भूगोलको हिसाबले नेपाल एक हिमाली देश हो । हिमालय क्षेत्रको करिब एक खण्ड नेपालमै पर्दछ। करिब १४ सय किलोमिटर पूर्वदेखि पश्चिम फैलिएको हिमाली क्षेत्र नेपालमा पर्दछ। पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर यस क्षेत्र पहुँचको हिसाबले विकट छ । यस्तो अवस्थामा यस क्षेत्रको पर्यटन विकासको एउटा भरपर्दा आधार हवाई सेवा हो ।

यद्यपि पछिल्लो समयमा सडक विस्तार पनि उत्तिकै भएको छ। तर, छिटो र सहज यात्राको लागि हवाई सेवाको विकल्प छैन । पछिल्लो समय नेपालमा पर्यटकीय गतिविधि बढ्दो छ । पर्यटन क्षेत्रमा हवाई क्षेत्रको ठूलो योगदान छ। गएको वर्षमा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरे। ती सबै पर्यटक मध्ये करिब ९० प्रतिशत हवाई क्षेत्रबाट नेपाल भ्रमण गरेका हुन्।

यातायात सडकको पूर्ण विकास भैनसकेको अवस्थामा पर्यटन क्षेत्रको धुरी खाँबो बनेको छ, हवाई क्षेत्र। यसको ऐतिहासिक पृष्ठभूमि करिब एक दशक भएपनि नीतिगत उल्झन र भौगलिक जोखिमतासंगै पौठेजोरी खेलेरै भएपनि यस क्षेत्रले सेवा दिइरहेको छ, मानवीय सेवादेखि राज्यको अर्थतन्त्र उकास्नमा यसको देन अतुलनीय छ।

नेपालको पर्यटन क्षेत्रको ठूलो हिस्सेदार हवाई क्षेत्रमा सरकारी र निजी विमान कम्पनीहरुले सेवा दिइरहेका छन्। प्रतिकूल भूगोल राज्यका अस्पष्ट नीति र अनेकन उल्झनलाई चिर्दै उनीहरुले सेवा दिइरहेका छन्।

विमान कम्पनीहरुको व्यवसायीक सुरक्षा, लगानीको वातावरण र नीतिगत कुराहरुमा राज्य त्यत्ति जिम्मेवार भएको देखिन्न। खुला बजार अर्थनीति अंगालेको साढे तीन दशक भैसक्दा पनि निजी क्षेत्रलाई राज्यले अझै सौतेनीको व्यवहार गर्दै आएको छ ।

सरकारी कम्पनीहरुमा राजनीीतक हस्तक्षेपले थिलथिलो बनाइएको छ, भने निजी क्षेत्रमा अस्वभाविक नियम र कानुनका नाममा कस्ने र डस्ने धेरै गरेको पाइन्छ। यस्तो असहजताकै बाबजुद पनि विमान कम्पनीहरुले सेवा दिइरहेका छन्।
नेपालमा हवाई क्षेत्रको इतिहास यस्तो छ
नेपालको हवाई क्षेत्रको इतिहास करिब एक शताब्दी जति छ। आज भन्दा करिब ७८ वर्ष अघि नेपालमा हवाई सेवाको शुभारम्भ भएको पाइन्छ। त्यस यता क्षेत्रको संरचनागत तथा संस्थागत विकास भएको छ। नेपालजस्तो हिमाली भूगोल भएको देशमा यातायात विकासको सन्दर्भमा हवाई सेवा अत्यन्त महत्त्वपूर्ण विकल्प भएकैले पनि यस क्षेत्रको महत्व उत्तिकै बढेको हो । शाही नेपाल वायु सेवाको स्थापना विक्रम सम्वत २०१५ साल असार ४ गते पनि भएपनि त्यस अघि नेपालमा विमानहरुले उडान गरेको इतिहास छ।
विक्रम सम्वत २००३ साल बैशाख ८ गते अर्थात २३ अप्रिल १९४७ मा तत्कालीन भारतीय राजदूत सरजित सिंह महाथिया चार सिट क्षमताबीच बोनान्जा विमानमा चढेर भारतको पटनाबाट काठमाडौंको गौचर विमानस्थलमा अवतरण गरेका थिए । यस दिनलाई नेपालमा हवाई जहाजको पांग्रा गुड्ने र पखेटा उड्ने पहिलो ऐतिहासिक क्षणको रूपमा लिइने गरिन्छ । करिब ७७ वर्षको अवधिमा नेपालको हवाई यातायात क्षेत्रमा व्यापक संस्थागत र संरचनागत विकास भएका छन् । प्रारम्भिक चरणमा प्रयोगात्मक रूपमा सुरु भएको हवाई सेवा आज देशको पर्यटन, व्यापार, स्वास्थ्य र आपत्कालीन उद्धार सेवाको मेरुदण्ड बनिसकेको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा १२ आन्तरिक विमान सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा छन्, जसमध्ये प्रमुखहरूमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, तारा एयर आदि पर्छन् । अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्ससँगै अन्य २८ कम्पनीहरूले हवाई सेवा दिँदै आएका छन् ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल गरी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलले सेवा दिइरहेका छन् । साथै, देशभर ५० भन्दा बढी आन्तरिक विमानस्थलहरू रहेका छन्, जसमध्ये करिब २० नियमित सेवा सञ्चालन हुने अवस्थामा छन् ।

नेपालको भौगोलिक अवस्था र पर्यटकीय महत्त्वका कारण हवाई सेवा केवल यात्रु ओसारपसारको माध्यम मात्र नभई अर्थतन्त्रको एक महत्त्वपूर्ण खम्बा बनेको छ। खास गरी पर्यटन, व्यापार, आपत्कालीन उद्धार, स्वास्थ्य सेवा, र ग्रामीण क्षेत्रको पहुँच विस्तारमा यसको हवाई क्षेत्रको प्रभाव रहेको देखिन्छ। विदेशी पर्यटकको ठूलो हिस्सा हवाई मार्ग नै हो । यसैको माध्यमबाट पर्यटकहरुले नेपाल भ्रमण गर्ने गर्दछन्।

नेपालको पर्यटन क्षेत्रको लामो इतिहासमा सबै भन्दा बढी सन् २०१९ मा १२ लाख विदेशी पर्यटक नेपाल आए। ती मध्ये ९० प्रतिशतभन्दा हवाई मार्गबाट नेपाल आएका थिए ।पर्यटन बोर्डको पछिल्लो तथ्ंयांक अनुसार करिब साढे ११ लाख पर्यटकले नेपाल भ्रमण गरे । ती मध्ये करिब ९० प्रतिशत हवाई मार्गबाट आएका थिए। यसैबाट पनि प्रष्ट हुन्छ की नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले पुराएको योगदन धेरै रहेको छ ।
गएका केही वर्ष यता पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चलनमा आएका छन्। तर, हवाई रुट लगायतका समस्याका कारण यी विमानस्थले व्यवसायीक सफलता हासिल गर्न सकेका छैनन्। अहिलेसम्म करिब ९० प्रतिशत यात्रुलाई हवाई सेवा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गर्दै आएको छ। गएको चैत १८ गतेदेखि १८ घण्टा उडान सेवा हुँदै आएको छ। यद्यपि गएको कार्तिकदेखि चैतसम्म १० घण्टा मात्रै उडान हुने गर्दथ्यो । काठमाडौको चाप घटाउन भन्दै भैरहवा र पोखरामा विमानस्थल निर्माण गरिएको हो । यीनीसंगै मुलुकमा ५६ बढी विमानस्थल छन्। ती मध्ये करिब २९ वटा सञ्चालनमा रहेको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा छ ।

हवाई क्षेत्रले पर्यटन प्रवद्र्धनमा मात्रै होइन, मानवीय सहायता र उद्दारमा पनि योगदान पुराएको छ। दुर्गम जिल्लामा सुत्केरीकोउद्दारदेखि हिमाल आरोहणमा आइपर्ने बेला पनि यसको भूमिका उत्तिकै छ। यीनै विमान उडाउने पाइलटहरु करिब डेढ सयको संख्याँमा रहेका छन्। यीनै पाइलट र विमान कम्पनीहरुले यात्रा र लगानीको जोखिमलाई मोलेर मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्दै आएका छन्।यस क्षेत्रले अन्तर्राष्ट्रिय उडान, कार्गो सेवा र विदेशी एयरलाइन्समार्फत नेपालले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।यस क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजारौं मानिसहरूलाई रोजगारी दिएको छ ।

नेपालको हवाई यातायात क्षेत्रमा विशाल सम्भावनाहरू विद्यमान छन्, जसको उपयोग गर्न सकिएमा देशको समग्र आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय पहिचानमा गुणात्मक सुधार ल्याउन सकिन्छ ।सबैभन्दा पहिले नेपाललाई क्षेत्रीय हबको रूपमा विकास गर्ने सम्भावना अत्यन्त आकर्षक छ । नेपालको भौगोलिक अवस्थिति दक्षिण एशिया, चीन र मध्य एसियाबीचको मिलनबिन्दुमा परेको छ, जसले गर्दा यसलाई पूर्व–पश्चिम र उत्तर–दक्षिण ट्रान्जिट मार्गको केन्द्र बनाउने अपार सम्भावना छ । यदि पूर्वाधार र हवाई नीति स्पष्ट र प्रतिस्पर्धी बनाइयो भने पर्यटकीय क्षेत्रमा ठूलो सम्भावना उत्तिकै छ।