केन्द्रीय बैकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको सेयर कर्जा विस्तार व्यापक भइरहको छ। मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयर धितो कर्जा राष्ट्र बैकका अनुसार ३५ प्रतिशत वृद्धि भएको छ। ।एक वर्षको अवधिमै यस्तो शीर्षकको कर्जा ३४.९८ प्रतिशत वृद्धि भएको हो । चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले कुल २९ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
गएको आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुले ८४ अर्ब २९करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, चालू आर्थिक वर्षको यही अवधिमा आइपुग्दा भने यो रकम बढेर १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्न लगानीकर्ता निकै आक्रामक देखिएका छन्। विशेषगरि ठूला लगानीकर्ताहरु निकै नै आक्रमक देखिएका हुन्।
राष्ट्र बैंकका अनुसार १ करोड बढी सीमाको सेयर कर्जा लिने ठूला लगानीकर्ता ह्वात्तै बढेका छन् । समीक्षा अवधिमा यस्तो सीमाको कर्जा ४७.०५ प्रतिशत वृद्धि भएको छ । यस्तो सीमामा बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षमै २४ अर्ब १३ करोड ७९ हजार रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । लगानीकर्ताहरुले बैंकबाट सेयर धितो कर्जामा ऋण लिएर बजारमा लगानी थपेको छन् ।
केन्द्रीय बैंकले लिएको लचिलो नीतिका कारण ठूला आकारको कर्जा प्रवाह बढेको बताइन्छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत केही नीतिलाई खुकुलो बनाएको छ । त्यसकै प्रभावले सेयर धितो कर्जामा बढोत्तरी देखिएको विज्ञहरु बताउँछन्।
मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ भने सेयर धितोको जोखिम भार घटाएको छ । यसले लगानीकर्तालाई कर्जा लिन र लगानी बढाउन थप टेवा पुगेको छ ।अर्को तर्फ बैंकहरुको कर्जाको ब्याजदर पनि निरन्तर घटीरहेको छ । हाल बैंकहरुको कर्जाको ब्याजदर ८ प्रतिशत हाराहारीमै झरी सकेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले बैंकबाट ऋण लिएर धमाधम सेयर बजारमा लगानी थपेको पाइन्छ । यस्तै, सेयर बजार पनि बढ्न थालेको छ, जसले ठूलो रकम लिएर लगानी गर्न लगानीकर्तालाई प्रोत्साहित गरिरहेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा ५० लाखलेखि १ करोड सीमाको सेयर कर्जा प्रवाह पनि १२ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्षको मसान्तसम्ममा यस्तो सीमाको कर्जा प्रवाह १२ अर्ब ७८ करोड २९ लाख रुपैयाँ रहेको थियो । तर, चालू आर्थिक वर्षको यही अवधिमा आइपुग्दा भने १ अर्ब ४९ करोड रुपैयाँ बढेर १४ अर्ब २८क रोड १९ लाख रुपैयाँ कायम भएको हो ।
यता, २५ लाखदेखि ५० लाख रुपैयाँ सीमाको सेयर कर्जा पनि उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा नै यस्तो कर्जा २४ प्रतिशत वृद्धि भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो सीमामा १६ अर्ब १४ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यो गएको आर्थिक वर्षको तुलनामा ३ अर्ब १० करोड बढी हो ।
यता, २५ लाख सीमाको सेयर कर्जा प्रवाह पनि दोहोरो अंकले वृद्धि भएको छ । गएको वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले यस्तो सीमाको सेयर कर्जा ७ अर्ब १६ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका थिए । तर, चालू आर्थिक वर्षकोको यही अवधिमा आइपुग्दा भने १०.३१ प्रतिशत वृद्धि भई ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।