पछिल्लो समय नेपालको अर्थतन्त्र क्रमश लयमा फर्किदै छ। विश्वभर फैलिएको कोरोना महामारी, युद्ध र आर्थिक मन्दीको बाछिटाले थलिएको अर्थतन्त्र गएको एक वर्ष यता सुधारको बाटो समाउन थालेको हो ।
राष्ट्र बैंकले हालसालै प्रकाशन गरेको एक प्रतिवेदन अनुसार अर्थतन्त्रका धेरै सूकहरु सकारात्मक देखिएका हुन्। राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को एकीकृत आर्थिक गतिविधि अध्ययन (अर्ध–वार्षिक प्रतिवेदन) अनुसार अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको हो ।
प्रतिवेदन अनुसार आर्थिकवृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो दर अघिल्लो वर्षको ३.७ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो ।
विगत केही वर्षदेखि खुम्चिँदै गएको आर्थिक गतिविधि फेरि लयमा फर्कन थालेको देखिन्छ । मुख्यतः कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रको सुधारले यो वृद्धिमा टेवा दिएको हो । अघिल्लो वर्ष संकुचनमा रहेका क्षेत्रहरू समेत यस वर्ष सकारात्मक क्षेत्रमा प्रवेश गरेको देखिन्छ ।
मुद्रास्फीति नियन्त्रणमा
प्रतिवेदन अनुसार आर्थिक वर्षको पहिलो छ महिनामा मुद्रास्फीति सापेक्षतः न्यून देखिएको छ । भारतमा मूल्य वृद्धि नियन्त्रणमा रहनु, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउनुजस्ता कारणले पनि मूल्य चाप घटेको हो । यद्यपि, भू–राजनीतिक अस्थिरता, ठूला मुलुकहरूको व्यापार नीति र आपूर्ति श्रृंखलामा अवरोध आउन सक्ने सम्भावनाले केही जोखिम भने रहने प्रतिवेदनमा भनिएको छ। ।
कृषि र पशुपालन क्षेत्रमा सामान्य वृद्धि
सिञ्चित जमिनको क्षेत्रफल बढ्नु, रासायनिक मल, उन्नत बीउ र प्रविधिको पहुँच सजिलो हुनु तथा मौसम अनुकूल हुनुका कारण कृषि उत्पादनमा सामान्य वृद्धि भएको देखिएको छ । पशुपालनतर्फ दूध र मासुको माग वृद्धि, युवा पुस्ताको आकर्षण तथा पशु सेवा पहुँचले पशुपालन क्षेत्रमा पनि सुधार देखिएको छ ।
औद्योगिक उत्पादनमा वृद्धि
औद्योगिक क्षेत्र अघिल्लो वर्षको संकुचनबाट उम्किएको देखिन्छ । विद्युत् उत्पादनमा भएको वृद्धिले उद्योगहरूको क्षमता उपयोग बढाएको छ । निजी क्षेत्रमा लगानी विस्तार, कर्जा प्रवाहमा सहजता, घरजग्गा कारोवारमा सुधार, निर्माण सामग्री सस्तो हुनु र पूर्वाधारको विस्तारले औद्योगिक उत्पादनमा पुनः उभार ल्याएको हो ।
पर्यटन र वित्तीय गतिविधिमा वृद्धि
विदेशी पर्यटक आगमन, आन्तरिक पर्यटन, बैंकिङ कर्जाको सहज पहुँच, घट्दो ब्याजदर र बढ्दो उपभोग प्रवृत्तिले सेवा क्षेत्र थप विस्तार भएको देखिएको छ । यातायात, संचार, उपभोग्य वस्तु, रियल स्टेट जस्ता उपक्षेत्रहरू समेत विस्तारको बाटोमा छन् ।
पूर्वाधार निर्माणमा वृद्धि
हालसम्म पुँजीगत खर्च र राजस्वमा सन्तुलन नदेखिए पनि सुरुङमार्ग, जलाशययुक्त जलविद्युत् आयोजना, सडक स्तरोन्नति, ट्रान्समिसन लाइन विस्तार लगायतका कार्यले पूर्वाधार क्षेत्रले गति लिएको छ । पुनर्निर्माण र सरकारको पहलले यो क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।
शोधनान्तर बचत र वैदेशिक मुद्राको सञ्चिति सन्तोषजनक
निर्यात तथा विप्रेषण आप्रवाहको बढोत्तरीले शोधनान्तर वचतमा उल्लेख्य वृद्धि भएको छ । हाल विदेशी मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । सरकार र निजी क्षेत्र मिलेर नीतिगत स्थायित्व, लगानी प्रवद्र्धन र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन आवश्यक देखिन्छ ।








