपातिकमा २८ हजार १५९ मत सहित पहिलो हुँदा कांग्रेसको पक्षमा १५ हजार ७० र एमालेले ११ हजार ८५७ मत पाएको थियो ।
गएकाे स्थानीय निर्वाचनको आधारमा पनि तत्कालीन माओवादी केन्द्र पहिलो दल बनेको थियो । १० स्थानीय तह रहेको रोल्पामा त्यसबेला माओवादी केन्द्रले ७ पालिका जितेको थियो । कांग्रेसले दुई र एमालेका उम्मेदवारले एक पालिकामा जितेको थियो । स्थानीय तह चुनावमा माओवादीले जितेका पालिकाहरुमा रोल्पा, माडी, परिवर्तन, लुङग्री, सुनछहरी, सुनिल स्मृति र थवाङ छन् । रुन्टीगढी र गंगादेवमा कांग्रेसले जितेको छ भने एमालेका उम्मेदवारले त्रिवेणीमा जितेका थिए । तर, लामो समय मा ओ वादी अर्थात् हालकाे नेकपाकाे मत घटेको स्थानीय बताउँछन् ।विगतमा मा ओ वादीले धम्काएर चुनाव जितेपनि अहिले अवस्था धेरै बदलिएको बताउँछन् । उम्मेदवार डाक्टर वली भन्छन् ,’ विगतको राेल्पा हाेईन, जेनजी विद्रोहपछि राेल्पा पनि बदलिएको छ। जनताले यश पटक मलाई विश्वास गर्छन्।’








