पर्यटन अभियान्ता रामसुन्दर बकेले पर्यटनको विकासका लागि स्थानीय संस्कृति र खाना बजारीकरण गर्नुपर्ने बताएका छन् । बिहीबार रोटरी क्लब अफ डिल्लिबजारको एक कार्यक्रममा उनले रोजगारीको खोजीमा विदेशिएका नेपाली युवाहरूले स्वदेश फर्किएर ग्रामीण पर्यटनमा जोड्न सकिने बताएका हुन्।
लामो समयदेखि ग्रामीण पर्यटनको विषयमा खोज तथा अनुसन्धान गर्दै आ एका पर्यटन व्यवसायी बकेल आन्तरिक तथा बाह्य पर्यटनको विकासमार्फत कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा जानकारी राखेका थिए।उनले गाउँघरमै उपलब्ध प्राकृतिक सम्पदा, संस्कृति, परम्परा तथा स्थानीय स्रोतहरूको सही उपयोग गर्न सके विदेश जानुपर्ने बाध्यता घटाउन सकिने बताए ।

त्यसैगरी, नेपालको मौलिक संस्कृति, परम्परा, कला तथा स्थानीय खानालाई आधुनिक पर्यटन बजारमा कसरी आकर्षक ढंगले प्रस्तुत गरी बजारीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि उनको आफ्नै अनुभव थियोे । विदेशी पर्यटकहरू विशेष गरी स्थानीय स्वाद, जीवनशैली र संस्कृतिप्रति आकर्षित हुने भएकाले यस विषयमा सबै पक्षको ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
पर्यटन व्यवसायी बकले कोशी प्रदेशको सुनसान र उपेक्षित क्षेत्र रहेको बोरा बाँध क्षेत्रलाई आज चहलपहलयुक्त र आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सफल भएको अनुभव पनि साझा गरेका थिए।। यश क्षेत्रको उदाहरण प्रस्तुत गर्दै उनले नेपालका विभिन्न दुर्गम तथा ओझेलमा परेका क्षेत्रहरूमा योजनाबद्ध ढंगले काम गर्न सके पर्यटन क्षेत्रले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै देशको आर्थिक उन्नतिमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए ।

कार्यक्रमको अन्त्यमा रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम वलीले अतिथि वक्ता राम सुन्दर बकेलाई धन्यवाद व्यक्त गर्दै क्लबको तर्फबाट सोभिनियर प्रदान समेत गरेका थिए।








