२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अब अन्तिम चरणमा


१२ पुस २०८१, शुक्रबार  


चीन सरकारको अढाइ अर्ब अनुदान सहयोगमा अन्वेषण थालिएको दैलेखको पेट्रोलियम पदार्थ उत्खननको काम अन्तिम चरणमा पुगेको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार हालसम्म तीन हजार नौ सय तीस मिटर बढी ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर भन्दा कम खन्न मात्रै बाँकी छ ।

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गएको वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनले बताए ।

चीन सरकारको दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन्।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : १९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित