११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

क्रिकेटको महाउत्सव एनपीएल दोश्रो संस्करण शुरू,विश्वकप जितेका खेलाडी पनि मैदानमा !


२ मंसिर २०८२, सोमबार  


नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आज अर्थात सोमबारबाट सुरु हुँदैछ । यो खेल २७ दिन अर्थात् मंसिर २७ गतेसम्म हुनेछ ।

यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुने भएका छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले गएको आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ ९क्यान०लाई हस्तान्तरण गरेका छन् । सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा लाइट जडान गरेको हो ।

एनपिएलमा संघीय संरचनाअनुसार सातै प्रदेशको प्रतिनिधित्व छ । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, सुदूरपश्चिमबाट गत वर्ष उपविजेता बनेको सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबाट कर्णाली याक्स सहभागी हुँदै छन् ।

स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयोजना गर्ने टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेकादेखि चर्चित क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडी एनपिएलका लागि त्रिवि रंगशालामा उत्रिँदै छन् । ठूला घरानाले लगानी गरेको एनपीएलमा हरेक फ्रेन्चाइज टोलीले १० देखि १५ करोडसम्म खर्च गर्दै छन् ।

पहिलो संस्करणमा एक सय करोड भ्यालु बनाएको क्यान दोस्रो संस्करण अझै ब्रान्ड बढाउने योजनामा छ । यो प्रतियोगितामा नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म कमाउनेछन् । सहभागी सबै टोलीले आफ्ना १६ खेलाडीसहित अफिसियललाई पाँचतारे होटेलको सुविधा दिएर राखेका छन् । प्रतियोगिताले नेपालमा पर्यटन प्रर्वधन हुने र अर्थतन्त्रमा योगदान हुने अपेक्षा गरिएको छ ।

क्यान सचिव पारस खड्काले एनपिएल राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको बताउँछन्, ‘क्रिकेटको माध्यमबाट हामीले राम्रो म्यासेज दिएका छौँ । मेरो विचारमा राज्यले माथिल्लो लेभलमा सोचेर हेर्नुपर्छ । राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको छ,’ उनले भने, ‘अब एनपीएल घरेलु क्रिकेट मात्र नभएर अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । यो प्रतियोगितालाई साथ सहयोग चाहिन्छ । एनपीएलमा स्थानीय खेलाडीले पनि आर्थिक रूपमा फाइदा लिनेछन् ।’

त्यसैगरी यश पटक पुरस्कार राशिमा वृृद्धि नहुने भएको छ। पहिलो संस्करण भव्य रूपमा आयोजना गरेको क्यानले पुरस्कार राशि भने निकै कम राखेको थियो । दोस्रो संस्करणमा पनि पुरस्कारमा सुधार गरेको छैन ।

विजेता टिमले पहिलो संस्करणकै बराबर एक करोड १० लाख पाउनेछ । त्यस्तै, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पाउनेछन् । यसप्रति क्रिकेट समर्थक र टिम मालिकहरूले नै असन्तुष्टि जनाएका छन् ।

यस्तै यसपटकको एनपीएलमन विदेशी खेलाडीको बेजोड प्रदर्शन हुने भएको छ।एनपीएलमा यसपटक ४२ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । सहभागी टिमले न्यूनतम ४ देखि अधिकतम ६ विदेशी खेलाडी राख्न पाउँछन् ।

सबै टिमले ६ खेलाडी अनुबन्ध गरे भने यो संख्या ४८ पुग्नेछ । हालसम्म काठमाडौं, विराटनगर र कर्णालीले ६–६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् । पोखरा, जनकपुर, चितवन र लुम्बिनीले ५–५ जना अनुबन्ध गर्दा सुदूरपश्चिमले चार विदेशी खेलाडी राखेको छ ।

विश्वकप जितिसकेकादेखि चर्चित लिग खेलाडी यसपालि त्रिवि क्रिकेट रंगशालामा उत्रिँदै छन् । अझ आइसीसीको नियमअनुसार सहभागी टिमले टेस्ट खेलिरहेका खेलाडी अनुबन्ध गर्न पाएका छैनन् । पहिलो नेपाल टी–२० फिक्सिङ र बेटिङको निसानामा परेपछि नेपाली क्रिकेट नै बदनाम हुन पुगेको थियो ।

त्यसपछि आइसिसीले अहिले टेस्ट खेलिरहेका चार खेलाडी मात्रै अनुबन्ध गर्न पाउने नियम बनाएको थियो । जसअनुसार गोलाप्रथाबाट चार टिमले यो अवसर पाए । कर्णाली याक्सले अफगानिस्तानका पूर्वकप्तान जाजिव जाद्रन, लुम्बिनीले अफगानिस्तानकै गुल्वादिन नाइव, सुदूरपश्चिमले स्कट कुगुलेइन र पोखराले न्युजिल्यान्डका जिमी निसमलाई अनुबन्ध गरेका हुन् ।

हालसम्म इंग्ल्यान्ड, अस्ट्रेलिया, अमेरिका, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, भारत, अफगानिस्तान, पाकिस्तान, वेस्ट इन्डिज, युगान्डा, इटाली, नामिबिया, श्रीलंका, नेदरल्यान्ड, स्कटल्यान्ड गरी १५ देशका ४२ खेलाडी अनुबन्ध भइसकेका छन् । अब, पाँच टिममा ६ खेलाडी अनुबन्ध हुन बाँकी रहेका छन् । ‘हामीसँग धेरै देशका चर्चित खेलाडी अनुबन्ध हुनुभएको छ । नेपाली समर्थकले चर्चित अनुहार अगाडि नै देख्न पाएका छन् । उनीहरूको आगमनले पर्यटन प्रवद्र्धनमा टेवा पनि मिलेको छ,’ क्यान सचिव खड्काले भने । हालसम्म सबैभन्दा धेरै खेलाडी इंग्ल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबाट एनपिएलमा जोडिएका छन् ।

पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन ल्याउँदा निकै चर्चा भएको थियो । यसपटक विराटनगरले दक्षिण अफ्रिकी पूर्वकप्तान फाफ डु प्लेसिसलाई आबद्ध गरेको छ ।

उनी नै प्रतियोगिताको ठुलो नाम हुन् । दक्षिण अफ्रिकाकै मर्चेन्ट डी लिग्ने पनि विराटनगरमा छन् । दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिर र वायन पार्नेललाई जनकपुरले अनुबन्ध गरेको छ । अस्ट्रेलियाको बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका क्रिस लिन, डार्सी सर्ट, जोस ब्राउन, साम हिजलेट र विलियम बासिस्टोजस्ता खेलाडी प्रतियोगितामा देखिनेछन् । इंग्ल्यान्डबाट विश्वकप जितिसकेको डाविड मलान, जासन रोयदेखि रवि बोपारासमेत एनपिएल खेल्दै छन् ।

सबै खेलाडीलाई पाँचतारे होटेलको सुविधा
प्रतियोगितामा सहभागी सबै टिमले आफ्ना खेलाडीलाई पाँचतारे होटेलको सुविधा दिएका छन् । क्यानले विश्वचर्चित क्रिकेटर र नेपाली खेलाडीलाई धेरैभन्दा धेरै सुविधा दिने योजना बनाएपछि सहभागी टिमका मालिक खेलाडीलाई पाँचतारे सुविधा दिन तयार भएका हुन् । एक टिममा १६ देखि १८ सम्म खेलाडी छन् ।

खेलाडीबाहेक टिमका अफिसियल पनि होटेलमै बसेका छन् । समग्रमा एक टिमले ३० जनासम्म होटेलमा राखेको छ ।

हाल कर्णाली याक्सले दरबारमार्गको याक एन्ड यती, काठमाडौंले ग्वार्कोको तुलिप, जनकपुरले लाजिम्पाटको दूषित प्रिन्सेस, सुदूरपश्चिमले नक्सालको मेरिओट, लुम्बिनीले सानेपाको भिभान्ता, विराटनगरले हायात, पोखराले सोल्टी र चितवनले कुपन्डोलको हिमालयन होटेलमा राखेको छ ।

यस्तै यसपटक १३ हजार दर्शकले प्रत्यक्ष हेर्न सक्ने गरी तयार छ प्यारापिट। दोस्रो संस्करणका हरेक खेल १३ हजार दर्शकले प्रत्यक्ष हेर्न सक्नेछन् । सरकारले ४३ करोड ७७ लाख ३० हजारमा १० हजार सिटको प्यारापिट बनाएको छ ।

पूर्वी खण्डमा २२९० र पश्चिम खण्डमा ७७१० कुर्सी जडान गरिएका छन् । यसबाहेक क्यानले थप तीन हजार अट्ने अस्थायी प्यारापिट निर्माण गरेको छ । अस्थायी प्यारापिटमा क्यान जिल्ला प्रदेशका पदाधिकारी, खेलाडी परिवार, मालिक, स्पोन्सरलगायत बस्नेछन् ।पहिलो संस्करणमा दर्शक चिसो चउरमा बसेर खेल हेर्न बाध्य थिए ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ७ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित