२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

पर्यटन बोर्डको अन्तर्राष्ट्रिय स्तरमा पहिलो शाखा कार्यालय दिल्लीमा,युरोप अमेरिकासम्मको योजना


२१ श्रावण २०८२, मंगलबार  


नेपालको पर्यटन प्रवर्द्धन गर्न पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा शाखा कार्यालय खोलिने भएको छ ।

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यमा पर्यटन प्रवर्द्धन गर्न कार्यालय खोल्ने भएको हाे ।

बोर्डले पर्यटन प्रवर्द्धनका लागि कार्यालय स्थापना गरेरै नेपाल प्रवर्द्धनको कार्यक्रम नियमित रुपमा गर्ने भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले नेपाल प्रवर्द्धन गर्न पहिलोपटक दिल्लीमा कार्यालय खोल्न लागिएको र त्यसको स्थलगत अध्ययनसमेत भइसकेको जानकारी दिए । नेपालको महावाणिज्य दूतावाससँग समन्वय भइरहेको छ । बोर्डले यही वर्ष भारतमा कार्यालय स्थापनको लागि बजेटमा व्यवस्था गरेको छ ।

जोशीकाअनुसार करिब १५ वर्ष अगाडि नै पर्यटन बोर्डको कार्यालय दिल्लीमा खोल्ने तयारी भएको स्मरण गर्दै भने, ‘त्यतिबेलाका बोर्डले प्रयास समेत गरेको भए पनि सफल हुन सकेको थिएन,’ उनले भने, ‘बोर्डले यो पटक भने दिल्लीमा कार्यालय खोल्ने तय भइसकेको छ । त्यसपछि अर्को वर्ष चीनमा, त्यपछि मध्यपूर्व, एसिया, यूरोप हुँदै अमेरिकासम्म कार्यालय स्थापनाको लक्ष्य अगाडि सारेको छ ।’

पर्यटन बोर्डले यही वर्ष लुम्बिनी र सुदूरपश्चिममा पनि कार्यालय खोल्ने छ । काठमााडौं बाहिर हाल पोखरामा मात्रै कार्यालय रहेको बोर्डले पहिलो पटक प्रादेशिक कार्यालय स्थापन गर्न लागेको छ ।

बोर्डले आन्तरिक पर्यटकीय गन्तव्यको बजारीकरण र प्रवद्र्धनका लागि खोल्न लागेको यस्ता प्रादेशिक कार्यालय आगामी वर्षहरुमा विस्तार गर्दै सातै प्रदेशमा पुर्याउने भएको छ ।

नेपाल पर्यटन बोर्डले निजी क्षेत्रकै सहकार्यमा प्रवद्र्धन गर्न छ । यसका लागि निजी क्षेत्रकै ट्राभल, ट्रेकिङ, होटल, एयरलाइन्ससँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको छ । बोर्डले निजी क्षेत्रसँगै सहकार्य गरेर अगाडि बढ्ने संस्था भएकोले यसले प्रवद्र्धनमा उहाँहरुसँगै सहकार्य हुँने गरेको बोर्डका सीईओ जोशीले बताए ।

बोर्डको सेवा विस्तारका चालु आर्थिक वर्षको लागि विनियोजन गरेको १ अर्ब ६० करोड रुपैयाँको बजेटमा ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने भएको छ । यसमध्ये भारतमा कार्यालय खोल्‍ने कार्यक्रमलाई पनि बजेटको प्राथमिकतामा राखेको छ ।

भारत नेपालको प्रमुख पर्यटक स्रोत बजार हो, जहाँबाट सन् २०२४ मा मात्र ४ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतीय बजारलाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न, दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

यसका साथै प्रादेशिक कार्यालयहरु स्थापना गर्नेसमेत यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रबर्द्धनका लागि ४३ करोड ६१ लाख विनियोजन गरेको छ । त्यसैगरी जनसम्पर्क तथा प्रचार(प्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि २ करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि १८ करोड ६३ लाख ५० हजार विनियोजन गरेको छ ।

त्यसैगरी नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्‍चालनका लागि ११ करोड ६६ लाख विनियोजन गरिएको छ । त्यसैगरी विशेष प्रबर्द्धनात्मक कार्यक्रमहरु बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि ४ करोड ६२ लाख विनियोजन गरिएको छ ।

बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अष्ट्रेलिया, बाङ्गलादेश, श्रीलंका, मलेशिया, थाइल्याण्ड, र युरोपका विभिन्न देशहरूमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । ‘नेपालस् लाइफ टाइम एक्सपिरियन्स’ भन्ने नारालाई आधार मानेर विश्वका प्रमुख पर्यटन मेलाहरूमा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय संचारमाध्यमहरूसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रमहरू प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  ६ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित