१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

हाम्रो प्राथमिकता भुँइमान्छेकै जीवन स्तर उकास्न: वडाध्यक्ष लामा


५ आश्विन २०८१, शनिबार  



राजनीतिलाई सधै जनताको सेवा ठान्ने व्यक्ति हुन् पेमा वाङग्याल लामा । उनी मृदृभाषी , सरल, सहज र जनपृय जनप्रतिनिधिको रुपमा चिनिन्छन्। उनी सिद्धलेक गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हुन्। सधै भुँइमान्छेको पक्षमा पैरवी गर्ने उनै लामाको लामो संघर्षको कथा र कहानी छन्। संघर्ष र उतारचढावसंगै राजनीतिमा उदाएका नवीन पात्र हुन् वडाध्यक्ष लामा ।

उनको जन्म विक्रम सम्वत २०४२साल जेष्ठ महिना २ गते भएको थियो । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर २ मा उनी आज भन्दा ३९ वर्ष पहिले बाबु आईमान तामाङ र आमा काली तामाङको कोखबाट जन्मिएका थिए । हाल स्थायी ठेगाना सिद्धलेक गाउँपालिका वडा नम्बर १, धादिङ भएका उनको श्रीमती सोनी लामा र छोराछोरी अनि बुहारी छिन्। बाजे क्रा लामा तामाङका नाती पेमाले मिन्दु माध्यमिक विद्यालय सिद्धलेक १ ,धादिङबाट प्रवेशिका(एसएलसी)उत्तीर्ण गरेका थिए ।

राजनीतिक जीवन :
विक्रम सम्वत २०५७ सालमा मिन्दुका माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्धता हुँदै वाइसियल नेपालको गाउँ कमिटी सदस्य भएका थिए। त्यसको केही समयपछि उनी वाइसीयल नेपालको उपाध्यक्ष भए । नेकपा माओवादीको साविकको नलाङ गाउँ कमिटीको पार्टी उपाध्यक्ष र त्यसपछि पार्टीको गाउँ कमिटी अध्यक्ष बने उनी । २०६२÷६३ को जनआन्दोलनमा काठमाडौको एबी प्यालेसमा बसी आन्दोलनको कार्यक्रममा सहभागी मात्रै भएनन् त्यस क्षेत्रमा उनले नेतृत्व गरेका थिए। सधै जनतासंग रहँदै आएका उनी २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा भने उनी पराजित भएका थिए।

निर्वाचनमा पराजय भएपछि उनी घरको आर्थिक व्यवस्थापनको जोहो गर्न मलेशिया हानिए। मलेशियाको सेलेङ्गर राज्यको कापरस्थित चाइनिज फर्निचर सनहरली फर्निचरमा २ वर्ष काम गरे । तर, पहिलो पटक विजयी हुन नसकेपनि फेरी उनी २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा भाग लिए।धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर १को वडाध्यक्ष पदका लागि माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उनी विजयी भए ।

उनलाई कांग्रेस र एकीकृत समाजवादीले निर्वाचनमा सघाएका थिए । त्यस निर्वाचनमा उनले १२ सय ८१ प्राप्त गरे, उनका निकटम् प्रतिद्धन्द्धी इश्वर सिलवाल भन्दा ५०८ मतान्तरले उनी विजयी भएका थिए । गाउँपालिका अध्यक्ष परशुराम खतिवडा १२५० र उपाध्यक्ष सविता अर्यालले १२१४५ मत पाएर विजयी भएका थिए ।

सामाजिक संलग्नताः उनी २०६५÷०६६ तिर साविकको नालाङ गाउँविकास समिति वडा नम्बर १ मा रहेको सामूदायिक वन उपभोक्ता समूहको अध्यक्ष भए।यसै वडामा रहेको करिब १२७ हेक्टर क्षेत्रफलमा फैलिएको नलाङ ठूलो सामुदायिक वनको विकास र विस्तारमा उनी क्रियाशिल रहे। उनकै नेतृत्वमा यस सामूदायिक वनको खुला क्षेत्रमा वृक्षारोपण जस्ता कार्यक्रम सञ्चालन गरिएको थियो । वनलाई डढेलोबाट जोगाउनका लागि अग्निरेखा निर्माण जस्ता वन संरक्षणका कार्यक्रम सञ्चालन भएको थियो। अग्नि रेखा निर्माणको विषय आँखीझ्याल जस्तो लोकपृय वातावरणमैत्री टेलिभिजन कार्यक्रममा प्रशारण भएको थियो ।


गाउँको विकृति विसंगतिको अन्त्य गर्न भन्दै गाउँमा उनले म्हेन्दोमाया युवा समाज गठन गरेका थिए । उनकै नेतृत्वमा गाँउमा कृषि समूह गठन गरिएको थियो । कृषि सहकारी संस्था गठन गरी गाउँमा उत्पादन र रोजगारीको अभिवृद्धिमा उनी सक्रिय भए । दुइ वर्ष वैदेशिक रोजगारीमा पुगेका लामा नेपाल र मलेशिया आउ जाउ गर्न थाले। विशेष गरी उनले मलेशियाको केलाङमा पुष्पाञ्जली रेष्टुरेन्ट र पर्वत रेष्टुरेन्ट सञ्चालन गरेका थिए। उनले त्यहाँ नेपाली युवाहरुका हितका लागि विभिन्न संघ संस्थामा आवद्ध भएर काम गरे। यसरी समाज सेवाको दौडानमा रहेका उनी २०७९ को स्थानीय निर्वाचनमा भाग लिए अनि विजयी पनि भए।

वडाको अवस्थिति : सिद्धलेक गाउँपालिका वडा नम्बर १ को पूर्वमा थोपल खोला र ५ नम्बर वडा,पश्चिममा डाँडागाउँ वडा नम्बर २,उत्तरमा धौखोला, ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ रहेको छ, भने दक्षिणमा बुङ्चङ पर्दछ। समुद्री सतहदेखि करिब १५ सय मिटरको उचाइमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ अवस्थित छ।वडा भवन तथा सडक पहुँच :सिद्धलेक गाउँपालिका वडा नम्बर १को वडा कार्यालयको आफ्नै भवन छैन । हालसम्म अस्थायी भवनमा कार्यालय सञ्चालन गरी जनताको सेवा प्रवाह गरिएको छ।जनसंख्या र जातिगत अवस्था ः राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या ३६६१ रहेको छ। जबकी जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३६८३ र घरधुरी संख्या ९०१ थियो । घरधुरी सर्वेक्षण २०७४ अनसुार १०९० घरधुरी रहेका छन्।


कृषि तथा रोजगारः
यस वडाको अधिकांश जनसंख्या कृषिमा आश्रित छ। यहाँको करिब ५० प्रतिशत खेतीयोग्य जमिन छ। जहाँ धान,मकै, कोदो गहुँ र तरकारी तथा फलफूल उत्पादन हुने गर्दछ। कृषि पेशा मुख्य पेशा भएकोले यहाँको मुख्य आयश्रोत पनि कृषि नै हो । यस वडाबाट युवाहरु वैदेशिक रोजगारीमा पुगेका छन्। रोजगारी तथा उच्च शिक्षाको लागि बाहिरिने युवाहरुको संख्या धेरै छ। कुल जनसंख्याको १० प्रतिशत जनसंख्या निजामती, सेना प्रहरी, शिक्षक र निजी क्षेत्रमा आवद्ध रहेका छन्। त्यस मध्ये ५ प्रतिशत व्यापार पर्यटन क्षेत्रमा संलग्न भएका छन्, ती मध्यबाट केही वैदेशिक रोजगारी र अन्य जनसंख्या उमेर समूह अनुसार अध्ययन र घरायसी रेखदेखमा संलग्न रहेका छन्।


प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु : यस वडा जलाधार भएको क्षेत्र हो। यहाँ थोपल खोला, च्याडु खोला जस्ता जलाशय क्षेत्रहरु रहेका छन्। ताल तलैया, पोखरी र कुवा भने यस वडामा छैनन्। यस वडामा बालदेवीस्थान मन्दिर,नलाङकोट मन्दिर,कालिकाथान मन्दिर,कृष्ण मन्दिर,छेजुङ गुम्बा,छोयलिङ गुम्बा रहेका छन्। यसैगरी यहाँ विजय मण्डली र पवित्र मण्डली लगायतका चर्चहरु पनि रहेका छन्।

सांस्कृतिक चाड पर्व :यस वडाभित्र मनाइने चाड पर्व र जात्राहरु पनि रहेका छन्। हिन्दू, बौद्ध र क्रिशियनहरुको बसोबास रहेको छ। यहाँ दशै तिहार, बुद्ध जयन्ती,माघे संक्रान्ति, सोनाम ल्होसार,तमु लोहोसारर क्रिशमस आदि चाडपर्वहरु मनाउने गरिन्छ।


शैक्षिक अवस्था : यस वडा नम्बर १ मा ७ सार्वजनिक विद्यालयहरु रहेका छन्। यहाँ २ वटा माध्यमिक विद्यालय र ५ वटा आधारभूत विद्यालय रहेका छन्। पर्याप्त शिक्षक दरबन्दी छैन ।


सामाजिक संघ संस्था :सामाजिक जागरण र रुपान्तरणका लागि यहाँ विभिन्न सामाजिक संघसंस्था रहेका छन्। संगठित र असंगठित यस्ता संस्थाहरुले सामाजिक हितका लागि काम गर्दै आएका छन्। जस्तै युवा क्लब, आमा समूह र सामुदायि वन उपभोक्ता समूह क्रियाशिल रहेका छन्। यद्यपि यस्ता संघ संस्थाहरु सक्रिय भएपनि वडाका लागि आवस्यक सामूदायिक भवनहरु भने छैनन्।



दुई वर्षको कार्य उपलब्धिहरु :
-भौतिक विकास
-वडाभित्र संघ र प्रदेशको अनुदानमा ५ किलोमिटर सडक कालोपत्रे।
-२५ किलोमिटर ग्रामीण सडकको स्तरोन्नती ।
– सामूदायिक भवन निर्माण कार्य सम्पन्न ।
-मठ मन्दिर, गुम्बा ,चर्च र सिढी निर्माण ।
-खानेपानी ट्यांकी तथा डीप बोरिङ मर्मत गरी पुनः सञ्चालनमा ।
-एक्ले फाँट च्याडुखोलामा करिब २७ मिटरको पक्की पुल निर्माण ।
-थोपलखोला कालीदहमा पक्की पुल निर्माणको क्रम जारी ।
-सिद्धलेक १ मा रहेको हाइड्रोपावर बाँधदेखि एक्लै चौतारासम्म सोलार सिस्टमबाट ५५ घरधुरीलाई पानी वितरण ।
-वैरेनीदेखि अर्चलेसम्म थोपखोलको पानी लिफ्ट गरी ३ सय घरधुरीलाई पानी वितरण ।
-डुम्रे खेला÷थोपल खोला दमै थुम्कासम्मका १५० घरधुरीलाई पानी वितरण गर्न विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरिदै ।
मानवीय विकासः
-भूमिहिन सुकुम्बासीका लागि जग्गा नाप जाँचको विवरण तयार ।
-सामाजलाई सुव्यवस्थित बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन ।
– खाली रहेको वन क्षेत्रमा वृक्षारोपण, गोडमेल र हिउँदमा वन जोगाउन अग्नि घेरा निर्माण ।
-वडाभित्र युवाहरुलाई रोजगारमूलक सीप प्रदान, स्थानीय युवालाई कुक, पलम्बर र कृषि सम्बन्धि तालिम सञ्चालन ।

भावि योजना :


सम्भावना तथा चुनौतीहरु:



प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित