९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

विपद् संकटग्रस्त पालिकालाई ५० लाखदेखि १ करोडसम्मको अनुदान !


१ कार्तिक २०८१, बिहिबार  


सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ पालिकालाई तत्काल ५० लाखदेखि १ करोड रुपैयाँसम्म अनुदान दिने भएको छ।

विपद् प्रभावित परिवारलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि संघीय सरकारका तर्फबाट अनुदान दिन लागिएको हो ।

बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले विपद् संकटग्रस्त घोषित गरिएका ७१ पालिकालाई यस्तो अनुदान उपलब्ध गराउन सिफारिस गरेको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले विपद् संकटग्रस्त घोषित ७१ पालिका मध्ये सबैभन्दा बढी प्रभावित ९ वटालाई १–१ करोड, बढी प्रभावित १२ वटालाई ७५ लाखका दरले र बाँकी विपद् प्रभावित ५० पालिका ५० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउन सिफारिस गरेको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताए ।

प्रवक्ता भट्टराईका अनुसार उक्त प्रस्ताव अब विपद् व्यवस्थापन राष्ट्रिय परिषद् बैठकमा लगिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको राष्ट्रिय परिषद्को बैठक शुक्रबार बस्दैछ ।

उनका अनुसार अत्यावश्यक सेवातर्फ देखिएका सामान्य अवरोधहरुलाई हटाउन, राहत तथा उद्दारका लागि आवश्यक खाद्यान्न वा त्रिपाल लगायतका सामानहरु खरिद गर्न उक्त रकम पालिकाले प्रयोग गर्न सक्नेछन् ।

बैठकले विपद् उद्धारका लागि थप हेलिकप्टरसहित आवश्यक उपकरणहरू खरिद गर्न आवश्यक बजेटको प्रबन्ध गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई निस्शुल्क स्वास्थ्य बीमाको प्रबन्ध गर्ने, निशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌मार्फत सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा स्वाथ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासमेत सहभागी थिए । असोज ११ र १२ गते आएको भारी वर्षा र बाढीपहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभर ठूलो जनधनको क्षति भएको थियो । सरकारले गत सातामात्रै विपद् प्रभावित ती ७१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ८ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित