राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रिय उडानका चार जहाजको ऋण गलापासो हुँदै गएको छ ।
निगमले हरेक तीन महिनामा जहाजको किस्ता तिरेको जानकारी दिइरहेको छ । तर, हाल अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको चारवटा जहाज किन्दा लिएको ३४ अर्ब रुपैयाँको ऋणको किस्ता तिरेको तिर्यै गर्दा पनि साढे ५२ अर्ब रुपैयाँ पुगेको छ ।
निगमले एयरवसको २ वटा न्यारोबडी जहाज किन्न २०७० जेठ २९ मा कर्मचारी संचय कोषसँग १० अर्ब रुपैयाँको ऋण सम्झौता गरेको थियो ।
यस सम्झौताअनुसार निगमले न्यारोबडी जहाजको नियमित रुपमा किस्ता तिर्न नसक्दा यसको ऋण एक दशकदेखि तिरिरहेको देखिए पनि अझै १० अर्ब २१ करोड रुपैयाँ बाँकी छ ।
२०८२ असार मसान्तसम्मको तथ्यांकअनुसार निगमले न्यारोबडी जहाजको लागि १० अर्ब ९३ करोड रुपैयाँ भुक्तानी गरेको छ । १० अर्बको ऋण अझै सावाभन्दा पनि बढी तिर्न बाँकी छ ।
वायुसेवा निगमले किनेका एयरवसका २ वटा वाइडबडी मध्ये कर्मचारी सञ्चयकोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको छ । यस ऋण लिने गरी सञ्चय कोषसँग २०७४ साल जेठ २८ मा र त्यसको २ दिनपछि ३० जेठ मा नागरिक लगानी कोषसँग ऋण सम्झौता भएको थियो । त्यतिबेला निगमले दुबै संस्थासँग लिने ऋणको वार्षिक व्याजदर ९ प्रतिशत थियो ।
निगमले त्यतिबेला वाइडबडी किन्न लिएको २४ अर्ब ऋण अहिले ४२ अर्ब पुगेको छ । न्यारोबडीको १० अर्ब समेत जोड्दा ५२ अर्ब ५१ करोड ५० लाख रुपैयाँ पुगेको हो ।
निगमको कुल ऋण भने ५५ अर्ब रुपैयाँ नाघेको छ । यसले चिनियाँ जहाज किन्दा लिएको ३ अर्ब १४ करोड रुपैयाँको कुनै पनि किस्ता तिरेको छैन । निगको सबै ऋण गणना गर्दा पौने ५६ करोड रुपैयाँ हुने देखिएको छ ।
निगमले लिएको ऋणमध्ये वाइडबडीको लागि ९ अर्ब ९३ करोड रुपैयाँ मात्रै चुक्ता गरेको छ भने अझै ४२ अर्ब ३० करोड तिर्नै बाँकी छ । वाइडबडीको ऋणमध्ये निगमले कर्मचारी संचय कोषलाई ४ अर्ब ९१ करोड र नागरिक लगानी कोषलाई ५ अर्ब १ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले हालसम्म दुबै प्रकारको (४ वटै) एयरवसको जहाजको लागि २० अर्ब ८६ करोड ५० लाख रुपैया तिरेको छ ।
यसमध्ये दुईटै वाइडबडीको ४ अर्ब ९१ करोड र ५ अर्ब १ करोड गरेर ९ अर्ब ९३ करोड तथा न्यारोबडीको १० अर्ब ९३ करोड तिर्दा २०८२ को असार मसान्तसम्ममा २० अर्ब ८६ करोड रुपैयाँ तिरेको हो ।
दुबै संस्थाबाट एउटा एउटा जहाजको ऋण लिएकोले दुबै संस्थालाई बराबरी रकम वाइडबडीको किस्तावापत तिर्दै आएको निगमले २०८१ असार मसान्तमा भने कर्मचारी संचयकोषलाई किस्ता तिर्न सकेन भने नागरिक लगानी कोषलाई १० करोड रुपैयाँ भुक्तानी गरेको निगमले बताएको छ।
निगमले लिएको यस्तो ऋणको वार्षिक ब्याज खर्च मात्रै साढे ३ अर्ब रुपैयाँ भन्दा बढी छ । तर, निगमले पछिल्लो समय वाइडबडीको लागि जम्मा २० करोड र न्यारोबडीको लागि ५३ करोड रुपैयाँ मात्रै तिर्दै आएको छ ।
यस्तो रकम वर्षमा हरेक तीन महिने किस्ता अनुसार ४ पटक तिर्नुपर्छ । जम्मा २ अर्ब १२ करोड रुपैयाँ मात्रै तिर्न सकेको छ । जसका कारण यसले तिर्नुपर्ने किस्ता पूर्ण रुपमा तिर्न नसकेको र आंशिक मात्रै तिरेको कारण ब्याज बढ्दै जाँदा सावाभन्दा पनि बढी हुन पुगेको हो ।
वायुसेवा निगमको ऋण २०८० असार मसान्तमा अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्दा निगमलाई ४६ अर्ब ४१ करोड २७ लाख रुपैयाँ ऋण लागेको हो । उक्त ऋण २०८१ असारमा ५१ अर्ब थियो भने २०८२ असार मसान्त आइपुग्दा घट्दै जानुपर्ने ऋणको किस्ता नै थोरै तिरेका कारण साढे ५२ अर्ब रुपैयाँ नाघेको निगमले स्वीकार गरेको छ ।
वायुसेवा निगमका प्रवक्ता सुवास डाँगीका अुनसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि असार मसान्तको किस्ता वापत ५३ करोड नौ लाख तिरेको छ।
निगमको व्यवस्थापन युवराज अधिकारीले सम्हालेको पछिलो ४ वर्षमा ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी भएको दाबी निगमको छ ।
विश्वव्यापी महामारी कोरोनाका कारण निगमको व्यापारमा प्रतिकुल असर परेकोले यस अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एंव किस्ताको संख्या बृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत आग्रह गर्दै आएको छ ।








